इन्द्रावतीका १२ सय किसान दुग्ध अनुदानबाट लाभान्वित

जनतापत्र,इन्द्रावती सिन्धुपाल्चोक ।
इन्द्रावती गाउँपालिकामा सञ्चालन भइरहेको दुग्ध अनुदान कार्यक्रममा करिब १२ सय किसान प्रत्यक्ष लाभान्वित भएका छन्। गाउँपालिकाले दुध उत्पादनमा प्रोत्साहन स्वरूप किसानलाई प्रति लिटर चार रुपैयाँका दरले अनुदान प्रदान गर्दै आएको छ। पालिका अध्यक्ष झम्क नाथ नेपालका अनुसार, गाउँपालिकालाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो। “दुध उत्पादनलाई व्यवसायिक र दिगो बनाउन पालिकाले किसानसँग सहकार्य गर्दै आएको छ,” अध्यक्ष नेपालले बताए। उनका अनुसार दुधमा आत्मनिर्भरता हासिल गर्नका लागि स्थानीय किसानलाई नियमित तालिम, पशुपालनका लागि प्राविधिक सहयोग र बजार व्यवस्थापनमा पनि सहयोग पुर्‍याइँदै आएको छ। दुग्ध अनुदान कार्यक्रम अन्तर्गत गाउँपालिकाले स्थानीय सहकारी र संघ–संस्थासँग सहकार्य गरेर ७ वटा चिलिङ भ्याट दुध संकलन तथा प्रशोधन केन्द्र स्थापना गरेको छ। यसले गाउँका विभिन्न बस्तीका किसानलाई उत्पादन गरिएको दुध सहजै बिक्री गर्न सहयोग पुगेको छ। पशु सेवा प्राविधिक विज्ञान दाहालका अनुसार, किसानले उत्पादनको मात्राका आधारमा अनुदान प्राप्त गर्दै आएका छन्। गाउँपालिकाको प्रारम्भिक तथ्यांक अनुसार, हाल इन्द्रावतीमा दुध उत्पादनमा उल्लेख्य वृद्धि भएको छ। यसले स्थानीय बजारमा मात्र होइन, वरपरका नगरपालिकाहरूमा समेत दुध आपूर्ति गर्न सक्ने क्षमता विकास भइरहेको छ। कृषकहरूका अनुसार पालिकाले ल्याएको यो योजना प्रभावकारी र प्रोत्साहनजनक बनेको छ। किसानले समयमै अनुदान पाउने र बजारमा दुधको उचित मूल्य सुनिश्चित भएपछि पशुपालन व्यवसायप्रति उत्साह बढेको बताएका छन्। दुध उत्पादनमा देखिएको यो सक्रियता र लगनशीलताले इन्द्रावती गाउँपालिकालाई निकट भविष्यमा दुग्ध आत्मनिर्भर क्षेत्रमा परिणत गर्ने अपेक्षा गरिएको छ।

३० आश्विन २०८२, बिहीबार १५:४३