७ दिने मोबाइल फोटोग्राफी तालिम चौतारामा जनजाति समुदायका ३२ जना सहभागी

आईसिँ तामाङ,चौतारा सिन्धुपाल्चोक ।
‘सिप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने मूल नारासहित आदिवासी जनजाति समुदाय लक्षित सात दिने मोबाइल फोटोग्राफी तालिम चौतारा साँगाचोकगढी नगरपालिका–५ मा मंगलबार सम्पन्न भएको छ। तालिमको उद्घाटन विशेष ढङ्गबाट मोबाइलको बत्ती बालेर गरिएको थियो, जसले डिजिटल युगसँगै नयाँ सोच र सिर्जनशीलताको सन्देश दिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५ का वडाध्यक्ष शिव श्रेष्ठ रहनु भएको थियो भने सभाध्यक्षको भूमिका आदिवासी जनजाति महिला महासङ्घकी अध्यक्ष रिना श्रेष्ठले निर्वाह गर्नुभएको थियो। सात दिनसम्म सञ्चालित तालिममा ३२ जना सहभागीले मोबाइल फोटोग्राफीका विविध पक्ष सिकेका थिए। प्रशिक्षणमा सहभागीहरूलाई सिर्जनशीलता, फ्रेमिङ, लाइटिङ, सम्पादनजस्ता विषयमा व्यवहारिक अभ्यास गराइएको थियो। तालिममा उत्कृष्ट फोटो खिच्न सफल माया तामाङ र पूर्व तामाङलाई प्रशिक्षक प्रभात श्रेष्ठले व्यक्तिगत रुपमा नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको थियो। कार्यक्रममा सहभागिता जनाएका सम्पूर्णलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रमुख अतिथि शिव श्रेष्ठले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्दै यस्ता तालिमहरू आफैँलाई आत्मनिर्भर बनाउने माध्यम भएको धारणा राख्नुभयो। उहाँले स्थानीय सरकारले सिपमूलक तालिमप्रति सधैं सकारात्मक सहयोग रहने पनि स्पष्ट गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष रिना श्रेष्ठले सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै यस्ता तालिमहरू आगामी दिनहरूमा अझ व्यापक रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सशक्तिकरणको माध्यमका रूपमा सिप सिकाइलाई निरन्तरता दिनु आवश्यक रहेको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा विभिन्न संघसंस्था, समाजसेवी, सञ्चारकर्मी तथा समुदाय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम चौतारा साँगाचोकगढी वडा नं.५ को आर्थिक सहयोगमा समपन्न भएको हो । उक्त तालिमले सहभागीहरूलाई सिर्जनात्मक ढंगबाट आत्मविश्वास अभिवृद्धि गर्दै भविष्यमा पनि रोजगारी वा व्यवसायिक मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास आयोजकहरूको रहेको छ।

४ असार २०८२, बुधबार १२:१६