मेलम्ची नगरपालिका–१२ बाँसबारीलाई ‘अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको वडा’ घोषणा

आइसिँ तामाङ,मेलम्ची सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाँसबारीलाई ‘अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको वडा’ घोषणा गरिएको छ। वडा शिक्षा समितिको आयोजना र जालपादेवी मावि बाहुनीपाटीको समन्वयमा आयोजित कार्यक्रममा यो ऐतिहासिक घोषणा गरिएको हो। वडा अध्यक्ष तथा शिक्षा समितिका संयोजक गणेश बहादुर तामाङको अध्यक्षतामा सम्पन्न समारोहमा जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता थियो। ४ देखि १३ वर्ष उमेर समूहका सबै बालबालिकाको घर–घरमा गएर विद्यालयबाहिर रहेका बालबालिकालाई पहुँचमा ल्याउने अभियान सफल भएपछि वडाले शिक्षा क्षेत्रमा उदाहरणीय उपलब्धि हात पारेको हो। वडामा कुनै पनि बालबालिका विद्यालयबाहिर नरहेको पुष्टि गर्दै अझै कोही छुटेमा उनीहरूलाई तत्काल समेट्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ। शिक्षा अधिकार सुनिश्चित गर्दै गरिएको यो कदमले बाँसबारीलाई समावेशी, शिक्षामैत्री र उत्तरदायी स्थानीय शासनतर्फ अग्रसर बनाएको छ।

२० असार २०८२, शुक्रबार १८:३०