सहकारी ठगी प्रकरणलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रित गर्ने प्रयासप्रति प्रधानमन्त्री ओलीको आपत्ति

जनतापत्र, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणलाई राजनीतिक प्रतिशोधको रूपमा प्रस्तुत गर्ने प्रयासको कडा विरोध गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरलगायत दर्जनौं व्यक्ति हाल थुनामा रहेको तथ्य प्रस्तुत गर्दै, यदि एक व्यक्तिमाथि प्रतिशोध भएको हो भने बाँकी सबैमाथि पनि त्यस्तै भएको हो र भन्ने प्रश्न उठाए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध लिएको आरोपप्रति प्रतिक्रिया जनाउँदै, अदालतको कामकाजलाई सरकारले निर्देशन दिएको जस्तो भ्रम फैलाउने प्रयास गलत भएको स्पष्ट पारे। “भिडद्वारा न्यायको हत्या गरेर अभियोगबाट मुक्त हुन खोज्नेहरूको पछि लाग्ने भीड अचम्मको मात्र होइन, दया लाग्ने खालको छ,” ओलीको टिप्पणी थियो।

प्रधानमन्त्रीका अनुसार सहकारीमा भएको अर्बौं रुपैयाँको अपचलनमा संलग्न सयौं व्यक्तिमाथि मुद्दा दर्ता भई कानुनी प्रक्रिया अगाडि बढिरहेको छ। उनले अदालतले पूर्वमन्त्रीदेखि बहालवाला मेयरसम्मका व्यक्तिहरूलाई थुनामा पठाएको उदाहरण दिँदै, कुनै एक व्यक्तिमाथि मात्र राजनीतिक प्रतिशोध भएको भनेर “जबरजस्ती गलत भाष्य” निर्माण गर्न खोजिएको आरोप लगाए।

उनको भनाइमा, सहकारी बचत हिनामिना गर्नेहरूमाथि मुद्दा चल्नु कानुनी प्रक्रिया हो, तर यसलाई राजनीतिक रंग दिने प्रवृत्ति न्याय र सत्य दुवैको अपमान हो।

२९ श्रावण २०८२, बुधबार १४:२२