इको पहिरोमा सडक भासिँयो, कोदारी सडक खण्ड फेरि बन्द

जनतापत्र,बाह्रबिसे सिन्धुपाल्चोक ।
तीन सातापछि खुलेको बाह्रबिसे–कोदारी सडक खण्ड फेरि अवरुद्ध भएको छ। तातोपानीस्थित कोदारी भागको ‘इको पहिरो’ क्षेत्रमा सडक भासिँदै गएपछि यातायात सम्पूर्णरूपमा रोकिएको हो।
सडक बन्दसँगै चीनबाट आयात भएका सामानसहितका मालवाहक कन्टेनर र अन्य सवारी साधन मितेरी पुल, लिपिङलगायत ठाउँमा रोकिएका छन्। भोटेकोशी नदीको कटान र माथिबाट खस्ने पहिरोका कारण सोमबारदेखि सो क्षेत्र खतरापूर्ण बनेको हो।
सडक डिभिजन चरिकोटका प्रमुख अमित श्रेष्ठका अनुसार सडक १५ मिटरभन्दा बढी भासिएको छ र मर्मतको काम भइरहेको छ। यद्यपि, सामान्य वर्षाले पनि सडक चिरिन थालेपछि जोखिम झन् बढेको छ।
इलाका प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक जगतबहादुर राईले साना वर्षाले समेत पहिरो झर्ने र सडक भास्ने भएकाले कन्टेनर तथा सवारीसाधनलाई रोकिएको जानकारी दिनुभयो। अहिले चीनतर्फबाट आएका हजारभन्दा बढी कन्टेनर खासा, न्यालम र आसपासका क्षेत्रमा अलपत्र छन्।
तातोपानी भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार नाका बन्द हुँदा फलफूल, तरकारी र मसला बोकेका कन्टेनरमै सामान कुहिन थालेको छ। व्यापारीहरू मजदुरमार्फत केही सामान ढुवानी गर्न थाले पनि ठूलो मात्रामा वस्तु बिग्रन थालेको गुनासो गरेका छन्।
इको पहिरोमाथि चौकीडाँडा, गुम्बाडाँडा, मिलनबजार, लालवीरचोक, ताक्पासा, तार्त्रिङ, क्युसा, छेर्माङ लगायतका सयभन्दा बढी घर भएका बस्ती रहेका छन्। सडक निरन्तर भासिँदै जाँदा माथिल्लो बस्तीसमेत उच्च जोखिममा परेको छ।

१० भाद्र २०८२, मंगलवार १६:५९