/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
वाशिङटन डीसीस्थित नेपाली राजदूतावासमार्फत अमेरिकामा रहेका नेपाली नागरिक तथा अधिकारकर्मीहरूले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा हाल नेपालमा देखिएका मानवअधिकार उल्लंघन, शान्तिपूर्ण आन्दोलनमाथिको दमन, तथा लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धका गतिविधिप्रति गम्भीर आपत्ति जनाइएको छ। उनीहरूले नागरिक हकअधिकार संकुचित हुँदै गएको, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक अधिकारमाथि खतरा बढिरहेको भन्दै तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्।
ज्ञापनपत्रका प्रमुख मागहरू यसप्रकार छन् ।
१। शान्तिपूर्ण आन्दोलनमाथि भएको दमन तत्काल बन्द गर्न।
२। आन्दोलनमा संलग्न नागरिकलाई सम्मानजनक व्यवहार गर्दै अनावश्यक पक्राउ नगर्न।
३। मानवअधिकार र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्ने ठोस कदम चाल्न।
४। अन्तर्राष्ट्रिय सन्धि तथा घोषणापत्रअनुसार नेपालले आफ्नो जिम्मेवारी पूरा गर्न।
स्मरणीय छ, नेपाल संयुक्त राष्ट्रसंघीय सार्वभौम मानवअधिकार घोषणापत्र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र यातनाविरुद्धको महासन्धि जस्ता अन्तर्राष्ट्रिय कानुनी प्रावधानको हस्ताक्षरकर्ता मुलुक हो। त्यसैले यी सन्धिअनुरूप जिम्मेवारी पूरा गर्नुपर्नेमा ज्ञापनपत्रमार्फत जोड दिइएको छ।
ज्ञापनपत्रमा अधिकारकर्मी दिनेश खतीवडा, डा। प्राशा खत्री, अभिमन्यु काफ्ले, सिताराम दुलाल, गौतम विकलगायत नागरिक समाजका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। खतीवडाले हालको अवस्थामा नेपालको लोकतान्त्रिक मूल्य र मानवअधिकार संरक्षणमा प्रवासी नेपालीहरूले पनि आवाज उठाउनु समयको आवश्यकता भएको टिप्पणी गरेका छन्।
२५ भाद्र २०८२, बुधबार १२:३२