/*php the_title();*/?>


जनतापत्र, काभ्रे ।
काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका वडा नं ७ र ८ बीच लामो समयदेखि रहँदै आएको सिमाना तथा लालपुर्जा सम्बन्धी विवाद अन्ततः समाधान भएको छ । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको पहल र स्थानीय तहको सक्रियतामा भएको सहमतिले पुर्जा विहिन नागरिकले लालपुर्जा प्राप्त गरेका छन् ।

मंगलवार गाउँपालिकाको प्राङ्गणमै विशेष समारोहको आयोजना गरी ३७८ जनालाई लालपुर्जा वितरण गरिएको हो। समारोहका प्रमुख अतिथि, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका मन्त्री माननीय बलराम अधिकारीले गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष र सरोकारवाला निकायको समन्वयमा लामो विवादपछि पुर्जा वितरण हुनुले स्थानीयलाई कानुनी अधिकार सुनिश्चित भएको बताएका छन्। वडा नं ८ का २०४ र वडा नं ७ का १७४ घरधुरीलाई एकैपटक लालपुर्जा वितरण गरिएको छ । थप व्यक्तिले प्रकृया अनुसार क्रमशः लालपुर्जा हातमा पाउने छन् ।

सोही पालिकाका वडा नम्वर ८ का अध्यक्ष मोतीलाल तामाङले सिमा विवादलाई समाधान गर्न माकुरा समूह र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको भूमिका प्रशंसनीय रहेको बताए । सुरुमा यस माकुराले सिमाना सम्बन्धि विवादको सहजिकरण नगरेको भए पुर्जा वितरण गर्न नसकिने धारणा व्यक्त गरे । अहिले धमाधम पुर्जा वितरणको काम भइरहेको उनले बताए ।

सोही पालिकाका वडा नम्वर ७ का अध्यक्ष रमेशराज खरेलले लामो समयदेखि भएको विवाद माकुरा समूहले सहमति गरायो जसले गर्दा पुर्जा वितरण सम्भव भएको जानकारी दिए । उनले भने माकुरा समूहले वाटो देखायो , सवै जनप्रतिनीधि र सरोकारवालाहरु हिँडे र पुर्जा वितरण सम्भव भएको बताए ।
हाल पहिलो चरणमा ३७८ घरधुरीले लालपुर्जा पाए पनि अझै बाँकी प्रक्रियाहरू अघि बढाउनुपर्ने गाउँपालिकाले जनाएको छ । बाँकी जग्गाधनी प्रमाणपत्र वितरण गर्न आवश्यक बजेट, नापजाँच र कानुनी प्रक्रियामा निरन्तर काम भइरहेको जानकारी दिइएको छ ।

पुरानो विवाद, पुरानो पीडा
यस विवादको बीउ २०३२-३३ सालमा नापी हुँदा रोपिएको थियो। सो समयमा भुम्लुटार र फलाँटे गाविसबीचको सिमानामा जग्गा नाप्ने क्रममा झगडा चर्कियो । फलाँटेका केही व्यक्तिले कुटपिट गरेपछि अवस्था बिग्रियो । त्यसपछि दुवै गाउँका मानिसबीच ठूलो झडप भयो, थुप्रै घाइते भए, अस्पतालमा भर्ना गर्नुप¥यो ।
त्यसपछि नापी टोली काम अधुरै छाडेर अन्यत्र गयो । समस्या समाधानका लागि तत्कालीन प्रशासनले समितिसमेत बनायो, तर समाधान भएन । २०३४ सालमा दुवै गाविसलाई एउटै गाउँपञ्चायतमा मिलाएर पिपलटार बनाइयो। तर, विद्यालय, बाटो र विकास योजनाका कारण फेरि झगडा बढ्यो। २०३७ सालमा त फेरि दुवै छुट्टै गाविस बनाए पनि विवाद झन् चर्किँदै गयो ।
दशकौँदेखि गाँसिएको यस विवादका कारण दुई गाउँबीच आवतजावत समेत बन्द भयो । फलाँटे गाउँका बासिन्दाले दोलालघाट जाने बाटो छाडेर टाढाको तिमालको बाटो हुदैं हिंड्नुपर्ने अवस्था आयो। आपसी अविश्वास यति बढ्यो कि एक अर्काको नाम सुन्नासमेत अप्ठ्यारो मानिन्थ्यो।

रुपान्तरणको प्रयास
संघीय संरचना आउँदा स्थानीय सरकार बनेपछि यो विवाद फेरि वडा कार्यालयसम्म पुगेको थियो। त्यसपछि भुम्लु गाउँपालिका वडा नं ८ बाट संस्थालाई सहजीकरणको औपचारिक अनुरोध आयो । २०७५ कार्तिक १८ गते ३८ जनाको सहभागितामा पहिलो बैठक बस्यो। त्यहाँ विवादित पक्षका प्रतिनिधि, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, जिल्ला प्रशिक्षक र सरोकारवाला निकाय उपस्थित थिए । त्यस पछि द्धन्द्ध रुपान्तरण प्रकृया अनुसार काम भयो । पटकपटकको सम्वादवाट सवाल पहिचान गर्दै सर्वपक्षियरुपमा सहमति भएको थियो ।
सहमतिका मुख्य बुँदा
माकुरा समूहको सक्रियतामा छलफल हुँदै २०७६ बैशाख ३१ गते बिकल्प पारितको संयुक्त वैठक गरियो । प्रमुख बुँदाहरू यसप्रकार छन् ः
– फलाँटे को उत्तर पट्टिको सिमाना
“भुम्लु मिलडाँडा हुँदै आख्यावती खोला, हेमशंखर गिरिको घरवारी छोडेर सल्ले जाने मोटरबाटो माथि भुम्लुटार मोटरबाटो तलतिर फँलाटे हुँदै जिरोकिलो डाडो काफलबोटे जंगलको ठाडोवाटो तल फलाँटे कैदाले जाने मोटरबाटो हुदै पञ्चराम तामाङको घर पछाडी बाँसको झाङ हुँदै धुर्सेघारी डाडाखेत सार्वजनिक स्थान हुँदै लोकमार्ग कटुवा खोला हुदै सुमनटार कुलो पाइपलाइन हुदै सुनकोशी नदि”
– घर जता छ त्यहि यथावत राख्ने ।
– सिमाना यकिन गर्दा सिमानामा पर्नै जग्गाहरु कुन व्यक्तिको कुन वडा मा बढी जग्गा पर्न जान्छ त्यहि वडामा जग्गा पर्ने गरि नापी गर्ने ।
-सिमानामा पिलर गाड्ने ।
– ताप्लुङ डाँडाको पाखो चरिचरणको लागि दुवै वडाको नागरिकलाई खुल्ला रहने ।
प्राकृतिक श्रोत साधनहरु परापुर्वकालदेखि नै उपभोग गरे अनुसार नै उपभोग गर्ने ।
कार्यान्वयनको स्थिति
सहमतिको आधारमा अहिले केही बुँदाहरू पूर्ण कार्यान्वयन भइसकेका छन्। घर यथावत राख्ने, चरिचरण साझा गर्ने र प्राकृतिक स्रोत उपयोग गर्ने विषयमा कुनै समस्या छैन । जिल्ला नापी कार्यालयले अमिन पठाएर केही काम सुरु भएको र लालपुर्जा वितरण कार्य धमाधम भइरहेको छ ।
माकुरा समूहको सक्रियता
यस प्रक्रियामा माकुरा समूह विशेष रूपमा उल्लेखनीय छ । उनीहरू गाउँपालिकाको न्यायिक समितिसम्म सूचीकृत छन् । वडामा आउने विवाद समाधानका लागि समूहका सदस्यलाई बोलाइन्छ । उनीहरूको पारदर्शिता र निष्पक्ष भूमिकाका कारण समुदायमा विश्वास बढेको छ। लालपुर्जा प्राप्त गरेपछि स्थानियहरु माकुरा प्रति आभारी देखिन्छन् ।
लामो समयदेखि गाँसिएको भुम्लु गाउँपालिकाको विवाद अहिले समाधानतर्फ उन्मुख छ । माकुरा समूह र स्थानीय सरकारको सहकार्यमा बनेको सहमति अहिले सामाजिक सहमति बनेको छ । पुर्जा विहिन हुनेहरुको कथा फेरिएको छ । हातमा लालपुर्जा प्राप्त भएको छ ।
६ भाद्र २०८२, शुक्रबार १४:०२