बीबी एयरवेजले पायो जहाज ल्याउने अनुमति : एक बर्षमा तीन वटा जहाज ल्याउने तयारी

काठमाडौं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बीबी एयरवेजले जहाज ल्याउन अनुमति पाएको छ। एनओसी पाएको एयरवेजले अब जहाज ल्याएपछि उडानको लागि एओसी पाउने छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई तीनवटा एयरबस ३२० जहाज ल्याउन पाउनेगरी अनुमति दिएको छ । कम्पनीले पाँचवटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने योजनाअनुरुप लाइसेन्स नवीकरण गर्दै एओसीका लागि प्राधिकरणमा पत्र दिएको छ।

प्राधिकरणले एओसी दिनुअघि विभिन्न पाँचवटा प्रक्रिया पूरा गर्छ। सोहीअनुसार तीन चरणको प्रक्रिया पूरा गरेपछि प्राधिकरणले जहाज ल्याउन पाउने गरी बीबी एयरवेजलाई एनओसी दिएको हो। प्राधिकरणले फागनु २३ मा बीबीलाई एनओसी प्रदान गरेको हो।

अब बीबी एयरवेजले एक वर्षभित्र तीनवटा जहाज ल्याउनु पर्ने हुन्छ। एन‌‌ओसीको सयम एक वर्षको हुने प्राधिकरणले जनाएको छ। व्यावसायिक योजनामा एयरवेजले पाँचवटा न्यारोबडी जहाज ल्याएर उडान गर्ने विषय समावेश गरेको थियो तर प्राधिकरणले तत्कालका लागि तीनवटा जहाज ल्याउन पाउनेगरी एनओसी दिएको हो।

२०६८ सालमा स्थापना भएको बीबी एयरवेजले त्यसको एकवर्षपछि नै २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एक थान बोइङ ७५७ (२००) सिरिजको जहाज भाडामा लिएर उडान गरेपनि कात्तिकमै उडान बन्द गरेको थियो।

तीन महिना पनि उडानमा टिक्न नसकेको बीबी एयरवेजको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बनमा परेको थियो। एओसी नै निलम्बन परेको एयरवेजले दुई वर्षअगाडिदेखि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एयरलाइन्स सञ्चालनको अनुमति पत्र नवीकरण गरेको थियो।

सुरूमा दुईवटा एयरबसका न्यारोबडी जहाज ल्याउर उडान सुरू गर्ने योजना बनाएको बीबीले कुल लागत २ अर्ब ५३ करोड रुपैयाँ अनुमान गरेको छ। यसमा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी हुने अनुमान गरिएको छ।

५ चैत्र २०८०, सोमबार १२:४६