/*php the_title();*/?>
जनतापत्र, सिन्धुपाल्चोक – इको पहिरो नियन्त्रण र जोखिममा परेको कोदारी बस्तीको संरक्षणका लागि ६० दिनभित्र सडक विभागले काम सुरु गर्नुपर्ने सर्तमा तातोपानी नाकामा लगाइएको अवरोध हटाइएको छ । इको पहिरोका कारण बस्ती उच्च जोखिममा परेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएपछि कोदारी सडक एक सातादेखि पूर्ण रूपमा बन्द थियो ।
शनिबार व्यापारी, कन्टेनर व्यवसायी, स्थानीय सरकार र प्रहरीको उपस्थितिमा भएको छलफलपछि स्थानीयले सडक खुलाएका हुन् । संघर्ष समिति अध्यक्ष साङ्गे शेर्पाका अनुसार सरकारले तोकिएको समयसीमाभित्र काम सुरु नगरे पुनः आन्दोलन चर्काइने चेतावनी दिइएको छ ।संघीय राजधानी काठमाडौं र उत्तरी छिमेकी चीनको तिब्बतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पर्ने इको पहिरो क्षेत्र (१० किलो, कोप्लाङ, घट्टेखोला, कोदारी र लिपिङ) का पहिरो पीडितहरूले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलन गरेका थिए ।
उक्त आन्दोलनमा स्थानीय सरकारका प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूले समेत ऐक्यबद्धता जनाएका छन् । स्थानीयवासीले भौगोलिक बनावट, २०७२ सालको भूकम्प र २०७३ सालको भोटेकोशी बाढीपछि इको क्षेत्र निरन्तर बगिरहेको भन्दै दीर्घकालीन समाधानको माग गरेका हुन् । स्थानीयका अनुसार तलतर्फ भोटेकोशी नदीले कटान गरिरहने र माथिबाट पहिरो खसिरहने अवस्थाका कारण अस्थायी उपायले समस्या समाधान नहुने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइएको थियो ।
वार्षिक २० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्ने तातोपानी नाका जोड्ने यो सडकप्रति संघीय सरकारले निरन्तर बेवास्ता गर्दै आएको, छुट्याइएको बजेट रकमान्तर गर्ने र झारा टार्ने काम मात्र भएको स्थानीयको आरोप छ । हिउँदमा समस्या ओझेलमा पर्ने र वर्षायाममा मात्र चासो देखाउने सरकारी प्रवृत्तिका कारण आफूहरू वर्षौंदेखि त्रास र पीडामा बाँच्न बाध्य भएको स्थानीयवासीहरूको गुनासो छ ।
२९ मंसिर २०८२, आईतवार ११:५८