हेलम्बुमा कोदाको रक्सी संरक्षण समिति द्वारा पहिलो जिल्ला स्तरीय भेला

जनतापत्र, सिन्धुपाल्चोक –
नेपाली कोदाको रक्सी संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पहिलोपटक जिल्ला स्तरीय भेला सम्पन्न भएको छ। शनिबार आयोजित उक्त भेलाले परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोको रक्सीको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनमा ध्यान केन्द्रित गर्ने उद्देश्यले सो भेला आयोजना गरिएको थियो ।

भेलाले सूर्यमान तामाङको संयोजकत्वमा १३ सदस्यीय जिल्ला स्तरीय आयोजक समिति गठन गरेको छ। समितिमा कृष्णमान तामाङ, कालुमान तामाङ, देनम तामाङ, दावा तामाङ, जेगु तामाङ, ज्ञानेन्द्रबहादुर श्रेष्ठ, राम गोपाल श्रेष्ठ, कान्छामान तामाङ, सोमबहादुर तामाङ र विशाल तामाङ सदस्यको रूपमा चयन भएका छन्।

कार्यक्रममा केन्द्रीय संयोजक छिरिङ ग्याल्वो लामा, केन्द्रीय सदस्य रामचन्द्र पोखरेल र विकास थामीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै संयोजक छिरिङ ग्याल्बो लामाले कोदोको रक्सीलाई नोक्सान नगर्न सरकारलाई आग्रह गर्दै यसबारे स्पष्ट नीति निर्माण आवश्यक रहेको बताए। “राज्यले तत्कालै नीति निर्माण गरी परम्परागत र वैज्ञानिक विधिबाट उत्पादन हुने कोदाको रक्सीलाई संरक्षण गर्नुपर्छ,” उनले भने। साथै, कोदोको रक्सीको गुणस्तर मापनका लागि वैज्ञानिक विधि अपनाइनुपर्ने, उत्पादन उद्योगहरूलाई व्यवस्थित गर्न मापदण्ड तय गर्नुपर्ने र निर्यात तथा बजार व्यवस्थापनको सुनिश्चितता गरिनुपर्नेमा उनले जोड दिए।
लामाले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा संकलन केन्द्र स्थापना गर्नुपर्ने र बाँझो जमिनलाई उपयोग गर्दै सहकारी, समूह वा व्यक्तिगत रूपमा कोदोको खेती विस्तार गर्नुपर्ने प्रस्ताव राखे। “नेपाल सरकारबाट कोदो खेतीलाई अनुदान दिइनुपर्छ, साथै कम्पनी तथा उद्योग स्थापनाका लागि सहुलियत ऋणको व्यवस्था मिलाइनुपर्छ,” उनले भने।
जडिबुटी मर्चा उत्पादन गर्ने उद्योगहरूलाई पनि सहुलियत ऋणको व्यवस्था मिलाइनुपर्ने माग राखियो। साथै, आगामी आर्थिक वर्षदेखि नै कोदोको रक्सीसम्बन्धी स्पष्ट कानुनी संरचना बनाई कार्यान्वयनमा ल्याइनुपर्नेमा वक्ताहरूको जोड रहयो

परम्परागत तरिकाले कोदो र मर्चाबाट बनाइएको रक्सीको विक्रि वितरणमा रोक नलगाउन आग्रह गर्दै संयोजक लामाले अन्य अखाद्य बस्तु मिसावट गरिएको रक्सीको उत्पादन तथा बिक्री वितरणमा कडाइका साथ अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।
कार्यक्रममा सहभागी वक्ताहरूले कोदोको रक्सी केवल एक पेय पदार्थ नभई नेपालको ग्रामीण संस्कृति, परम्परा र आर्थिक क्रियाकलापको महत्वपूर्ण अंश रहेको बताए। उनीहरूले यसको संरक्षणलाई ग्रामीण समृद्धिको आधारको रूपमा समेत व्याख्या गरे।
भेलाको सफलतापूर्वक सम्पन्नतासँगै सहभागीहरूबीच कोदाको रक्सीको कानुनी मान्यता, गुणस्तर, व्यवसायिक विस्तार र सांस्कृतिक पहिचानलाई एकसाथ जोड्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरिएको छ। कार्यक्रममा उपस्थित सहभागीहरूले मेलाको निरन्तरता आवश्यक रहेको र आगामी दिनमा राष्ट्रिय स्तरमा समेत यस्ता कार्यक्रमहरू आयोजना गर्नुपर्ने सल्लाह दिएका छन्।

३२ जेष्ठ २०८२, शनिबार १९:५३