मेलम्ची–३ मा रहेको हैबुङ माविलाई उत्कृष्ट विद्यालयको रूपमा सम्मान

आइसिँ तामाङ, मेलम्ची ३ हैबुङ ।
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज तथा सिन्धु–शिवपुरी मध्यवर्ती उपभोक्ता समितिको संयुक्त आयोजनामा सञ्चालित संरक्षणसम्बन्धी विद्यालय शिक्षा कार्यक्रम–२०८२ अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १, २ र ३ भित्र रहेका सामुदायिक माध्यमिक विद्यालयहरूबीच आयोजित मूल्यांकनमा श्री हैबुङ महादेवस्थान माध्यमिक विद्यालयलाई उत्कृष्ट विद्यालयको रूपमा छनोट गरिएको छ।
कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. ०३ का वडा अध्यक्ष कुमार बन्जाराको प्रमुख आतिथ्य तथा शालिकराम चौलागाईंको सभाध्यक्षतामा विद्यालयलाई ५०० थान कापी, ५०० थान कलमसहित जम्मा रु. ४२,००० (बयालीस हजार मात्र) बराबरको शैक्षिक सामग्री प्रदान गरिएको हो।
विद्यालयको शिक्षण–अधिगम गुणस्तर, विद्यार्थी सहभागिता तथा संरक्षणप्रतिको जागरूकता मूल्यांकनको आधारमा विद्यालयलाई उत्कृष्ट ठहर गरिएको हो।
विद्यालय परिवारले यो महत्वपूर्ण सहयोगप्रति शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज, उपभोक्ता समिति तथा मेलम्ची नगरपालिकाप्रति हार्दिक आभार प्रकट गरेको छ। साथै, भविष्यमा पनि यस्ता सहयोग र सहकार्य निरन्तर जारी रहने विश्वास व्यक्त गरिएको छ।

८ असार २०८२, आईतवार २१:१३