/*php the_title();*/?>


अच्युत मानसिंह प्रधान ‘उत्सुक’
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि विधिपूर्वक चिर ठड्याइएसँगै फागुपर्व सुरु हुन्छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुने गर्छ ।
होली प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा निकै हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाडपर्व हो । होली रंगहरूको पर्व पनि हो । असत्यमाथि सत्यको जितको खुसियालीमा हर्ष र उल्लासका साथ एकआपसमा अबिर, रंग लगाई मनाइन्छ । यो चाडले वसन्त ऋतुको आगमनको शंखघोष पनि गर्दछ । काठमाडौँ लगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली खेलिन्छ ।
होलीको बारेमा पौराणिक भनाइअनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान् विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजनाअनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको थियो । होलिकाले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् । दाजुको आदेशअनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन्, तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रंग र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।
एक अर्को प्रसंगअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रंग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।
होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रंग घोलेर एकअर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा–युवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित एक सम्बन्ध स्थापित गर्दछन् । यसर्थ यसलाई सद्भावको पर्व पनि भनिन्छ । फाल्गुण पूर्णिमा दिनमा मनाउने भएकाले यसलाई ‘फगुआ’ पनि भनिन्छ ।
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि विधिपूर्वक चिर ठड्याइएसँगै फागुपर्व सुरु हुन्छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुने गर्दछ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई विशेष पूजा गरी ठड्याइने गरिन्छ । रंगीचंगी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकआपसमा अबिर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ । सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गर्दछ ।
असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढलाएर टुँडिखेलमा पुर्याई दहन गर्ने परम्परा रहेको छ । चीर बीचमै ढलेको खण्डमा पुनः ठड्याई शान्ति स्वस्ति र क्षमा पूजा गरिने चलन छ । त्यसै अवसरमा हनुमानढोका दरबार परिसर तथा हनुमानढोका दरबारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगीबिरंगी कपडाका टुक्राहरू झुन्ड्याइएको मयलको रुखको हाँगा गाढेर पूजा पनि गरिने चलन छ । साथै, मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र ९ वटा विभिन्न मुद्राका गोपीका मूर्तिहरू सजाई अबिर छर्केर पूजा गरिँदै आएको छ ।
टुँडिखेलमा दाह गर्नुअघि चीरको अन्तिममा दर्शन र पूजा गर्न मारवाडी समुदायका श्रद्धालुहरूको निकै घुइँचो लाग्ने गर्छ । चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा मानिसहरूले घर–घर लैजाने चलन छ । यसैगरी ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चकँ द्य–चक्रमणशीलको मूर्तिलाई राति त्यसै महाविहारसँगैको टुँ (इनार) चोकमा ९ पटक ओहोरदोहोर गराउने परम्परा छ । नेपाल भाषामा यसलाई ‘गुह्रु न्यायेकेगु’ भन्ने गरिन्छ । त्यसो गर्नुअघि मूर्तिलाई बाजागाजाका साथ होली खेल्दै जात्रा गरेर ठमेल नगर परिक्रमा गराइन्छ । सिंहसार्थ बाह भनिने त्यस मानवाकृत रातो चकँ द्यको मूर्तिलाई बाजागाजाले सहित जात्रा गर्दै ठमेलबाट ज्याठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याई त्यहाँबाट मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थँहिटी, क्वबहाल हुँदै विक्रमशील महाविहार पुर्याउने परम्परा छ ।
चकँ द्य जात्राका क्रममा बोधिसत्व महामञ्जुश्री यहाँ आई विक्रमशील महाविहारमा बस्दा आफैँले लेखेको भनिने ‘प्रज्ञापारमिता’ नामका ठुल्ठुला ४ ठेली ग्रन्थ पनि सँगै बोकेर नगर परिक्रमा गराउने परम्परा थियो । तर अहिले ग्रन्थका पृष्ठहरू च्यातिने र हराउने डरले परिक्रमा गराउन छाडिएको छ ।
भक्तपुरमा चिर स्वायगू अथार्त लिंग घुमाएपछि फागुपर्वको सुरूआत भएको मानिन्छ । जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिर सँगै रहेको भीमसेनको मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरूआत गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भीमसेन मन्दिरमा राखिएको लिंग अर्थात लगलाई टोल–टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी घुमाएर पुनः मन्दिरको पाटीमा राखिने परम्परा छ । काठबाट बनेको २ हात लामो लिंग करिब ३० इन्च मोटाइको छ । यसलाई भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ ।
घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्षगरी ढोग्ने र दान दक्षिणा चढाउने गर्छन् । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ । चिर स्वायगू अथार्त लिंग झुन्ड्याए पछि यहाँका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । विशेषगरी होली भरी शनिबार र मंगलबार भीमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्छ । यहाँका गायजु गुठीले भीमसेन मन्दिरको पाटीमा बसेर नेवारीमा होलीको गीत ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे बिस्यूवाने म्वायक सो झायला’ गाउने गर्छन् । जसको नेपालीमा अर्थ ‘भिमसेनको लिंगले मन लोभियो कि भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ हो ।
फाल्गुन शुक्ल पूर्णिमाका दिन दिउँसो रंग होली खेलेपछि साँझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गुलाबको फूल, अत्तर र अमुखसहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ । त्यसबेला बाटोमा रहेका देवीदेवतालाई तेलमा मुछेको अविरको डल्ला छरी साँझपछि दत्तात्रय मन्दिर पुर्याउने प्रचलन रही आएको छ । साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिंग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ । यसरी मन्दिरबाट खोलासम्म लिंग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । अहिलेसम्म पनि लिंग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास रहेकाले लिंग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा नै चल्छ । त्यसपछि लिंग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुन्छ ।
आजकल होलीले विभिन्न खालका सामाजिक विकृति र विसंगतिहरू पनि भित्र्याएको छ । आजका युवाहरू अर्काको इच्छा विपरीत रंग दलिदिने, स्वास्थ्य र छालालाई हानिकारक रंगको प्रयोग गर्ने, बेलुन र प्लास्टिकको थैलीमा फोहर पानीले भरेर हान्नै, मादक पर्दाथ सेवन गरेर हो–हल्ला, झै–झगडा गर्ने आदि काम गर्छन् । जुन कानुनले वर्जित गरेको छ ।
त्यस्तै रंग लगाउने बहानामा महिलालाई उत्ताउलो व्यवहार पनि हुने गरेका घटनाहरू पाइन्छ । जसले गर्दा समूह समूहबीच झगडा भई मृत्युसमेत भएको खबर यदाकदा आउँछ । यसर्थ यस दिन सहरहरूमा विभिन्न ठाउँमा कडा सुरक्षा जाँच गरिन्छ ।
(सौर्यअनलाइनबाट साभार)
२९ फाल्गुन २०८१, बिहीबार ०३:३०