/*php the_title();*/?>


डबल महतारा
वास्तवमा राजनीति र शिक्षा एकअर्कामा अन्तर्सम्बन्धित छन् । राजनीतिका लागि शिक्षा र शिक्षाका लागि सही राजनीतिको खाँचो पर्छ । शिक्षा भनेको कुनै पनि शैक्षिक संस्था वा स्वाध्ययनबाट प्राप्त गर्ने ज्ञान, क्षमता, बुद्धिविवेक हो । जस्तो राजनीति छ, समाजमा त्यस्तै खालको शिक्षामा प्रभाव परेको हुन्छ । राजनीति भनेको कुनै पनि राज्यको शासन व्यवस्था निर्धारण गर्ने प्रणाली वा नीति हो । यसमा शिक्षानुसारको राजनीति प्रणाली लागु भएको हुन्छ ।
विश्वमा विभिन्न खालका राजनीतिक प्रणाली रहेका छन् । तिनीहरूको मुख्य स्रोत भनेको शिक्षा हो । उनीहरूले कुन खालको शिक्षा ग्रहण गरेर नीति निर्माण तहमा पुगेका हुन् भन्ने नै प्रमुख प्रश्न हो । विश्वमा शैक्षिक मोडलहरू पनि फरक–फरक छन् । कुनै ठाउँमा समाजवादी मोडल छ भने कुनै ठाउँ पुँजीवादी या यथास्थितिवादी मोडल पाइन्छ । जुन देशमा समाजवादी शिक्षाको मोडल छ, त्यहाँ वैज्ञानिक तथा व्यावहारिक शिक्षा छ भने जुन देशमा पुँजीवादी वा यथास्थितिवादी मोडल छ, त्यहाँ बुर्जुवा शिक्षा रहेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
राजनीतिमा जुन वर्गको हाबी रहन्छ, उस्तै खालको शिक्षा प्रणाली रहेको हुन्छ । पछिल्लो समयमा हेर्ने हो भने छोटै समयमा पनि छिमेकी मुलुक चीन विश्वको शक्तिशाली राष्ट्रको रूपमा उदाउन सफल भएको छ । यो कुरा शिक्षाको समाजवादी मोडलले मात्रै सम्भव भएको हो । यसका साथै हाल उत्तरकोरिया, क्युबा, भेनेजुयला लगायत देशहरूमा समाजवादी मोडल रहेको छ । डेनमार्क, फिनल्यान्ड, नर्वे, स्विडेन, भुटान लगायत देशमा भने यसको अभ्यास भइरहेको छ । समाजवादी मोडल भएका देशमा सबै वर्ग, जाति, लिङ्ग, क्षेत्र वा समुदायका नागरिकलाई राज्यले निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था रहेको छ । यस्तो खालको शिक्षाले सीमान्तकृत, पछाडि परेका र ग्रामीण क्षेत्रका समुदायलाई विशेष ध्यान दिने गर्छ । समाजवादी शिक्षा मोडलले सबैलाई देशप्रेमी र राष्ट्रभक्ति बनाउँछ । उनीहरूमा सामूहिकता र श्रमप्रति सम्मानको भावनाको विकास गराउँछ ।
मैले माथि छिमेकी मुलुुक चीनका कुरा ल्याएको थिएँ । त्यहाँको पढाइ एकदमै व्यावहारिक छ । सानैबाट प्रविधिमैत्री शिक्षा दिइन्छ । आधुनिक आवश्यकता र त्यसको हल गर्न सक्ने सम्भावित योजना र आविष्कारका कुरा सिकाइन्छ, अनि मात्र चीन चीन जस्तो भएको हो । जतिबेला चीनमा माओत्सेतुङले दीर्घकालीन जनयुद्धको घोषणा गर्दै थिए, त्यतिबेला त्यहाँको शैक्षिक अवस्था एकदमै धराशायी र जर्जर थियो । जनताहरू भोकमरीले आकुलव्याकुल बनेका थिए । त्यतिबेलै पनि हाम्रो देशका जनता खान पुग्ने स्थितिमै थिए, आत्मनिर्भर थिए । चीनमा जनवादी क्रान्ति सम्पन्न भई नवनिर्माणको अभियान थालेर सफलताको चुलीमा पुग्दासम्म हाम्रो नेपालको अवस्था उही स्थितिमै रहेको छ । अझ भन्ने हो भने विगतको तुलनामा हामी अझ परनिर्भर बन्दै गइरहेका छौँ ।
हुम्लाकै कुरा गर्ने हो भने त्यतिबेला प्रशस्त अन्न उत्पादन हुन्थ्यो । आफू खाएर पनि यहाँका बासिन्दाले सातुसामल लिएर तिब्बतको ताक्लाकोटमा व्यापार गर्न जान्छे । सातु र चामल दिएर त्यहाँबाट ऊन र नुन ल्याएर फर्किन्थे । खेतबारीमा कपास उत्पादन गरेर ठेटुवाँको आफैँले घरमा लत्ता–कपडा बनाउँथे । अहिले त्यसको ठिक उल्टो भएको छ । त्यहाँबाट आज सातुसामल नल्याएर बाँच्ने स्थिति छैन । छिमेकीसँग ऊन होइन सुन छ । हामीसँग सामल होइन, अनिकाल छ, भोकमरी छ । यो अवस्था शिक्षा र राजनीतिकै कारणले सिर्जना भएको हो ।
हाम्रो चिन्तन साँघुरो छ, विचार सङ्कीर्ण छ । मैले उसलाई केही सिकाएँ भने ऊ मभन्दा अगाडि जान्छ भन्ने मान्यता र धारणा छ । त्यो धारणा हिजोको राणा र पञ्चायती व्यवस्थादेखि नै विकसित भएर आएको हो । त्यही भएर आज सीमित व्यक्तिबाहेक अरूले राजनीतिको अभ्यास गर्न पाएका छैनन्; नीति निर्माण तहमा पुग्न सकेका छैनन् । शिक्षा पनि त्यही खालको छ । स्तुतिवादी, परम्परागत र पुरातनवादी मोडलको । शिक्षा भन्नाले कुनै कुराको उचित तालिम हो । हाम्रो शिक्षाले सीपमूलक तालिम दिनुको सट्टा केवल अर्ती–उपदेश दिने कुरामा सीमित छ । सानालाई माया र ठुलाको आदर गर्नुपर्छ भन्ने कुराको सिकाइले सधैँभरि ठुला व्यक्तिको आदर गर्दागर्दै पैतालामुनि कुल्चिएको पनि थाहै नपाइने स्थितिसम्म पु¥याइको छ ।
राजनीति सही छ भने शिक्षा सही हुन्छ र शिक्षा सही भयो भने शिक्षित वर्ग पनि सही हुन्छ । देशका विभिन्न ठाउँमा साक्षरता घोषणा कार्यको लहर चलेको छ । मानौँ अब घरका सबै परिवार शिक्षित भयो अरे, मानौँ त्यो घरमा के परिवर्तन आयो त ? उनीहरूले के सबै एकैचोटि रोजगारी पाउँछन् त ? के उनीहरूलाई राज्यले क्षमता अनुसारको काम दिन सकेको छ त ? के साक्षरता बढेर देश मानव विकासको सूचकाङ्कको सूचीमा पहिलो नम्बर पुग्यो त ? त्यसो होइन, अब साक्षरता भयौँ भन्नुुभन्दा पनि हामी यति–यति सीपमा निपुण भयौँ भन्न सक्नुपर्छ । दक्षतामा जोड दिनुुपर्छ । मेरो पालिकामा यति सीपमूलक तालिम दिइयो, उनीहरूलाई यो यो रोजगारी दिइयो भन्ने खालका समाचार हेर्न र सुन्न पाइएमा मात्र देशको उन्नति हुन सक्छ ।
हाम्रो देशमा पनि शिक्षाको समाजवादी मोडल लागु गर्ने हो भने विकासमा छिटो प्रगति गर्न सक्छौँ । किनभने हामी भौगोलिक रूपले; वातावरणीय, जैविक तथा प्राकृतिक स्रोतको हिसाबले; जलस्रोतका हिसाबले विश्वका देशभन्दा अगाडि छौँ । कुनै पनि ठाउँमा हेलिकोप्टरमा माटो बोकेर त्यो ठाउँमा वृक्षारोपण गर्नुुपर्ने अवस्था छैन । कुनै पनि ठाउँमा यो खालको बाली र बोटबिरुवा छैन भन्ने अवस्था छैन । केवल सही र सच्चा नेतृत्वको खाँचो छ । त्यो नेतृत्वमा वैज्ञानिक चेतना र व्यावहारिक दृष्टिकोणको खाँचो छ ।
पछिल्लो समयमा हाम्रो मुलुकमा शिक्षाका लागि राजनीति होइन, राजनीतिका लागि शिक्षा दिइन्छ । त्यहाँ पढाइ भयो वा भएन ? त्यहाँ शिक्षक कर्मचारी छन् वा छैनन् ? त्यहाँ भौतिक पूर्वाधार छन् कि छैनन् ? विद्यालयको अवस्था कस्तो छ ? भन्नेतिर कसैको चासो र चिन्ता छैन ।
कतै सात विद्यार्थी नौजना शिक्षक त कतै पाँच–सात सय विद्यार्थी सातजना शिक्षक छन् । यो पनि राजनीतिले नै सिर्जित गरेको समस्या हो । वर्तमान शिक्षा र राजनीतिक प्रणालीले देशलाई नै बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको छ ।
चुनावमा भोट सङ्कलन गर्ने थलोका रूपमा गाउँमा विद्यालय स्थापना गरिन्छ । आफ्नो राजनीति बलियो बनाउनका लागि विद्यालय व्यवस्थापन समितिको चुनाव गराइन्छ । आफ्ना आफन्ती भर्ती गर्ने ठाउँका रूपमा विद्यालय बनाइन्छ । आज ती राजनीतिक अखडा भएका छन् । अधिकांश विद्यालय आफन्त र राजनीतिक कार्यकर्ता भर्ती केन्द्रका रूपमा विकास गरिएको छ । उनीहरूले नपढाए पनि चुनावको दिन जिन्दावाद र मुर्दावादको नारा लगाए पुग्छ । अनि कसरी शिक्षाको विकास कसरी हुन्छ ?
प्रायः राजनीतिक दलका नेता वा उच्च तहका कर्मचारीले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा पढाउँदैनन् । उनीहरूलाई सरकारी विद्यालयको अवस्थाका बारेमा खासै चिन्ता र चासो हुँदैन । विद्यालय व्यवस्थापन समिति गठनको दिन, वार्षिकोत्सवको दिन र चुनावको प्रचारको दिनबाहेक उनीहरू अरू दिन सरकारी विद्यालय जाँदैनन् । अनि उनीहरूलाई कसरी थाहा हुन्छ विद्यालयको अवस्था ? पढाइको चाँजोपाँचो मिलाउने काम उनीहरूले कति गरे ? गम्भीर प्रश्न उठ्छ ।
विद्यालयमा पनि जाने र घरमा पनि नियमित रूपले अध्ययन गर्ने, गराउने कार्य नै शिक्षा हो । सरकारी विद्यालयमा पढ्ने अधिकांश बालबालिकाले घरमा गएर कामधन्दा गर्नुपर्ने अवस्था छ । भोकै विद्यालय जार्नुपर्ने बाध्यता छ । कापी किन्ने पैसा नपाएर उनीहरूको यौवन तड्पिरहेको हुन्छ । अनि त्यहाँ कसरी गुणस्तरको कुरा सम्भव हुन्छ ? उता निजी विद्यायमा पढ्ने बालबालिकालाई लिन घरमै गाडी पुग्छ । टिफिनमा नास्ता हुन्छ । मासिक शुल्क, ट्युसन वा कोचिङ शुल्कको कुनै चिन्ता हुँदैन । उनीहरूको प्रमुख काम पढ्नेबाहेक अर्को छैन । अनि त्यहाँ नभएर पढाइ कहाँ हुन्छ । राजनीतिक रूपले सरकारी विद्यालयको व्यवस्थापन नगर्ने अनि खालि शिक्षकलाई मात्र दोष लगाएर कहिले शिक्षामा गुणस्तर हासिल गर्न सकिन्छ ?
शिक्षामा व्यापारीकरण भइरहेको छ । देशमा अहिले दुई खालको शिक्षा नीति छ । एउटा व्यापारिक र अर्को अव्यावहारिक । व्यापारिक शिक्षाले लगानीकर्तालाई मोटाउने अवसर प्रदान गरेको छ भने अव्यावहारिक शिक्षाले विद्यार्थीलाई दर्जनौँ लब्धाङ्कपत्र प्रदान त गरेको छ अव्यावहारिक र खोक्रो मात्रै । वास्तवमा दुवै खालको शिक्षाले बेरोजगार र अदक्ष जनशक्ति मात्रै उत्पादन गरिरहेका छन् । अहिले संसद्मा शिक्षा विधेयकका बारेमा छलफल भइरहेको छ । त्यो विधेयकले पनि वर्तमान समस्या हल गर्न सक्ने खालको छैन । जबसम्म नेतृत्वमा समाजवादी चेतना जाग्दैन र विद्यार्थीले पनि व्यावहारिक शिक्षाको अनुभूत गर्न पाउँदैनन्, तबसम्म हाम्रो देशको हालत यस्तै हुनेछ ।
विद्यालय अहिले ठाउँठाउँमा च्याउ उम्रेजस्तै छन् । कतै सात विद्यार्थी नौजना शिक्षक त कतै पाँच–सात सय विद्यार्थी सात जना शिक्षक छन् । यो पनि राजनीतिले नै सिर्जित गरेको समस्या हो । वर्तमान शिक्षा र राजनीतिक प्रणालीले देशलाई नै बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको छ । बाकसमा डिग्रीको लब्धाङ्क पत्र थन्क्याएर खाडी मुलुकमा जाने युवाहरूको लर्कै बढिरहेको छ । व्यावहारिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्छ र राष्ट्रलाई समृद्धितिर लैजान्छ भने बुर्जुवा शिक्षाले बेरोजगार उत्पादन गरेर गरिबी, भ्रष्टाचार विकृति निम्त्याउँछ ।
अब राजनीतिका लागि शिक्षाभन्दा पनि शिक्षाका लागि राजनीति गर्न आवश्यक छ । यसका लागि एक मात्र उत्तम विकल्प समाजवादी क्रान्ति हो । जहाँ सबैले काम गर्न पाउँछन्; सबैले खान र लाउन पाउँछन्; जहाँ यो देश सबैको साझा हो भन्ने भावना अपनत्वको विकास हुन्छ; जहाँ सबैले नैसर्गिक अधिकारसहित मौलिक अधिकारको पूर्ण प्रत्याभूति गर्न पाउँछ त्यहाँ भ्रष्टाचार किन गर्नुप¥यो ? भ्रष्टाचार ग¥यो भने पनि कडा सजाय दिने व्यवस्था गरिन्छ ।
‘म’को सट्टा हामी र हाम्रो भन्ने भावना विकास गर्न र सिकाउन जरुरी छ । त्यो शिक्षा समाजवादी मोडलमा हुन्छ । बालबालिका र ज्येष्ठ नागरिकलाई राज्यले हेर्ने र युवा शक्तिलाई उनीहरूको क्षमता र योग्यताका आधारमा काम दिने हो भने हामी छिटै सम्पन्नशाली बन्नेछौँ । समाजवाद र समृद्धिलाई नारामा मात्र सीमित नराखौँ, जीवन व्यावहारमा लागु गरौँ । शैक्षिक प्रणाली बदलौँ । अब प्राथमिक तहबाटै बालबालिकाको रुचि अनुसारको सीपमलूक शिक्षा दिएर माध्यमिक तहसम्म पूरै रोजगारी बन्ने खालको शिक्षाको मोडल विकास गरौँ ।
राज्य र प्रशासनसँग सम्बन्धित सामाजिक सिद्धान्त हो राजनीति । यस्तै खालको राजनीतिले हाम्रो देशमा कर्मचारीतन्त्र हाबी गराएको छ । नीति–नियम पनि व्यक्तिपिच्छे फरक अर्थ लगाइन्छ र लागु गरिन्छ । शासन व्यवस्थासम्बन्धी नीति र राज्य सञ्चालन प्रणालीको नेतृत्व गर्ने भएकाले राजनीति जननीतिमा परिणत हुन आवश्यक छ । केवल देखाउने दाँतका रूपमा सीमित राखिनु हुँदैन । शिक्षा समाजबाट सिकेर, सुनेर वा सामाजिक मूल्य–मान्यताबाट ग्रहण गरिने व्यावहारिक वा सैद्धान्तिक प्रक्रिया हो । हाम्रो समाजमा भ्रष्टाचारका कुरा सुनिन्छन्, विकृतिले सिर्जना गरेका व्यावहार देखिन्छन् अनि कसरी सही खालको शिक्षा ग्रहण गर्न सक्छन् विद्यार्थीले ? सामाजिक सञ्जाल र समाजमा पनि त्यस्तै खालका प्रवृत्ति छन् ।
अब हामीले शिक्षा र राजनीतिको परिभाषा परिवर्तन गर्नुपर्छ । हाम्रो नेपालको सन्दर्भमा कुनै पनि कुराको कमी छैन । सकारात्मक र प्रगतिशील व्यवहार र सिद्धान्त सिकेर वा ग्रहण गरेर देश र जनताको हित गर्नु नै शिक्षा हो । त्यस्तै राजनीति भनेको सबै नागरिकलाई र विशेषतः गरिब, विपन्न, पिछडिएका व्यक्ति तथा समूहलाई राज्यको मूलधारमा ल्याई पूर्ण रूपमा आत्मनिर्भर गराउने नीति हो । राजनीति पेसा होइन सेवा हो भन्ने खालको शिक्षा दिने वातावरण तयार पारौँ । शिक्षा पढाइ र भोगाइ दुवै तरिकाबाट आर्जन गरिने सकारात्मक बुद्धि हो भनेर सिकाऔँ । जहाँ सिक्नु मात्र शिक्षा होइन, त्यो सिकाइले जीवन निर्वाह गर्ने तथा इमानदार, अनुशासित र कर्तव्यनिष्ठ बन्ने बनाओस् । शिक्षाले व्यक्तिलाई कर्तव्य र दायित्व दुवै कुराको बोध गराउन सक्नुपर्छ । अब हनुमानको कथा पढाएर सम्भव हुँदैन । गरिबको दुःखका बारेमा कथा पढाउन आवश्यक छ । त्यो दुःखबाट कसरी उन्मुक्ति पाउने भन्ने उपाय खोजी गर्ने शिक्षाका बारेमा पढ्ने र पढाउने गरौँ ।
हाम्रा विद्यालयलाई अब अनुसन्धान केन्द्रमा परिणत गर्न आवश्यक छ । यहाँका जडीबुटीबाट कसरी औषधी बनाउने ? यहाँका फलफूलबाट कसरी जामजेली बनाउने ? यहाँका डाँडाकाँडाहरूमा कसरी केबलकारको जालो फिँजाउने ? कसरी हिमालय पर्वतहरूमा बढीभन्दा बढी हिउँ पगाल्ने होइन जम्मा हुने व्यवस्था सिर्जना गर्ने भन्ने चेतनाको विकास विद्यार्थीमा सानैदेखि गराउन आवश्यक छ ।
गाउँका वैद्यहरू जम्मा गरेर जडीबुटीका बारेमा सोधखोज गर्ने गरौँ । किसानको ज्ञानलाई भरपुर प्रयोग गरेर कुन ठाउँबाट सिँचाइ नहर निर्माण गर्ने; कहिले र कुन समयमा धान खेती गर्ने भन्ने कुरा सिकौँ । भोकमरीको चपेटामा परेका व्यक्तिलाई एकमुठी अन्न वितरण गर्ने सरकारी गोदाम घर निर्माण गरौँ । अनि मात्र सही राजनीति हुनेछ । त्यसैले मात्र सही खालको शैक्षिक प्रणाली विकास गर्नेछ । हामीले पढ्न त पीएचडीसम्म पढ्छौँ तर पेट दुखे के औषधी खाने भन्ने कुरा जानेका हुँदैनौँ । पाइन्ट वा धोतीको छेउमा उध्रेको सिलाउन जान्दैनौँ । स्वादिलो र स्वास्थ्यलाई असर नगर्ने खाना पकाउन जान्दैनौँ ।
लोकसेवा र शिक्षक सेवाको परीक्षा दिन कापीमा उत्तर लेख्नेबाहेक अर्को सीप सिकाउन सकेको छैन हाम्रो शिक्षा प्रणालीले । अब हाम्रो साधारण धारतर्फको शिक्षा हटाऔँ र प्राविधिक तथा व्यावसायिक शिक्षालाई अनिवार्य बनाऔँ । देशभित्रै उद्योगधन्दा, कलकारखाना निर्माण गरी कसरी देशलाई धनी बनाउने भनेर चिन्तनमनन गर्ने जनशक्ति उत्पादन गर्ने विद्यालय निर्माण गरौँ । भ्रष्ट हुने र भ्रष्टाचार गर्ने नीति तोडौँ । इमानको राजनीति गर्ने र सेवामुखी शिक्षा दिने वातावरण सिर्जना गरौँ । अनि मात्र हामी नेपाली विश्वमा बहादुर भएको सार्थकता पाउनेछौँ । हामी हिजो बहादुर थियौँ तर आज कायरमा परिणत भएका छौँ । यसको मूल कारण भनेको हाम्रो शिक्षा र राजनीति नै हो ।
हिजो हामीले लड्न जानेका थियौँ, हतियार बनाउँथ्यौँ, कम्तीमा अरिङ्गाल र बारुलाको प्रयोग गरेरै भए पनि युद्ध जित्ने कला र बुद्धि हामीमा थियो । नाकामा सिस्नु रोपेर पनि हामी सुरक्षित थियौँ । त्यतिबेला आँट, हिम्मतका साथै व्यावहारिक शिक्षा सिकेका थियौँ । अहिले हामीले बुर्जुवा शिक्षा सिकेका छौँ । जुन शिक्षाले हामीलाई गुलाम बनाइरहेको छ । अरूको अगाडि शिर निहुराएर मागेर खाने मगन्तेबाहेक अरू केही बनाउन सकेको छैन । अहिले आणविक हतियार र इन्टरनेटको जमाना छ । विज्ञान र प्रविधिको प्रयोग गरेर हामीले उन्नति गर्नुपर्नेछ । त्यसतर्फ हामीले सोच्नुपरेको छ । (रातोपाटी अनलाइनबाट साभार)
११ भाद्र २०८२, बुधबार १०:४२