आठौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि ईर्खु माविले लगातार चौथो पटक जित्यो

जनतापत्र, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा आठौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि इर्खु माध्यमिक विद्यालयले हात पारेको छ। यसैगरी विद्यालयले लगातार चौथो पटक शिल्ड जित्दै आफ्नो उत्कृष्टता कायम राखेको छ। प्रतियोगितामा इर्खु माविले अधिकांश खेलमा सशक्त प्रदर्शन गर्दै २० स्वर्ण पदक जितेको थियो।

अघिल्ला तीन संस्करणमा समेत च्याम्पियन बनेको यस विद्यालयले यसपटक पनि अन्य विद्यालयका लागि चुनौती प्रस्तुत गर्‍यो।
चौतारास्थित श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयले १९ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने सेतीदेवी माध्यमिक विद्यालय, ठुलोसिरुवारीले ७ स्वर्ण पदकसहित तेस्रो स्थानमा सीमित रह्यो। नगर खेलकुद विकास समितिको आयोजनामा तीन दिनसम्म चलेको प्रतियोगिताको समापन समारोहमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का पूर्व सांसद तथा युवा नेता माधव सापकोटा ‘सुबोध’ले विजेता विद्यालय र खेलाडीहरूलाई शिल्ड, ट्रफी र पदक प्रदान गरेका छन ।


समापन समारोहमा नगर प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सिता थापा, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता प्रतियोगिताले विद्यालयस्तरबाटै खेलकुद प्रतिभा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन।

१६ पुष २०८२, बुधबार २१:१६