अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता चौतारामा सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा माध्यमिक तहका विद्यार्थीहरूका लागि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
“श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन” भन्ने मूल नाराका साथ पौष ३ गते कृष्णरत्न गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले श्रम आप्रवासनको वर्तमान अवस्था, अवसर र चुनौती, श्रमिकको अधिकार, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारीलगायत विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए। प्रतिस्पर्धाबाट कल्पन तामाङ प्रथम, नेहारिका मास्के द्वितीय र नम्रता श्रेष्ठ तृतीय हुन सफल भएका छन्। कार्यक्रम सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० को सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा आयोजना गरिएको हो। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा वैदेशिक रोजगारीसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित निर्णय लिन प्रेरित गर्ने र आप्रवासनलाई सीप तथा मर्यादासँग जोड्न सहयोग पुर्‍याएको छ। श्रम आप्रवासनमा निर्भर नेपालजस्तो देशका लागि अन्तर्राष्ट्रिय आप्रवासन दिवसको महत्व बढ्दो रहेको उल्लेख गर्दै सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थी तहबाटै सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासनको सन्देश फैलाउन सकारात्मक भूमिका खेलेको बताएका छन्।

३ पुष २०८२, बिहीबार १७:३५