अराजकता र अपरिपक्वता – समाजका लागि चुनौती र समाधान

टीका सुवेदी ।
समाजलाई व्यवस्थित, समुन्नत र समृद्ध बनाउन नियम, अनुशासन र जिम्मेवारी अत्यन्त आवश्यक तत्व हुन् । जहाँ नियमको सम्मान हुँदैन, त्यहाँ अराजकताले शासन गर्छ । अराजकता भनेको केवल अव्यवस्था मात्र होइन, यो जिम्मेवारीबाट पलायन गर्ने प्रवृत्ति पनि हो । जब व्यक्तिले आफूलाई कानुन र सामाजिक मूल्यभन्दा माथि ठान्न थाल्छ, तब समाजमा असन्तुलन सिर्जना हुन्छ । स्वतन्त्रताको नाममा गरिने अव्यवस्थित गतिविधिले अन्ततः समाजलाई नै कमजोर बनाउँछ ।
अपरिपक्वता अराजकतासँग गहिरो रूपमा जोडिएको हुन्छ । अपरिपक्व मनले क्षणिक फाइदा मात्र देख्छ, तर त्यसको दीर्घकालीन परिणामबारे सोच्दैन । आज सानो लाभका लागि नियम तोड्ने व्यक्ति भोलि ठूलो समस्यामा पर्न सक्छ । परिपक्व सोच भनेको आजको निर्णयले भोलिको समाजमा पार्ने प्रभावलाई मूल्याङ्कन गर्नु हो । यही सोचले दीर्घकालीन विकासको आधार तयार गर्छ ।
अराजकता स्वतन्त्रता होइन, जिम्मेवारीको अभाव हो । साँचो स्वतन्त्रता त्यतिबेला मात्र सार्थक हुन्छ, जब त्यससँग कर्तव्यको बोध जोडिएको हुन्छ । यदि हरेक व्यक्तिले आफ्नो अधिकारको मात्र कुरा गर्ने तर कर्तव्यलाई बेवास्ता गर्ने हो भने समाजमा असन्तुलन बढ्छ । अधिकार र कर्तव्य एकअर्काका पूरक हुन् । एउटा बिना अर्को अधूरो हुन्छ ।
अपरिपक्वता भनेको भावनाले निर्णय गर्नु हो, विवेकले होइन । क्रोध, आवेग र असन्तोषका आधारमा गरिएको निर्णय प्रायः गलत सावित हुन्छ । जो आफ्नो क्रोध नियन्त्रण गर्न सक्दैन, ऊ परिपक्व हुन सक्दैन। संयम र धैर्य परिपक्वताको मुख्य आधार हुन्। शक्तिशाली हुनु भन्दा पनि त्यो शक्तिलाई सही रूपमा प्रयोग गर्न सक्नु ठूलो कुरा हो ।

समाजमा अनुशासन हरायो भने विकासको ढोका बन्द हुन्छ । विकास केवल भौतिक संरचना निर्माणबाट मात्र सम्भव हुँदैन; यसको मूलमा नैतिकता, पारदर्शिता र अनुशासन हुन्छ । विद्यालय, कार्यालय, सार्वजनिक संस्था वा परिवार—सबै क्षेत्रमा नियमको पालना आवश्यक हुन्छ । नियम तोड्नु सजिलो लाग्न सक्छ, तर त्यसको परिणाम भोग्नु कठिन हुन्छ । क्षणिक उत्साहमा गरिने अराजक व्यवहारले दीर्घकालीन क्षति पु¥याउन सक्छ ।
अपरिपक्व नेतृत्वले भीड त जुटाउँछ, तर विश्वास गुमाउँछ । नेतृत्व केवल भाषण र नाराले होइन, व्यवहार र जिम्मेवारीले प्रमाणित हुन्छ । भीडलाई उत्तेजित गर्नु सजिलो छ, तर दीर्घकालीन विश्वास निर्माण गर्न परिपक्व सोच र दूरदृष्टि आवश्यक हुन्छ । नेतृत्वको अपरिपक्वताले समाजमा अस्थिरता बढाउँछ, जसले अन्ततः विकासको गति रोक्छ ।

अराजकताले अधिकारको नाममा कर्तव्य भुलाउँछ । आज धेरैजसो समस्या संवादको अभावका कारण उत्पन्न हुन्छन् । जहाँ संवाद हुँदैन, त्यहाँ अराजकता जन्मिन्छ । खुला संवाद, सहकार्य र आपसी समझदारीले मात्र समस्या समाधान गर्न सकिन्छ । अपरिपक्व सोचले समस्या बढाउँछ, जबकि परिपक्व सोचले समाधान खोज्छ ।

परिपक्व व्यक्ति आफ्ना गल्ती स्वीकार्छ । गल्ती स्वीकार्नु कमजोरी होइन, बरु सुधारतर्फको पहिलो पाइला हो । अपरिपक्व व्यक्ति भने बहाना खोज्छ र दोष अरूलाई दिन्छ । समाजमा जब मानिसहरूले आफ्ना कमजोरी स्वीकार्न सिक्छन्, तब सुधारको वातावरण सिर्जना हुन्छ । आलोचना सहन सक्ने क्षमता पनि परिपक्वताको चिन्ह हो। अपरिपक्व मन आलोचना सहन सक्दैन, परिपक्व मन त्यसबाट सिक्छ ।
अपरिपक्वता उमेरले होइन, सोचले देखिन्छ। कुनै व्यक्ति उमेरले ठूलो भएर पनि व्यवहारमा अपरिपक्व हुन सक्छ, र युवा भएर पनि जिम्मेवार र विवेकी हुन सक्छ। त्यसैले परिपक्वता सिकाइ, अनुभव र आत्मचिन्तनबाट विकास हुन्छ। अनुशासनविहीन स्वतन्त्रता समाजका लागि खतरा हुन्छ, किनकि यसले कानुन र मूल्य–मान्यतालाई कमजोर बनाउँछ ।
जो नियमलाई शत्रु ठान्छ, ऊ प्रगतिबाट टाढा जान्छ । नियम र कानुन समाजको हितका लागि बनाइएका हुन्छन् । तिनको उद्देश्य नियन्त्रण मात्र होइन, सुरक्षा र समानता सुनिश्चित गर्नु पनि हो। जब नियमलाई बेवास्ता गरिन्छ, तब अराजकता आगो जस्तै फैलिन्छ, जसले अन्ततः आफ्नै घर जलाउँछ। त्यसैले नियमको सम्मान गर्नु व्यक्तिगत र सामाजिक हित दुवैका लागि आवश्यक छ।
परिपक्वता भनेको शक्ति हुँदा पनि संयम अपनाउनु हो । आफ्नो अधिकार र क्षमताको दुरुपयोग नगरी जिम्मेवारीपूर्वक प्रयोग गर्नु नै साँचो परिपक्वता हो । समाजको उन्नति जिम्मेवार र परिपक्व नागरिकबाट मात्र सम्भव हुन्छ। यदि प्रत्येक नागरिकले आफ्नो कर्तव्यप्रति सचेत भई अनुशासनको पालना गर्ने हो भने अराजकता स्वतः कम हुन्छ ।
अन्ततः अराजकता र अपरिपक्वता समाजका विकासका प्रमुख बाधक हुन् । यी प्रवृत्तिलाई नियन्त्रण गर्न शिक्षा, चेतना र आत्मअनुशासन आवश्यक छ । जब व्यक्तिमा विवेक, संयम र दूरदृष्टि विकास हुन्छ, तब मात्र समृद्ध, शान्त र व्यवस्थित समाज निर्माण सम्भव हुन्छ।

९ फाल्गुन २०८२, शनिबार १५:३४