इन्द्रावतीका विद्यालयमा गुनासो सुनुवाइ संयन्त्रु लागू हुने हिंसा र दुर्व्यवहार रोक्न गाउँपालिकाको ऐक्यबद्धता

जनतापत्र,,इन्द्रावती सिन्धुपाल्चोक । विद्यालय हाताभित्र हुनसक्ने लैङ्गिक हिंसा, दुर्व्यवहार र सजाय रोकी गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ इन्द्रावती गाउँपालिकाका विद्यालयहरूमा अब गुनासो सुनुवाइ संयन्त्रु निर्माण तथा लागू गरिने भएको छ। ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेष्ट पैरवी समूह सिन्धुपाल्चोकको आयोजना तथा गाउँपालिकाको समन्वयमा श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधि र सरोकारवालाहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।

गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयमा हालसम्म औपचारिक गुनासो सुनुवाइ समिति र पेटिका नहुँदा विद्यार्थीहरूले भोग्नुपरेका समस्या ओझेलमा परेको निष्कर्ष निकाल्दै कार्यक्रमकी प्रमुख अतिथि एवं गाउँपालिका उपाध्यक्ष सोभना तामाङले यस संयन्त्रलाई आगामी कार्यपालिका बैठकबाट अनुमोदन गराई कार्यान्वयनमा ल्याउने दृढता व्यक्त गर्नुभयो। शिक्षा शाखा प्रमुख मीन बहादुर धामीले विद्यार्थीको सुरक्षा र शैक्षिक वातावरण सुधारका लागि यो कदम महत्त्वपूर्ण हुने बताउनुभयो भने विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले विद्यार्थीले खुलेर आफ्ना कुरा राख्ने वातावरण बनाउन आफूहरू तयार रहेको उल्लेख गरे। रेष्ट पैरवी समूहका संयोजक यज्ञ प्रसाद दंगालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका तर्फबाट कुमार भट्टराई, जगन्नाथ रिजाल र सुरज शर्माले संयन्त्रको आवश्यकता र कार्यविधिबारे सहजीकरण गर्नुभएको थियो।

४ पुष २०८२, शुक्रबार २१:५६