सिन्धुपाल्चोकको इन्द्रवतीमा तामाङ समुदायको गोले बंशका प्राचीन बोन्वोको सालिक अनावरण

जनतापत्र,इन्द्रावती सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–८, ज्यामिरेमानेमा तामाङ समुदायको गोले बंशका प्राचीन बोन्वोको पूर्णकदको सालिकको अनावरण गरिएको छ।
जनैपूर्णिमा २०८२ को अवसरमा भएको यो कार्यक्रममा गाउँपालिका, वडा कार्यालय र गोले तामाङ वंश उत्थान समाजको सहयोगमा उक्त सालिक निर्माण भएको हो।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, गोले तामाङ वंश उत्थान समाजका अध्यक्ष मीन प्रसाद गोले र निवर्तमान अध्यक्ष बंशलाल तामाङले संयुक्त रूपमा सालिकको उद्घाटन गर्नुभएको थियो।
नवलपुर घ्याङ गुठीका प्रमुख लोपेन बुझुङ लामाले बौद्ध परम्पराअनुसार प्राण प्रतिष्ठा (ह्राप्ने) गरेर सर्वसाधारणका लागि खुला गर्नुभयो।
सालिक संसारभरका गोलेहरूका लागि तीर्थस्थल बन्ने र यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। यसैगरी, यो सालिक मानवशास्त्री र समाजशास्त्रीहरूका लागि पनि अध्ययनको केन्द्र बन्न सक्ने बताइएको छ। सालिक निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाहरूलाई सम्मान पनि गरिएको थियो।

२८ श्रावण २०८२, मंगलवार ०८:४८