/*php the_title();*/?>

नेपालमा सहकारी संस्था महिलाहरूका निम्ति अवसरसमेत सावित भएका छन् । सहकारी संस्थाको रोजगारीमा ४८ प्रतिशत महिला छन् । अन्य रोजगारीका क्षेत्रमा महिला सहभागिता यति ठुलो छैन । सहकारी संस्थामा केही समस्याहरू पनि छन् तर हालसम्म महिलाहरूले सञ्चालन गरेको सहकारी संस्थामा कुनै पनि आर्थिक अनियमितताको खबर प्राप्त भएको छैन ।

गोमा नेपाल
सन् १८४४ मा बेलायतमा पाउरोटी कारखाना खोलेर सहकारिताको नयाँ अध्याय सुरु गरेको इतिहास भेटिन्छ भने नेपालमा २०१० सालमा योजना तथा विकास मन्त्रालयअन्तर्गत सहकारी विभागको स्थापना भएको थियो । २०११ सालको वर्खायाममा आएको भीषण बाढीका कारण चितवनका जनताहरू घरबारविहीन भएका थिए । यसैको सेरोफेरोमा रहेर अमेरिकी सरकारको सहयोगमा स्थापित राप्तीदुन बहुमुखी विकास आयोजनाको स्थापना भएको थियो जसको सहयोगमा २०१३ सालमा चितवनको शारदानगरमा बखान ऋण सहकारीको स्थापना भयो जुन नेपालको मान्यता प्राप्त पहिलो सहकारी संस्था हो ।
नेपालमा सहकारीको इतिहास करिब ७२ वर्ष लामो छ । सहकारी विभागद्वारा २०७७ सालमा प्रकाशित तथ्यांकअनुसार देशमा ३४ हजार ५१२ सहकारी संस्था छन् । जसमा ७३ लाख ७ हजार ४६२ सदस्य छन् । जसमध्ये महिला सदस्यको संख्या ५६ प्रतिशत रहेको पाइन्छ । जनसंख्याको अनुपातमा सहकारी क्षेत्रमा महिलाको सहभागिता कमजोर छैन भन्ने कुरा यो तथ्यांकले देखाउँछ । महिलाले मात्र सञ्चालन गरेका सहकारी संस्थाको संख्या ४ हजार ५०० भन्दा बढी छन् । सहकारी संस्था सञ्चालनमा महिलाहरू सक्षम छन् भन्ने पुष्टिसमेत विभिन्न इन्डिकेटरले गरेका छन् । पहिलो कुरा त महिलाको मात्रै सहभागिता रहेका सहकारी संस्थाहरू संकट ग्रस्त छैनन् । दोस्रो कुरा महिलाले नेतृत्व गरेका वा महिला सहभागिता धेरै भएका सहकारी संस्थाहरू पनि खासै संकट ग्रस्त छैनन् ।
नेपालमा सहकारी संस्था महिलाहरूका निम्ति अवसरसमेत सावित भएका छन् । सहकारी संस्थाको रोजगारीमा ४८ प्रतिशत महिला छन् । अन्य रोजगारीका क्षेत्रमा महिला सहभागिता यति ठूलो छैन । सहकारी संस्थामा केही समस्याहरू पनि छन तर हालसम्म महिलाहरूले सञ्चालन गरेको सहकारी संस्थामा कुनै पनि आर्थिक अनियमितताको खबर प्राप्त भएको छैन । खासगरी महिला आफ्नो पेसा र दायित्वप्रति इमानदार हुने भएकाले पनि सहकारीमा कम समस्या देखिने गरेको सन्देश प्रवाह भएको छ । पारदर्शिता, लगनशीलता र अनुशासनको मामिलामा पुरुष सहकारीकर्मीको तुलनामा महिला सहकारीकर्मी अब्बल सावित भएका छन् ।
पहिलो कुरा त सहकारीले वचत गर्न सिकाउँछ, दोस्रो कुरा मितव्ययी ढंगबाट खर्च गर्न सिकाउँछ । तेस्रो कुरा उद्यम सिकाउँछ । चुलो चौकोमा सीमित हुने महिला सहकारीमा लागेपछि उनीहरूको जीवन स्तरमा बिस्तारै सुधार आउन थालेको छ । २–४ पैसाका लागि श्रीमानसँग हात थाप्नुपर्ने स्थिति छैन । नेतृत्व क्षमताको पनि विकास भएको छ ।
सहकारी अभियानमा महिलाको संलग्नता बारे विश्लेषण गर्नुपर्दा सबैभन्दा सुखद् तथा दूरगामी महत्वको पाटो भनेको युवा सहभागिता हो । सहकारी संस्थाममा जति पनि महिलाको सहभागिता छ उनीहरू मध्ये ८० प्रतिशत महिला युवा छन् । सहकारी संस्थाहरूका युवा महिलाहरूको ठुलो बाहुल्यता हुनुको पनि खास कारण छ । हाम्रो देशमा छोरीलाई पनि पढाउने प्रचलन सुरु भएको धेरै पछि हो । त्यसैले अहिलेका प्रौढ महिलाहरूले आफ्नो जमनामा शिक्षा आर्जनको अवसर पाएनन् । नयाँ पुस्ताका महिलाहरूले भने पुरुषसरह नै शिक्षा आर्जनको अवसर पाए । यसैगरी युवा पुरुषहरू उल्लेख्य संख्यामा वैदेशिक रोजगारीमा गएका छन् । स्वदेशमै रहेका धेरैजसो युवा पुरुषहरू अन्य क्षेत्रको रोजगारीमा संलग्न छन् ।
पुरुषको तुलनामा महिलालाई रोजगारीका अवशरहरू कम छन् । जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरूलाई सरकारी जागिरमा बल्लतल्ल ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । सरकारी जागिरमा पनि सुरक्षा निकायमा महिला सहभागिता नाम मात्रैको छ । निजी क्षेत्रमा त सकेसम्म महिलालाई रोजगारी नदिने अघोषित परम्परा जारी छ । शारीरिक बल बढी प्रयोग हुने तथा कतिपय जोखिमपूर्ण काममा महिलाको सहभागिता करिबकरिब असंभवजस्तै छ । उदाहरणका लागि हिमाल आरोहण, ट्रेकिङ, भौतिक पूर्वाधार निर्माण लगायतका काममा महिला सहभागिता सहज छैन । त्यसैगरी प्लम्बिङ, बिजुलीको वायरिङ, रंगरोगन लगायतका काममा पनि महिलाको सहभागिता कम छ । कतिपय निजी क्षेत्रका रोजगारीमा महिलाको सहभागिता नभएको होइन तर पुरुषको तुलनामा ज्याला कम छ, आम्दानी थोरै छ । त्यसैले सहकारी क्षेत्र महिलाका लागि अवसर हो ।
नेपाली राजनीतिमा महिला सहभागिता ह्वात्तै बढ्नुको मुख्य कारण संवैधानिक तथा कानुनी प्रावधान हो । तर सहभागी महिलाहरूमा नेतृत्व क्षमता तथा कार्यकुशलतामा वृद्धि हुनुको पछाडि सहकारी मुख्य कारण हो । अहिले राजनीतिक पदहरूमा जे जति महिलाहरू छन्, उनीहरूको पृष्ठभूमि हेर्ने हो भने ८० प्रतिशत महिलाहरू कुनै न कुनै कालखण्डमा सहकारी संस्थामा सक्रीय रहेको देखिन्छ ।
हाम्रो पितृसत्तात्मक समाजमा महिलाले पनि सक्छिन् र रु घरबाट छुट देलान् र रु कार्य सम्पादनका लागि समय दिन सक्लिन् र रु भन्ने जस्ता सोच जीवितै छन् । यसबाहेक महिलाहरूले दोहोरो तेहरो भूमिका निर्वाह गर्नु परिरहेको छ । सन्तान जन्माउनु, हुर्काउनु, परिवारको रेखदेख, सामाजिक राजनीतिक भूमिका र आयआर्जनका कामहरूसँगै गर्नुपरेकाले उनीहरू दबाबमा छन् । यस्ता विविध समस्याका कारण महिलाहरू अघि बढ्न सकेका छैनन् । सहकारीले लक्षित वर्गलाई अझै समेट्न सकेको छैन । ग्रामीण र विकट क्षेत्रमा काम गर्ने सहकारीहरूको अझै खाँचो छ । महिलाहरूलाई वित्तीय र प्राविधिक सहयोग आवश्यक छ । प्रविधिको प्रयोगमा महिलाहरूको पहुँच बढाउनुपर्ने देखिन्छ ।
सहकारीका सदस्यमा ५६ प्रतिशत महिला सहभागिता भए पनि नेतृत्वमा सहभागिता न्यून छ । सहकारी क्षेत्रका महिला अभियन्ताहरूले प्राप्त उपलब्धिको जर्गेना गर्दै आगामी दिन अझ सक्रियताका साथ कर्तव्य निर्वाह गर्नुपर्ने आवश्यकता छ ।
विशेषगरीे तत्कालीन सरकारले महिला विकास अभियान अगाडि बढाउने सन्दर्भमा २०३९÷०४० तिर ग्रामीण महिलाका लागि उत्पादन ऋण व्यवस्थापन कार्यक्रम विभिन्न जिल्लामा सञ्चालनमा ल्याएको थियो । जुन २०३८ सालमा हरेक जिल्लामा स्थापना गरिएका महिला विकाश शाखामार्फत सञ्चालित गरिएको पाइन्छ । पछि २०४६ सालको जनआन्दोलनपश्चात देशमा बहुदलीय व्यवस्थाको पुनःआगमनपश्चात महिलाहरूको सशक्तीकरण, आत्मनर्भिरता र अधिकारका क्षेत्रमा कार्य गर्ने गरी सरकारी तथा गैरसरकारी क्षेत्रबाट पनि विभिन्न कार्यक्रमहरू सञ्चालनमा आए ।
यसरी संगठित गरिएका समूहहरूलाई दिगोपन दिन, उनीहरूले गरेका बचत रकमहरूको सुरक्षा प्रदान गर्नका लागि स्थायी प्रकृतिका संस्थागत संरचनाको आवश्यकता महसुस गरियो परिणाम स्वरूप महिला सहकारी संस्थाहरूका नामबाट सहकारीहरूको स्थापना र सञ्चालनका लागि प्रेरणा प्रदान गर्ने कार्यहरू भए र देशका विभिन्न स्थानमा महिला विकास सहकारी संस्थाहरू अधिकांश रूपमा बचत तथा ऋण र केही बहुउद्देश्यीयलगायत अन्य विषयगत उद्देश्यबाट समेत स्थापनाको लहर नै चल्यो । तर आशातित उपलव्धिका लागि चुनौतीहरू धेरै छन् । (सौर्य अनलाइनबाट साभार)
१९ असार २०८२, बिहीबार १३:५२