विद्यालय शिक्षा सुधारका लागि १२ बुँदे सुझावपत्र पेश

जनतापत्र, सिन्धुपाल्चोक ।पुर्वमन्त्री शेरबहादुर तामाङले विद्यालय शिक्षा सुधारका लागि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा १२ बुँदे सुझावपत्र पेश गरेका छन्। विहानी सिफ्टमा कक्षा सञ्चालन, व्यावसायिक तालिम, नैतिक शिक्षा, शिक्षक सरुवा प्रणाली सुधार लगायतका विषयमा कानुनी व्यवस्था गर्न सुझाव दिइएको छ।

माननीय सभापति ज्यु,

शिक्षा स्वास्थ तथा सूचना प्रविधि समिति

विषय : विद्यालय शिक्षामा सुधार ।

सभापति ज्यु

उपरोक्त सम्बन्धमा संसदको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक २०८० छलफलको क्रममा रहेको सर्वविदित्तै छ । विगत लामो समयदेखि विद्याल शिक्षा सम्बन्धि कानुनलाई एकिकरण र शंसोधन गर्न समेत नसकिरहेको परिप्रेक्षामा संसदमा यो कानुनको बारेमा छलफल हुनु निकै सकरात्मक विषय हो । संघिय सरकारले विद्यालय शिक्षा ऐनलाई छिटै ल्याउन नै यो विधेयकलाई संसद सम्म ल्याएको देखिन्छ । हलसालै शिक्षकहरुले यसै विधेयक छिटो पारित गर्नका लागि आन्दोलन समेत गरेर सरकारसंग ९ बुंदे सहमति समेत गरेको छ । विद्याल शिक्षालाई सुधार गर्न केवल विद्यालय शिक्षासंग जोडिएका शिक्षक र कर्मचारीहरुको सुविधा बढाएरमात्र विद्यालय शिक्षा सुधार हुँदैन । सुविधा बढाउनु शिक्षा सुधारको एक सानो अंशमात्र हो । तसर्थ अहिले शिक्षा विधेयकको छलफलको क्रममा शिक्षा सुधारको ठुलै अपरेशनको जरुरी छ । यस पटक कानुन बनाउने क्रममा चुक्यौं भने लामो समय फरी शिक्षा सुधानको बहस समाप्त हुनेछ । तसर्थ कानुन बनाउने क्रममा देहायका विषयहरुलाई ध्यानमा रखेर कानुन बनाउनु हुन सुझाव प्रस्तु गर्दछु ।

१. विद्यालय शिक्षाको समय परिवर्तन गरेर विहानी शिफ्टमा चलाउँ ।

म यहाँ यसरी समय परिवर्तन गर्दा हुने फाईदाहरु प्रस्तुत गर्न चहान्छु ।

क. हरेक अभिभावक र बालबच्चाहरु बिहान ढिलोमा ५ बजे नै उठिसक्नेछन् । बालबच्चालाई तयारी गरी खाजा खुवाएर ६ बजे नै विद्यालय पठाएपछि अभिभावकहरु बिहानको पुजापाठ, ब्यायामादी कार्यक्रम गर्न र घरमा गर्नुपर्ने कृषि वा अन्य अफिसियल काम गर्न पनि पर्याप्त समय

मिल्नेछ । बिहान चाँडो उठ्नु भनेको त्यसैपनी स्वास्थको लागि राम्रो त हुने नै भयो ।

ख. बालबच्चालाई दिवा खाना विद्यालयमा नै सामुहिक मेसमा गर्ने । अहिले दिवा खाजाको ब्यबस्था सरकारले गरेको छ । त्यसमा अलि थप गरेर ब्यबस्थापन गर्न सकिन्छ । त्यसमा अभिभावकबाट पनि उठाउन सकिन्छ । निम्न र गरिव परिवार छनौट गरि त्यस्ता परिवारलाई सरकारले ब्यबस्थापन गर्नेगरी ब्यबस्थापन गर्ने । यसरी सामुहिक रुपमा खाना खुवाउने ब्यबस्थाले जातीय छुवाछुत अन्त्य हुनेछ । कक्षा अनुसार ५ देखि १० कक्षा सम्मका विद्यार्थीहरुलाई एक/एक दिन सामुहिक रुपमा खाना बनाउने काममा लगाउने (एक महिनामा एक कक्षालाई ४ दिन मात्र पर्नेछ) । यसले सामुहिक रुपमा काम सिक्नेछ । काम प्रतिको दायित्वबोध बढ्नेछ । यसलाई बालश्रम नभन्नुहोला । किनकी विद्यालयहरुमा स्काउट ट्रेनिङ्गको नाममा अहिलेपनि यस्तै ब्यबहारिक ज्ञान् सिकाउने गरिन्छ । विद्यालयबाटै श्रम प्रतिको सम्मान र लगाव बढ्नेभएपछी एक जिम्मेवार पुस्ताको निर्माण हुनेछ । छुवाछुत मुक्त समाज निर्माण समेत हुनेछ । यस कामलाई प्राक्टिकल ईन्टर्नको रुपमा शर्टिफिकेटमा नम्बरिङ् समेत गर्ने व्यवस्था गर्ने

ग. शिक्षकहरु अनिवार्य विद्यालयमा उपस्थित हुनेछन । ग्रामीण क्षेत्रका शिक्षकहरु आफ्नो घरयासी कृषी पेशामा संलग्न हुँदा विद्यालयमा कम उपस्थित हुन्छन भन्ने जनगुनासो रहेको छ । दिउँसो एक बजेपछी आफ्नो घरको काम गर्न पर्याप्त समय हुनेहुँदा सबै शिक्षक विद्यालयमा आफ्नो काममा लाग्ने दर बढ्नेछ । साथै सहरी क्षेत्रका शिक्षकहरुलाई पनि एक बजेपछी आंशिक समय (Part Time) बैकल्पिक पेशा गर्ने अवसर पाउनेछ । सरकारले आयोजना गर्ने शिक्षक तालिमहरु पालिकाभित्र र सहरी क्षेत्रमा दिउँसो दुई बजेपछिमात्र आयोजना गर्दा विद्यालयबाट शिक्षकले बिदा लिनु पर्दैन ।

घ. काठमाण्डौं उपत्यकामा यातायात जाम हुने समस्यामा धेरै हसम्म कमि आउने छ ।

२. व्यवसायीक शिक्षा : विद्यालयलाई ब्यबसायीक कृषिसिकाउने थलोको रुपमा विकास गर्ने र व्यावसायिक तालिमको केन्द्र बनाउने । दुईबजेपछी खालीहुने विद्यालय भवनलाई व्यावसायिक तालिमको केन्द्र बनाउने । ८-१२ सम्मका विद्यार्थी र गाउँका अन्य ब्याक्तीहरुलाई व्यावसायिक तालिम दिने संस्थाको रुपमा विद्यालय भवनलाई प्रयोग गर्ने । यसो गर्दा समाजका हरेक नागरिक तालिम प्राप्त दक्ष जनशक्तिको रुपमा विकास हुनेछ ।

३. नैतिक शिक्षा : . विद्यालय शिक्षामा नेपाली “Moral and Values” पढाउने गरी नैतिक शिक्षाको पाठ्यक्रम तयार अनिवार्य गर्ने । जसले देशप्रती जिम्मेवार नैतिकवान नागरिकको जन्म हुनेछ । अराजक, उच्छृङ्खल र गैरजिम्मेवार नागरिकको साटो स्वाभिमानी, जिम्मेवार र नैतिकवान नागरिक आजको आवश्यकता हो

४. समृद्ध राष्ट्र निर्माण गर्ने आधार नै शिक्षा भएकोले विद्यालय शिक्षादेखि नै नेपाली उत्पादन, नेपालको माटो, नेपालको प्राकृतिक साधन स्रोत र नेपालमै हुने आम्दानीको बारेमा पढाउने व्यावसायिक शिक्षाको पाठ्यक्रम तयार गर्ने ।

५. डिप्लोमा पास गरे पछि मात्रै नेपाली विद्यार्थीहरू विदेशमा पढ्न जाने व्यवस्था मिलाउने ।

६. विदेशी युनिभर्सिटीको सम्बन्धन प्राप्त कलेजहरूले जति पनि विद्यार्थी भर्ना गर्न पाउने तर नेपालका युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेजहरूलाई सीमित कोटा तोक्ने र नियोजन गर्ने कुरा तत्काल बन्द गर्नुपर्ने ।

७. विद्यालयहरूको तत्काल म्यापिङ थाल्ने र विद्यालयहरूलाई मर्ज गरेर आवासीय सुविधासहितको बिग स्कुलको अवधारणा लागु गर्न कानुनी व्यवस्थ गर्ने ।

८. विद्यालय भवनहरुलाई दिउँसोको सिफ्टमा व्यावसायिक तालिम केन्द्रको रुपमा विकास गर्न कानुनी व्यवस्था गर्ने ।

९. काम गर्दैछ पढ्दैछ कार्यक्रमको बारेमा सरकारको नीति तथा कार्यक्रममा आइसकेकोले यसलाई कानुनी प्रबन्ध मिलाउने ।

१०. प्राविधिक तथा व्यावसायिक शिक्षालाई व्यवस्थापन गर्न कानुनी व्यवस्थ गर्ने ।

११. सबै शिक्षक कर्मचारी तथा सरकारी तलब भत्ता खाने व्यक्तिहरूले सार्वजनिक विद्यालयहरूमा बालबच्चा पढाउनुपर्ने व्यवस्था लागू गर्ने ।

१२. शिक्षकहरुलाई निजामति सरह शुविधा दिएर निजामती सरह नै जिल्ला जिल्ला अन्तर हुने गरी ब्लक सरुवा गर्ने विधि स्थापित गर्न कानुनी व्यवस्था गर्ने ।

शेर बहादुर तामाङ्ग

पुर्व मन्त्री तथा स्थायी कमिटी सदस्य

नेकपा (एमाले)

२५ बैशाख २०८२, बिहीबार ११:४५