/*php the_title();*/?>
डा. बलराम तिमल्सिना
गएको तीन वर्षमा मैले सयौँ विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग प्रत्यक्ष छलफल, अन्तक्र्रिया र गफ गर्ने अवसर पाएँ । यस्ता छलफलमा कहिल्यै नछुट्ने एउटा विषय हुन्थ्यो, अभिभावक शिक्षा ।
बालबालिकाको समग्र विकास तथा गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि अभिभावकको सकारात्मक भूमिका रहने विषयमा बढी नै छलफल हुन्थे । यो लेख यिनै छलफल र अन्तक्र्रियामा उठेका प्रमुख विषयवस्तु; मेरो व्यक्तिगत अध्ययन, अनुभव र विद्यालयका कार्यक्रममा सहभागी हुँदा गरेका साना–साना कार्यमूलक अनुसन्धानमा आधारित छ ।
अभिभावक कस्तो सन्तान चाहन्छन् ?
दुई माध्यमिक विद्यालयमा छुट्टाछुट्टै भएको अभिभावक भेला र ३० विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूको अर्को एक भेलामा मैले सन्तानसम्बन्धी अभिभावकको धारणाका बारेमा एउटा प्रश्न राखेको थिएँ— ‘तपाईं आफ्नो सन्तान कस्तो देख्न चाहनुहुन्छ ?’
उक्त भेलाबाट प्राप्त उत्तर निम्न थिए ।
– योग्यता, क्षमता, विषयगत ज्ञान र सीपको आधारमा रोजगारी पाउने ।
– माथिल्लो तहमा अध्ययन गर्न चाहँदा भर्ना पाउने र माथिल्लो स्तरमा पनि उपलब्धि स्तरमा पहिलाको भन्दा गिरावट नआउने ।
– आफूभन्दा ठुलालाई आदर, सम्मान र श्रद्धा तथा आफूभन्दा सानालाई माया, प्रेम र प्यार गर्ने ।
– हिजोको समाज बुझ्न, आजको समाज अनुसार चल्न र भोलिको समाजको कल्पना गर्न सक्ने सक्षम व्यक्ति बन्ने ।
– आफ्नो भाषा, धर्म, संस्कृति र रीतिरिवाजको संवर्धन र संरक्षणमा ध्यान दिने ।
– आफ्नो विचार समाजमा प्रस्टसँग राख्न सक्ने र अरुको कुरा धर्यसँग सुन्ने ।
– देशको राष्ट्रियता, सम्प्रभुता र अखण्डतालाई आफ्नो स्वार्थभन्दा सधैँ माथि सम्झने ।
– शालीनता, सदाचार, सत्चरित्र र सत्कर्मलाई आफ्नो चरित्र बनाउने ।
– आफूले हासिल गरेको शिक्षाबाट सन्तुष्ट हुने ।
– जीवन जीउनका लागि आवश्यक पर्ने जीवनोपयोगी सीप आर्जन गर्ने ।
– अभिभावकको हेरचाह गर्ने र पालन पोषण गर्ने ।
छलफलहरूको निष्कर्ष यही थियो कि हरेक अभिभावक आफ्नो सन्तान विगतप्रति गौरव गर्ने, वर्तमानप्रति जिम्मेवार हुने र भविष्यप्रति आशावादी हुने सुशिक्षित, सौम्य, सभ्य र सादगी चरित्रको सामाजिक व्यक्ति होस् भन्ने नै चाहन्थे । यसका अतिरिक्त जीवन जिउन आवश्यक पर्ने जीवनोपयोगी सीप हासिल गर्दै आफू र परिवारलाई आवश्यक पर्ने आयआर्जन गर्न सक्षम सन्तान अभिभावको चाहना हुँदो रहेछ । ५० कटेका अभिभावकको आशा त के पनि पाइयो भने आफ्नो सन्तान बाबुआमाको उमेर ढल्किएपछि सहारा दिने र सम्पूर्ण रूपमा भरोसा योग्य होस् ।
अभिभावकले के गर्नुपर्छ ?
अभिभावकमाथि उल्लेख गरिए अनुसार चरित्र भएको सन्तान हुँदा खुसी हुन्छन् । त्यसो हो भने त्यस्ता व्यक्ति बनाउन अभिभावकको भूमिका कस्तो हुनुपर्छ ? यसबारे भएको छलफलको निचोड निम्न छन् ।
१) मायालु व्यवहार गर्ने
छोराछोरी बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म विद्यालयमा बिताएर थकित भई घर फर्कन्छन् । उनीहरूको अपेक्षा हुन्छ, बाबाआमाले खानेकुरा दिउन्, थाकेकी छौ, एकछिन बस वा थकाइ मार भनुन् वा यस्तै मायालु कुरा गरुन् । त्यसैले सन्तानको अपेक्षा ख्याल गर्नु र मनका कुरा बुझेर व्यवहार गर्नु अभिभावकको कर्तव्य हुन्छ ।
२) सन्तानको सहयोगी बन्ने
किशोर किशोरीलाई खुसी, आत्मविश्वासी र भविष्यप्रति आस्थावान् बनाउने पहिलो जिम्मेवारी अभिभावकको हो । किशोर किशोरीहरू भावनात्मक हुन्छन् । उनीहरूलाई साना कुराले चित्त दुख्छ र वैरागिन्छन् । सजिलै समाधान हुने समस्याबाट पनि आत्तिन्छन् । आफूले जानी वा नजानी गरेका गल्तीबाट परिवार र समाजसँग अत्यन्तै डराउँछन् र यही डरका कारण उनीहरू परिवार समाज आदिबाट टाढिन्छन् । त्यस कारण सन्तानको प्रत्येक पाइलामा अभिभावक सहयोगी बन्नु अनिवार्य हुन्छ ।
३) सन्तानलाई पछ्याइरहने
आफ्ना सन्तानकोे चालचलन, दैनिक व्यवहार, साथी–संगत आदिबारे ख्याल गरिरहनुपर्छ । उनीहरूको समय केमा बित्छ, आवश्यकता के हो, रुचि केमा छ, के गर्दा उनीहरू प्रफुल्ल हुन्छन् ? आदि विषयमा अभिभावकले सन्तानलाई सधैँ नजिकबाट नियालिरहनुपर्छ ।
४) मागलाई सकारात्मक रूपमा लिने
छोराछोरीले आफूले तत्काल पूरा गर्न नसक्ने माग पनि गर्न सक्छन् । त्यस्तो अवस्थामा रिसाउने, सकिँदैन भन्ने, झर्किने, किन चाहियो भन्ने आदि गर्नुहुँदैन । ‘हुन्छ बाबु’, ‘केही समयपछि मिलाउँला नि’ भनेर बुझाउनुपर्छ । केही समयपछि उनीहरूले नै परिवारको आर्थिक हैसियत बुझेर वा माग गरिएको सामानको औचित्य नदेखेर सामान चाहिँदैन बाबा, पर्दैन भन्न पनि सक्छन् । कतिपयले त केही समयपछि ती माग बिर्सन पनि सक्छन् ।
५) सन्तानलाई उत्प्रेरणा दिने
पढाइमा कमजोर वा असफल भएमा असफलता सफलताको जननी हो, तिमीले पनि गर्न सक्छौ भन्दै ढाढस दिनुपर्छ । जागिर नै सबै होइन, तिमीसँग अरु प्रशस्तै सीप छन्, त्यसैले तिमी अरु क्षेत्रमा पनि अब्बल हुन सक्छौ भनेर उदाहरणसहित हौसला दिने गर्नु असल अभिभावकको जिम्मेवारी हो ।
६) वास्तविक संसारको बारेमा बताउने
साथीहरूसँगको गफ, सामाजिक सञ्जालमा देखेको संसार, उनीहरूको कल्पनामा आएका दृश्य र वास्तविकता बिचको विशाल फरकले पनि बालबालिकालाई निराश बनाउँछ । सोचाइ र भोगाइ बिचको खाडलले उनीहरू भविष्यप्रति अस्वस्थ हुन सक्दैनन् । त्यसैले बेलाबेला कल्पना र सत्य संसारका बारेमा अभिभावकले उदाहरणसहित बताउने गर्नुपर्छ, ताकि वास्तविक संसार काल्पनिक संसारभन्दा फरक छ भन्ने सत्य कुरा उनीहरूले बुझुन् ।
७) सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिने
सामाजिक सञ्जालमा आउने नकारात्मक समाचारले उनीहरूलाई निराश बनाउँछ । सबै बिग्रिएको छ, सप्रने सङ्केत कतै छैन, सबैको भविष्य अँध्यारो छ, जस्ता नकारात्मक समाचारले उनीहरूकोे प्रगति गर्ने जाँगर हट्छ । सबैको भविष्य अँध्यारो छ भन्नुको अर्थ मेरो पनि त अँध्यारो छ, त्यही अँध्यारोमा हराउन मैले पढेर के हुन्छ भन्ने सोच्छन् । त्यसैले सन्तानले सामाजिक सञ्जालमा के–
कस्ता विषय हेर्छन् भनेर ख्याल गर्दै त्यस बारेमा सकारात्मक सल्लाह दिने गर्नुपर्छ ।
८) सन्तानका उपलब्धिमा रमाउने
सन्तानले खेलकुद, परीक्षाफल, सांस्कृतिक कार्यक्रम आदिमा उपलब्धि हासिल गर्दा तथा सामाजिक काममा सहभागिता जनाउँदा सन्तानलाई बधाई दिने, आफू पनि खुसी हुने अरुसँग खुसी साट्ने गर्नुपर्छ ।
९) प्रश्नको उत्तर दिने
बालबालिकामा अथाह उत्सुकता र जिज्ञासा हुन्छन् र ती जिज्ञासा आफ्ना अभिभावक समक्ष राख्ने गर्छन् । त्यस्तो बेला थाहा भएको विषयमा झर्को नमानीकन उत्तर दिएर सन्तानको उत्सुकतालाई अझ उजागर गर्नुपर्छ । उत्तर थाहा भएन भने ‘पछि भन्छु है’ भन्नुपर्छ । काममा भए अहिले हतार छ, काम सकौँ अनि गफ गरौँला है भन्नुपर्छ । कुनै पनि विषयमा किन, कसरी जस्ता थुप्रै प्रश्न बालबालिकाले गर्ने गर्छन् । सन्तानका यी र यस्तै प्रश्नबाट अभिभावक कहिल्यै पनि भाग्नु हुँदैन ।
१०) शारीरिक, मानसिक र भावनात्मक पक्षको जानकारी राख्ने
अभिभावकले सन्तानको शारीरिक स्वास्थ्यका साथसाथै मानसिक र भावनात्मक स्वास्थ्यमा पनि समान रूपमा ध्यान दिनुपर्छ । सन्तानको शारीरिक विकासको साथै उमेरगत रूपमा हुनुपर्ने मानसिक, भावनात्मक र संवेगात्मक विकास भएको छ कि छैन भन्ने विषय पनि उत्तिकै ख्याल गर्नुपर्छ ।
११) सन्तानसँग नियमित संवाद गर्ने
आमाबुबाले सन्तानसँग बिहान–बेलुका वा फुर्सदको समयमा गफ गर्नुपर्छ । छोराछोरीलाई समय दिने र उनीहरूका सफलता, समस्या, आवश्यकता वा रुचिका विषयमा उनीहरूसँग गफ गर्ने गर्नुपर्छ ।
१२) आफू नमुनायोग्य बन्ने
हामीले कैयौँ सफल व्यक्तिबाट सुनेका छौँ कि उनीहरूको जीवनको आइडल वा रोल मोडल बाबा वा आमा हुन् । उनीहरू भन्छन्, ‘आमाबाबाकै पदचाप पछ्याउँदै म यहाँ आइपुगेको हुँ ।’
त्यसैले अभिभावकले आफ्नो खानपान, लवाइ, बोलाइ, अरुलाई गर्ने सम्मान, व्यवहार आदिमा ख्याल गर्नुपर्छ । सन्तानले जे नगरे हुन्थ्यो जस्तो लाग्छ त्यो आफूले पनि गर्नुहुँदैन । छोरालाई चुरोट सल्काउन पठाएर ‘धुम्रपान नगर है बाबु’ भन्न मिल्दैन ।
१३) सन्तानको सन्तुलित खानामा ध्यान दिने
अभिभावकले जे तयार पारेर दियो, सन्तानले खाने त्यही हो । त्यसैले सकेसम्म बालबालिकालाई आवश्यक पर्ने सबै प्रकारका खाद्य तत्त्व प्राप्त हुने खाना उपलब्ध गराउनु अभिभावकको कर्तव्य नै हो ।
के गर्नु हुँदैन अभिभावकले ?
१) सन्तानलाई हतोत्साहित नगर्ने
पढाइमा कमजोर भए पनि, लाए–अह्राएको काम समयमा सफलताका साथ सम्पन्न गर्न नसके पनि बालबालिकालाई होँच्याउने, साथीका सामु बेइज्जत हुने किसिमले गालीगलौज गर्ने गर्नु हुँदैन । अझ तँ कहिल्यै सफल हुन सक्दैनस्, तैँले गरी खाँदैनस् भन्दै हतोत्साहित गर्ने काम त कहिल्यै गर्नुहुँदैन । विश्वका कैयौँ विद्वान्, वैज्ञानिक, उत्कृष्ट शिक्षक वा प्राध्यापक बाल्यकालमा पढाइमा कमजोर भएका प्रशस्तै उदाहरण छन् ।
२) छोराछोरीलाई अरुसँग तुलना नगर्ने
शिक्षाविद् जे कृष्णमूर्ति भन्छन्, बालबालिकालाई अरु कसैसँग दाँज्नु हुँदैन ।
हामी अभिभावक प्रायः ‘तिमीले र उसले एउटै विद्यालयमा पढेको, उसले कस्तो राम्रो ग¥यो, तिमी !’ जस्ता कुरा बालबालिकालाई सुनाउने गर्छौं । यो बिल्कुलै गर्न नहुने कुरा रहेछ ।
बालबालिकाका फरक–फरक रुचि, चाहना र इच्छा हुन्छन् । त्यही इच्छा र चाहनाले उनीहरूको पढाइलाई पनि निर्देशित गरेको हुन्छ । त्यसकारण ऊ आफैँ जस्तो बन्ने हो अरु कसै जस्तो होइन भन्ने कुरा अभिभावकले बुझ्न जरुरी छ ।
३) अभिभावक आत्मकेन्द्रित नहुने
खासगरी अहिले सहरी अभिभावक घरमा पस्नेबित्तिकै बाबा एउटा कुनामा, आमा अर्को कुनामा मोबाइल वा कम्प्युटर चलाएर बस्ने र बालबालिकालाई खासै ध्यान नदिने गरेको गुनासो प्रशस्तै सुनिन्छ । अभिभावक बढी आत्मकेन्द्रित भएर आफ्ना मात्र कुरा गर्ने, आफ्नो दुःख र इतिहास मात्र सुनाउने गर्छन् । उनीहरूलाई लाग्छ, यसले सन्तान अभिप्रेरित हुन्छन् तर बालबालिकाको कुरा नसुन्ने र आफ्ना मात्र कुरा सुनाउँदा बालबालिकामा यसको उल्टो असर परेका थुप्रै उदाहरण छन् हाम्रो समाजमा ।
छोराछोरी बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म विद्यालयमा बिताएर थकित भई घर फर्कन्छन् । उनीहरूको अपेक्षा हुन्छ, बाबाआमाले खानेकुरा दिउन्, थाकेकी छौ, एकछिन बस वा थकाइ मार भनुन् वा यस्तै मायालु कुरा गरुन् । त्यसैले सन्तानको अपेक्षा ख्याल गर्नु र मनका कुरा बुझेर व्यवहार गर्नु अभिभावकको कर्तव्य हुन्छ ।
विश्व आज पूर्ण त डिजिटल युगमा प्रवेश गरिसकेको छ । आजका बालबालिका यसैमा दिन बिताउन थालिसकेका छन् । यसबाट हाम्रो देश पनि अछुतो छैन ।
विद्यालय तहका बालबालिका समेत स्क्रिन (मोबाइल, टेलिभिजन, कम्प्युटर, ल्यापटप, आइप्याड)मा रमाउन थालेका छन् । हाम्रा बालबालिकालाई यसबाट छुटकारा दिलाउने कुरा सोच्नुभन्दा पनि यसलाई कसरी नियमन गर्ने, कसरी उनीहरूको हितमा प्रयोग गर्न सिकाउने आदिमा अभिभावकको ध्यान जान जरुरी छ ।
४) सन्तानको अगाडि झगडा नगर्ने
आमा बुबाको बेमेल र झगडाको कारणले दिक्क भई पढाइमा ध्यान केन्द्रित गर्न नसकेर पढ्न छाडेका मात्र होइन कि सानै उमेरमा सन्तानले घरै छोडेर हिँडेका थुप्रै उदाहरण छन् हाम्रो समाजमा । हो, पति पत्नीबिच सधैँ हाँसखेल र रमाइलो मात्र हुँदैन । व्यक्तिगत, घरायसी वा सामाजिक विषयमा हेर्ने दृष्टिकोण, विचार र तर्क फरक–फरक हुन सक्छन् । जसका कारण पति र पत्नीबिच आपसमा मनमुटाव हुन सक्छ । तर दुवैले यो बेमेल अस्थायी हो भन्ने कुरा बुझ्नु जरुरी छ । त्यसैले विमति भएका विषयमा छलफल वा तर्क वितर्क गर्नुपर्दा सन्तान नभएको समयमा गर्नु उपयुक्त मानिन्छ ।
५) झुटो नबोल्ने
धन, सम्पत्ति, शिक्षा, सामाजिक सम्बन्ध, राजनीतिक दल, दलमा आफ्नो संलग्नता जस्ता विषयमा सन्तानलाई सही नबताउने बानी छ भने त्यो तुरुन्तै बदल्नुपर्छ अभिभावकले । अचेल त हामी मोबाइलमा धेरै झुटो बोल्छौँ, जस्तै घरमै हुन्छौँ अनि भन्छौँ बाटोमा छु, जाममा फसेको छु । यी र यस्तै झुट बालबालिकाले सुनिरहेका हुन्छन् र सोच्छन् कि झुटो बोल्नु उपयुक्त हो ।
६) जबर्जस्ती दोषी करार नगर्ने
घर–परिवारमा कुनै घटना भयो या भनौँ गिलास फुट्यो, पानी पोखियो, धारा बन्द नगरेको पाइयो र यी कार्य गर्ने व्यक्ति पत्ता लाग्दैनन् अनि हामी बच्चालाई दोष लगाउँछौँ । पैसा हराए, उसले चोरेको, पानी पोखिए उसले पोखेको, फोहोर भए उसले गरेको आदि । उसैले गरेको भए त भइसकेको कार्यलाई धेरै उचाल्नु हँुदैन, किनकि दोषी पत्ता लाग्दैमा बिग्रिएको कुरा सप्रिँदैन । अभिभावकले जसले गरेको भए नि नराम्रो भयो, अबदेखि कसैले पनि यस्तो नराम्रो काम नगर्ने है भनेर समग्रमा सम्झाउनु उपयुक्त हुन्छ ।
७) अर्ती उपदेश मात्र नदिने
सन्तानलाई समय नदिने, उनीहरूसँग नबस्ने, संवाद नगर्ने, उनीहरूका कुरा नसुन्ने, सधैँ उपदेश मात्र दिने अभिभावकका कारणले पनि किशोर–किशोरी भड्कन्छन्् ।
८) एकोहोरो पढपढ मात्र नभन्ने
उनीहरूले मागेका वस्तुहरू नदिने, उनीहरूलाई मन पर्ने खेल, मनोरञ्जन दिने कार्य आदिमा रोक लगाउने अनि एकोहोरो पढ्पढ् मात्र भन्नेजस्ता कार्यले किशोरकिशोरी बेखुसी हुन्छन् । पढाइलगायत सबै क्षेत्रमा बालबालिकाको सहभागिता सुनिश्चित गर्नु एक अभिभावकको कर्तव्य हो । (रातोपाटीबाट साभार)
९) सन्तानको उपलब्धिमा जस नलिने
परीक्षामा प्रथम भएर आएको नानीलाई ‘तिम्रो मिहिनेतको फल, राम्रो ग¥यौ’ भन्नुको सट्टा ‘मैले ट्युसन पढाइदिएर प्रथम भयौ, नत्र त !’ जस्ता कुरा अभिभावकबाट पटकपटक सुनिन्छ । बालबालिकाको सफलता र उपलब्धिमा उनीहरूलाई नै जस दिनुपर्छ । अभिभावकले त्यसको हिस्सा खोज्नु उपयुक्त होइन ।
१०) बालबालिकालाई सोधिएको प्रश्नको उत्तर आफूले नदिने
घरमा आएका पाहुना वा अन्य कसैले बच्चालाई केही सोधेमा उसैलाई उत्तर दिन दिनुपर्छ । बच्चाले कहिलेकाहीँ उत्तर दिन ढिला पनि गर्न सक्छन्, ढिला भयो भनेर आफैँले उनीहरूको तर्फबाट उत्तर दिएमा उनीहरू निरास हुन्छन् ।
११) आफ्नो चाहना नलाद्ने
हामी अभिभावक आफ्ना सन्तानलाई यस्तो भाषा बोल, यो खाना खाउ, त्यो कपडा लगाउ, यो खेल खेल, त्यो नखेल, ऊसँग हिँड, ऊसँग नबोल आदि आफूलाई राम्रो लाग्ने कार्य गर्न र नराम्रो लाग्ने कार्य नगर्न दबाब दिने गर्छौं । यसो गर्नु सर्वदा बालबालिकाको अहितमा हुन्छ । हामीले उसको छनोटलाई प्राथमिकता दिनुपर्छ । सामाजिक मूल्य–मान्यता र अनुशासनहीन कार्यमा लागेको पाइएमा मात्र रोक्नु उपयक्त हुन्छ र त्यसको कारण समेत बताइदिनुपर्छ ।
१२) सन्तानसँग इगो नलिने
बालबालिकालाई केही कार्य गर्न भन्दा मानेन भने त्यो काम नगरी खान पाउँदैनस्, त्यो नगरे फलानो चिज किनिदिन्नँ वा बजार लैजान्न जस्ता कुरा गरेर उनीहरूलाई मन नलागेको काम गर्न बाध्य पार्नु हुँदैन । मैले धेरै देखेको छु कि अभिभावक बालबालिकालाई जबर्जस्ती सरी भन्न लगाउँछन् । ऊ सरी भन्न मानेको हुँदैन, अभिभावक उसले सरी नभनुन्जेल उसलाई भन् कि भन् भनिरहन्छन् । बालमनोविज्ञहरू भन्छन्— बालबालिकालार्ई सरी भन्न बाध्य पार्नु हुँदैन । एकपटक भन भन्दा भन्यो भने राम्रो, नत्र छाडिदिनुपर्छ ।
अन्त्यमा
बालबालिका हुर्काउने, पढाउने, सामाजिक मूल्य–मान्यता र संस्कृति सिकाउने काम विशेषगरी अभिभावकको जिम्मेवारीभित्र पर्छ । यसका लागि अभिभावकमा धैर्य, सहनशीलता, सद्भाव तथा विशेष ज्ञान, सीप र अवधारणा आवश्यक हुन्छ ।
बालबालिकासँग भएका विभिन्न छलफलबाट के निष्कर्ष निकाल्न सकिन्छ भने बालबालिकाका मानसिक, भावनात्मक, संवेगात्मक र व्यावहारिक समस्याहरू अधिकांश त अभिभावकको कारणले हुँदा रहेछन् । त्यसकारण बालबालिकालाई प्रेमिल र स्नेहपूर्ण व्यवहार गर्ने, उनीहरूसँग गफ र छलफल गर्ने, उनीहरूको स्वास्थ्य तथा सरसफाइमा ध्यान दिने, सन्तुलित तथा पोषिलो खाना खुवाउने, उनीहरूको पढाइमा निरन्तर ख्याल गर्ने, छोरा र छोरीलाई समान व्यवहार गर्ने, सकारात्मक अनुशासन सिकाउने र बालबालिकाका क्रियाकलापमा सहयोग तथा समर्थन गर्ने कार्य अभिभावकाको कर्तव्यभित्र पर्छ । (साभार रातोपाटीबाट)
१४ फाल्गुन २०८१, बुधबार ०३:२९