/*php the_title();*/?>
नेपालमा बस्ने विभिन्न जातिहरू कहाँ–कहाँबाट आयौँ ? खस जातिहरू कति लामो प्रक्रियाद्वारा यहाँ आएका छन् ? त्यही प्रकारले थारू, मगर, गुरुङ, नेवार वा तराईमा बस्ने विभिन्न जातिहरूको पनि नेपालमा आउनुभन्दा पहिलेको बेग्लाबेग्लै प्रकारको लामो इतिहास हुन सक्छ । जलजला काठमाडौँको बत्तिसपुतलीमा जन्मिइन् । चितवनको तोरिखेतमा हुर्किइन् । त्यसका पछाडि लामो इतिहास छ ।
मोहनविक्रम सिंह
कामरेड जलजला अर्थात् विद्या ढकालसँग निश्चितरूपमा मेरो गहिरो प्रेम थियो र त्यो प्रेम विवादग्रस्त पनि रहेको छ । त्यो विषय नेपालमा धेरै आलोचना र विरोधको विषय पनि भएको छ । तर, ती सबै भए पनि जलजला एउटा क्रान्तिकारी दृष्टिकोण भएकी महिला थिइन् । मसँगको प्रेमको कारणले उनले धेरै दुःख भोग्नुप¥यो । धेरै आलोचना पनि सहनुप¥यो । धेरै बदनाम पनि भइन् र, धेरै कारबाही पनि उनीमाथि भयो । ममाथि पनि भयो ।
तैपनि मैले के पाएँ भने उनमा विशिष्ट प्रकारको क्रान्तिकारी दृढता थियो । ती सबै परिस्थितिमा पनि उनमा पार्टीप्रति वा क्रान्तिप्रतिको आस्था, निरन्तरता, सक्रियतामा कहिले पनि कमी आएन । जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि उनको मप्रतिको प्रेममा कहिल्यै कमी आएन । त्यो रूपमा नै मैले उनको व्यक्तित्वको उपन्यासमा चित्रण गरेको छु ।
कामरेड जलजलासँगको प्रेम सम्बन्धका कारण मेरो राजनीतिक जीवनमा पनि उतारचढाव आएको पनि कतिपयले भन्छन् । उतारचढावभन्दा पनि उनीसँगको प्रेमको कारण ममाथि कारबाही गरियो । म पार्टीको महामन्त्री थिएँ । महामन्त्रीबाट हटाइयो । केन्द्रीय समितिबाट हटाइयो । पार्टीको सदस्यताबाट निष्काशित गरियो । त्यो निष्काशित जीवन बिताउन केरलातिर गएँ । तर, त्यसले मेरो विचार वा राजनीतिक जीवनमा कुनै उतारचढाव आएन । जस्तोसुकै अवस्थामा पनि यहाँसम्म कि पार्टीबाट निष्काशित भएको अवस्थामा समेत मैले पार्टीप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयत्न गरेँ । पार्टीप्रतिको मेरो आस्थामा कहिल्यै कमी आएन । मैले सधैँ पार्टीको अनुशासनमा बस्ने प्रयत्न गरेँ । त्यसकारण पार्टी काममा मेरो निरन्तरता रहिरह्यो । त्यसकारण जलजलासँगको प्रेमले वा त्यसबाट गरिएको कारबाहीले मेरो पार्टीप्रतिको आस्था, निरन्तरता, अनुशासन र क्रियाशीलतमा कुनै कमी आएन ।
यही १५ मंसिर दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठान कमलादीको पारिजात हलमा ‘जलजला’ उपन्यासको विमोचन हुँदै छ । यो उपन्यासको संक्षेपमा, साररूपमा मैले यसरी व्याख्या गर्छु ः यो प्रेमको कथा हो र विश्वको पनि दर्शन हो । किताबको शीर्षकमा पनि त्यही लेखिएको छ, प्रेमको कथा, विश्वको दर्शन ।
यसलाई मैले खाली प्रेमको रूपमा प्रस्तुत गरेको छैन । हामी सबै समाजको लामो विकासक्रमका परिणाम हौँ । त्यसमा भएका उथलपुथलका परिणाम हौँ । हामी आज जुन रूपमा छौँ, त्यसका लागि हामी व्यक्ति मात्रै जिम्मेवार छैनौँ । यहाँको समाज, साहित्य, कला, इतिहास, दर्शन हामीहरू यी सबैको सम्मिलित परिणाम हौँ । त्यसकारण हामीले प्रेमलाई पनि समाजको विकासक्रमको एउटा अंगको रूपमा लिनुपर्छ । समाजमा संघर्ष भइरहन्छ । एउटा पुरानो व्यवस्था, जसले समाजलाई दबाएर राखिरहन चाहन्छ, त्यसका विरुद्ध परिवर्तनका लागि संघर्ष भइरहेको छ ।
हामीले प्रेमलाई पनि समाजको विकासक्रम, त्यसभित्र चल्ने अन्तद्र्वन्द्व वा समाजको अग्रगामी परिवर्तनका लागि चल्ने संघर्षको अंगको रूपमा लिनुपर्छ । प्रेमलाई पनि हामीले समाजसेवाको माध्यमका रूपमा लिनुपर्छ । त्यसकारण प्रस्तुत उपन्यासमा मैले प्रेमलाई पनि यही रूपमा प्रस्तुत गर्ने प्रयत्न गरेको छु । समग्ररूपमा उपन्यासमा प्रेमका प्रसंगहरू अत्यन्त कम छन् । त्यसका जो मुख्य पात्रहरू छन्, तिनिहरूको प्रायः आपसमा भेटै हुँदैन । उपन्यासको प्रारम्भमा एकपटक भेट हुन्छ, उपन्यासमा त्यसपछि उनीहरूको कहीँ पनि भेट हुँदैन । उपन्यासमा उनीहरूबारे चर्चा वा परिचर्चा अवश्य हुने गर्दछ । तर उनीहरूका बीचमा प्रत्यक्ष भेट भएका दृष्यहरू उपन्यासमा छैनन् भने पनि हुन्छ ।
उपन्यासमा प्रेमलाई दार्शनिक रूपमा, ऐतिहासिक रूपमा वा उच्च क्रान्तिकारी आन्दोलनको प्रवाहको अंगको रूपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । हाम्रो समाज बिग्रेको वा पतनको एउटा मुख्य कारण के हो भने मानिसहरूले प्रेमलाई विशुद्ध व्यक्तिगत रूपमा वा व्यक्तिगत स्वार्थको परिधिभित्र नै ग्रहण गर्छन् । प्रेमलाई मुख्य ठान्छन् र अरू सबैकुरालाई गौण ठान्छन् । प्रेम पतिपत्नीका बीचमा हुन्छ, बाबुआमाप्रति हुन्छ, छोराछोरी प्रति हुन्छ, प्रेमी र प्रेमिकाहरूका बीचमा हुन्छ । यी सबै प्रेमलाई हामीले समाजको एउटा अंगको रूपमा नै ग्रहण गर्नुपर्छ र प्रेमलाई कुनै पनि बेला हामीले सामाजिक हितका विरुद्ध जान दिन हुँदैन । उपन्यासमा प्रेमलाई त्यही रूपमा व्याख्या गर्ने प्रयत्न गरिएको छ ।
उपन्यासले सम्पूर्ण विश्वलाई बुझ्ने प्रयत्न गरेको छ । उपन्यासमा अन्तरिक्षलाई, घटनाक्रमलाई, मानव जीवनलाई, चाहे त्यो अमेरिका होस्, चाहे अफ्रिका होस्, चाहे अस्ट्रेलिया होस्, इन्डिया होस् यी सबैलाई बुझ्ने प्रयत्न गरेको छ । ती सबैलाई सरसर्ती रूपमा अध्ययन गर्ने प्रयत्न गरिएको छ ।संसारमा मानिसको चिन्तन भौतिक परिस्थितिको परिणाम हुन्छ । त्यसले सारा कुरालाई प्रभावित गर्छ, घटनाक्रमलाई प्रभावित गर्छ । त्यसले कुनै समाज, कुनै व्यक्ति, कुनै देशको विकासमा प्रत्यक्ष रूपले प्रभावित गर्दछ । हाम्रो दार्शनिक सोच उच्च प्रकारको हुनुपर्छ । उच्च प्रकारको हुनुपर्छ भन्नुको अर्थ समाजमा प्रचलित प्रकारको हुनुपर्छ भन्ने होइन । त्यसको अर्थ हाम्रो सोचाइ समाजमा आमरूपमा व्याप्त सोचाइको भन्दा केही माथि उठेको हुनुपर्दछ ।
अहिले तपाईं देख्नुहुन्छ, धेरै राजनीतिक पार्टीको पतन भइरहेको छ, नेताहरूको पतन भइरहेको छ, कम्युनिस्टहरूको पतन भइरहेको छ । किनभने उनीहरूको चिन्तन सही हुन सकेको छैन । उनीहरूको दार्शनिक चिन्तन सही हुन सकेको छैन । उनीहरूले सम्पूर्ण समाजलाई भन्दा आफ्नो व्यक्तिगत स्वार्थ वा महत्वकांक्षालाई माथि राख्न चाहन्छन् । व्यक्तिलाई समाजभन्दा माथि राखेर समाजको सामाजिक हितमाथि कुठाराघात गर्न थाल्दछन् । त्यही विन्दुमा गएर कुनै राजनीतिक पार्टी, नेता वा एउटा कम्युनिस्टको पनि पतन हुन थाल्दछ । त्यसकारण त्यस प्रकारको चिन्तनविरुद्ध यो उपन्यासले एउटा दृष्टिकोण दिने प्रयत्न गरेको छ । दार्शनिक दृष्टिकोण दिने प्रयत्न गरेको छ । त्यही सर्वहारा विश्व दृष्टिकोण पनि हो । मैले सबै पाठकहरूको उपन्यासको त्यही पक्षप्रति नै विशेष ध्यान आकर्षित गराउने प्रयत्न गर्दछु ।
सरसर्ती भन्ने हो भने संसारमा आमाको सन्तानप्रतिको प्रेम सबैभन्दा उत्तम हुन्छ । आमाको प्रेमको विशेषता के हो ? उनले आफ्नो व्यक्तिगत स्वार्थमा केही पनि ध्यान नदिइकन आफ्ना सन्तानका लागि काम गर्छिन्, आफ्ना सन्तानका लागि सम्पूर्ण दुःख कष्ट सहन तयार हुन्छिन्, कुनै पनि प्रकारको त्याग र बलिदान गर्न तयार हुन्छिन् । हामीले आमाको प्रेमलाई सम्पूर्ण समाजमा लागू गर्ने प्रयत्न गर्नुपर्दछ । आमाको प्रेममा एउटा कमजोरी हुन्छ । त्यो कमजोरी के हो भने त्यो प्रेम उनको आफ्ना सन्तानप्रति मात्रै हुन्छ । तर, हाम्रो प्रयत्न आमाको सन्तानप्रतिको प्रेमलाई सम्पूर्ण समाजप्रति बिस्तार गर्न प्रयत्न गर्ने प्रति हुनुपर्दछ । उपन्यासले सार रूपमा यही कुरामा जोड दिएको छ ।
त्यस्तै, मैले प्रस्तुत उपन्यासमा सबै चिजलाइसमग्र रूपमा बुझ्ने वा प्रस्तुत गर्ने प्रयत्न गरेको छु । त्यसैले यो उपन्यासमा मैले जलजलाको विषयमा लेख्न थाल्दा या कतिपय पात्रहरूको चित्रण गर्न थाल्दा, तिनको बारेमा लेख्न थाल्दा, उनीहरूको सम्पूर्ण संसारसितको सम्बन्धबारे हेर्ने प्रयत्न गरेको छु । त्यसको अर्थ प्रत्येक व्यक्तिको सम्पूर्ण विश्वसित र विश्वको प्रत्येक व्यक्तिसित सम्बन्ध जोडिएको हुन्छ भन्ने दार्शनिक सोचाइले नै काम गरेको हुन्छ भन्नु हो । जस्तो कि, प्रस्तुत उपन्यासको प्राक्कथनमा नै लेखिएको छ, जलजला एउटी व्यक्ति मात्रै होइनन्, उनको लामो इतिहास छ । प्रत्येक व्यक्तिको त्यही प्रकारको इतिहास हुन्छ । हरेक व्यक्ति लामो इतिहासको परिणाम हुन्छ । किनभने संसारमा मानव जीवन प्रारम्भ नभएको भए हामी कुनै व्यक्ति हुने थिएनौँ । कैयौँ ग्रहहरूमा जीवन नै छैन । सृष्टिको एउटा खास विकास वा चरणको परिणामस्वरूप नै पृथ्वीमा जीवनको उत्पत्ति भएको हो ।
त्यस्तै, नेपालमा बस्ने विभिन्न जातिहरू कहाँ–कहाँबाट आयौँ ? खस जातिहरू कति लामो प्रक्रियाद्वारा यहाँ आएका छन् ? त्यही प्रकारले थारू, मगर, गुरुङ, नेवार वा तराईमा बस्ने विभिन्न जातिहरूको पनि नेपालमा आउनुभन्दा पहिलेको बेग्लाबेग्लै प्रकारको लामो इतिहास हुन सक्छ । जलजला काठमाडौँको बत्तिसपुतलीमा जन्मिइन् । चितवनको तोरिखेतमा हुर्किईन् । त्यसका पछाडि लामो इतिहास छ । (सौर्यअनलाइनबाट साभार)
४ मंसिर २०८१, मंगलवार २३:२९