/*php the_title();*/?>
देशभित्र रहेका सबै जात जातिका धर्म संस्कार र संस्कृतिको सम्मान सम्वद्र्धन र सरंक्षण गरौँ । विगतका आआफ्ना जातीय पेसालाई पुनर्जीवित गरौँ त्यसले हरेकसमुदायमा आर्थिक लाभका ढोका खुल्छ । समाजमा विद्यमान रहेको विभिन्न भेदभावहरू कानुनद्वारा निर्मुल पारौँ ।

सन् १९९२ मा जापानको दैनिक अंग्रेजी अखबारमा डा.भरतप्रसाद धितालले राजा वीरेन्द्रको जन्मोत्सवको सन्दर्भमा एउटा लेख लेख्नुभएको थियो । उहाँ त्यसबेला जापानमा नेपालका लागि राजदूत हुनुहुन्थ्यो । त्यो लेखमा भनिएको थियो, ‘प्रकृतिको गुँड नेपालले विश्वको सबैभन्दा पुरानो र धनी निरन्तर संस्कृतिलाई कायम राखेको छ । महान सौन्दर्यको छबी, नदीवाहक स्वर्ग, पर्यटन स्वर्ग र नेपाल सधैँ एक स्वतन्त्र देश भएको गौरव प्राप्त गर्दछ । यो कहिल्यै विदेशी प्रभुत्वमा परेको छैन ।’
देशको प्राकृतिक सौन्दर्य र आफ्नो गौरवशाली इतिहासलाई जोडेर लेख्नु कति गौरवको कुरा थियो । आज त्यहि इतिहास सम्झिँदा हामी कहाँ उभिएका छौँ ? २०१७ देखि २०४६ सालसम्म राजा महेन्द्र र वीरेन्द्रको पञ्चायती शासनअन्तर्गत नागरीक स्वतन्त्रता कुण्ठित थियो । तर, देश विकास निर्माण र आत्मनिर्भरतर्फ अग्रसर थियो । कलकारखाना र बाटाघाटाको निर्माण तीव्र गतिमा भएको थियो । कूटनीतिक र प्रशासनिक क्षेत्रमा दक्ष मानिसहरू थिए । यो ३० वर्षको समयावधि र अब प्रजातन्त्र गणतन्त्र र लोकतन्त्रको अवधि २०४६ देखि २०८२ सम्मको अवस्थालाई हेरौँ ।
समयावधि ३६ वर्ष हुँदै छ यस अवधिमा देशमा के के भयो त ? ३ दशकको अवधिमा केही प्रगति त देखिन पथ्र्यो । हो पूर्वाधारको क्षेत्रमा केही देखिएको छ । धरहरा सांस्कृतिक धरोहर हो । दमकको भ्यु टावर निर्माण वा प्रगतिको निशान होइन । त्यो फुस्रो अहंकारको धरोहर मात्र हो । अरू हामी साधारण नागरिकले समाजिक आर्थिक रूपमा केही सहजताको अनुभूत गर्न के पायौँ ? सत्ताको बागडोर सम्हाल्नेहरूले भाषण त छाँटे ‘समृद्ध नेपाल सुखी नेपाली’ । तर कसरी ? गफले हुन्छ ? देशको सार्वभौम र स्वाभीमानलाई उच्च राख्ने कुनै नैतिक काम भएको छ ? जनताको आर्थिक समृद्धिका लागि कुनै योजना अघि सारेको छ ? एमसिसीजस्ता राष्ट्रघाती काम गर्न नहिचकिचाउने । राष्ट्रहितलाई कुल्चेर जनताको सार्वभौमलाई आफ्नो एकलौटी बपौती ठान्ने अशिक्षित, अपठित दृष्टिकोण नै नभएका लम्पट र अन्धा भएकै कारण देशको अधोगति भएको छ । जनताले केही पाउन सेकेको छैन ।
कसरी भयो जेनजी आन्दोलन ?
राजनीति नेतृत्वको अर्कमण्यता कारण देशमा भ्रष्टाचार ब्याप्त छ । देशमा उत्पादन छैन । जनताको जीविका उपार्जनका लागि देशमै कुनै उद्योग कलकारखाना छैन । अनि मजबुर भएर जहान छोराछोरी परिवार पाल्न खाडीमुलुक र अन्यत्र जान बाध्य भएका छन । जनताको उन्नति र देशको समृद्धिका लागि कुनै उद्योग खोल्ने सोचै छैन, अलि अलि ब्यापार र ब्यवसाय छ ती सबै पुँजीपति र बिचौलियाहरूको हातमा । देशको सिमानामा अरूको हैकम चल्छ । तथ्यको आधारमा बोल्न सक्दैन ।
राजनीतिक दलहरू भ्रष्टतन्त्रमा परिणत भई आफ्नै नागरीकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाएर पैसा खाने, भिजिट भिसामा सेटिङ गरी पैसा खाने । सत्ता र पदमा बस्नेहरूले यसरी लुट्ने, अकुत पैसा कमाउने अनि जनता जीवनभरि गिट्टी कुटिरहने ? आर्थिक सुधार कहिल्यै नहुने, उसैको छोराछोरी ऋण काढेर बिदेसिनुपर्ने, ३६ वर्षमा पनि यी राजनीतिक दलका भ्रष्टहरूले यो देशमा सृजना गरेका माहौलको उपज थियो जेनजी आन्दोलन ।
भ्रष्टाचारको दलदलमा डुबेर सरकारका सबै अंगहरू निकम्मा लाचार र अन्धो भएका रहेछन् । जेनजी युवा पुस्ताका तापमा २ दिन टिक्न नसक्ने नेकपा(एमाले) र नेका (कांग्रेस) को सरकारको जग मक्किएर यति कमजोर भएको रहेछ नेताहरू कुटाइ खाँदै भाग्नुपर्यो । यिनीहरूले देशलाई कति बदनाम गरे । सूचना संजालको भर पर्ने कुनै आधार नभएको प्रष्ट देखियो । अब धर्म संस्कार र संस्कृतिको आधारमा मौलिक राजनीति स्थापित हुनुपर्छ ।
जेनजीका युवा पुस्ताले लखेटेका राजनीतिक दलहरू भ्रष्टहरूको ग्याङ र दलाल पुँजीपति वर्ग र बिचौलियाहरूको भरमा कमिसन तन्त्रमा अडिएकोले यसको अन्त्य स्वभाविक थियो ढल्यो समाप्त भयो । जो हुनै थियो भयो । देश त छ । तर माधव घिमिरेको कविता गीत बनेर गुञ्जिन थालेको छ । ‘नेपाली हामी रहँुला कहाँ नेपाल नरहे’ । साँच्चै हो । तर यो देशका पढेलेखेका शिक्षित विज्ञ अनुभवीहरू किन चुँइक्क बौल्दैनन् बाहिर निस्किँदैनन् ? विभिन्न मिडियाहरू र तथाकथित विश्लेषक नामधारीहरूले भारतीय सेना आँउदै छ, १० हजार अमेरिकन सेना सादा पोसाकमा नेपाल आइसक्यो भनेर, डराएर नबोलेका हुन् ?
सन् १८१४ देखि १८१६ सम्म देहरादुनको नालापानीमा बृटिस फौजको आधुनिक हतियारसँग गोर्खाली सेना नांगो खुकुरी लिएर सुत्केरी महिलासहित लडाइँमा सामेल भएका थिए । गोर्खालीहरूको यो साहस र हिम्मतको बृटिसहरूले पनि खुलेर प्रशंसा गरेका थिए । बास्तवमा बृटिसहरूले नै गोर्खाको बाहादुरीको गाथा संसारभरि फैलाइदिए । भारतीय फिल्ड मार्सल मानेक साहले लगाएको गुण पनि हामीले बिर्सन्न हुन्न । त्यस्ता गोर्खालीको सन्तान आज किन लुत्रिएको छ ?
जानेका, बुझेका, पढेका बौद्धिक भनिनेहरू सबैले ‘रअ’ को भारतीय नोट र ‘सिआइए’को डलर खाएर मुख बन्द भएको हो । युक्रेनजस्तै भएर आफ्नै भूमिमा विदेशीको उनीहरूको आफ्नो स्वार्थमा हामीले उनीहरूको गोली खाएर मर्नुभन्दा सबै नेपाली एक जुट भएर लडनु बेश । देश नै नरहे नेपाली भएर बाँच्नुको के अर्थ ? यी दलाल र लुटेराहरूले आज देशलाई यो अवस्थामा ल्याई छोडेको छ । अझै लाज शरम र किञ्चित विवेक नभएका शिल्पट लम्पटहरूले भुक्छन् र सल्लाह दिन्छन मानौँ उनको कुरा अझै सुुन्छन् नेपालीहरूले ।
आउनुहोस् अब देशलाई नयाँ स्वरूपको सम्मानित इज्जतिलो स्वाभिमानी बनाऊ । सबै नेपाली समृद्ध र सुखी बनाँै । आफू बन्न सबै नेपालीहरू आफ्नै ठाउँमा नङ्ग्रा खियाउन तयार छन्, तर हामी विश्वको बदलिँदो परिस्थितिसँग पनि अनभिज्ञ रहन हुन्न । अहिलेको आर्टिफिसियल इन्टेलिजेन्स, विज्ञान र प्रवधिसँग पनि परिचित हँुदै जानुपर्दछ । जटिल भूराजनीतिक परिस्थितिको ज्ञान हासिल गर्दै कसरी हाम्रो नैतिकतालाई अक्षुण्ण राख्दै प्राकृतिक सम्पदाको धनी स्वाभिमानी र नैतिकवान नेपाली भएर विश्व मञ्चमा उभिने त्यो समयको ढोका खोलिएको छ ।
त्यसैले अब आउनुहोस् त्यस्ता राष्ट्रभक्तहरू जोजसँग देशको कानुनको ज्ञान छ, अन्तर्राष्ट्रिय कानुनको ज्ञान छ भूराजनीतिको ज्ञान छ । समाजशास्त्री, अर्थशास्त्री, राजनीति शास्त्री, वैज्ञानिक, इन्जिनियर, प्राध्यापक, असल व्यवस्थापक, जेनजी पुस्ताका होनहार युवाहरूलाई प्रशिक्षण दिँदै अघि बढौँ, बढाऔँ । ५ देखि १० वर्ष भित्रमा नै हामी चम्किने छौँ । हामीले हाम्रो घरेलु उत्पादनलाई बढावा दिँउ, वनजंगल र काठको प्रयोग गरौँ । बस्तुहरू आयात नगरी नहुने बस्तुहरू मात्र आयात गरौँ, सहज र निर्यातयोग्य बस्तुहरू उत्पादनमा प्राथमिकता दिउँ । बाँसको वैज्ञानिक खेती गरौँ, फोहोरमैला व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित गरौँ ।
हामी हजारौँ टन प्रांगारिक मल र बायोग्यास उत्पादन गर्न सक्छौँ । जातीय परिकारहरूको बजारीकरण गरौँ प्लास्टिक निर्मित बस्तुको आयातमा निषेध गरौँ । त्यसको सट्टामा काठ र बाँसको सामानहरू निर्माण गरौँ । आफ्नो जिल्लाको सडक यत्रतत्रको सफाइमा सम्बन्धित जिल्लाका निकायलाई जिम्मेवार बनाउने नीति निर्णय तय गरौँ । देशभित्र रहेका सबै जातजातिका धर्म संस्कार र संस्कृतिको सम्मान सम्वद्र्धन र सरंक्षण गरौँ । विगतका आ–आफ्ना जातीय पेसालाई पुनर्जीवित गरौँ त्यसले हरेकसमुदायमा आर्थिक लाभका ढोका खुल्छ । समाजमा विद्यमान रहेको विभिन्न भेदभावहरू कानुनद्वारा निर्मुल पारौँ ।
एकआपसमा विश्वास, सद्भाव र भाइचाराको सम्बन्ध कायम गर्ने एक ठोस नीतिगत निर्णय गरी कार्यान्वयन गर्ने, गाउँ, टोल, बजार सबै तहमा सामूहिक निर्णय गर्ने प्रथाको राजनीतिक प्रणाली निर्माण गरी अब यो मक्किएर ढलेको राजनीतिक व्यवस्थाले देश र जनताको भलो नहुने भएकोले सबै नेपालीहरू मिली नेपालीहरूको सुन्दर भविष्य निर्माण गर्न र देशको सार्वभौमिकता अक्षुण्ण राख्न धर्म, संस्कार, संस्कृति जातजाति सबै अट्ने नागरिक सर्वोच्चताको संस्कार निर्माण गराँै । हाम्रो देश नेपाल संसारको एउटा सुन्दर बगैँचा बन्ने पक्का छ । (सौर्य अनलाइनबाट साभार)
२२ आश्विन २०८२, बुधबार १०:२६