मिथेन ग्याँसको भण्डार भेटिँदा खुसीसँगै संशय

मध्यपूर्वमा विगत २२ महिनादेखि जारी युद्ध समाप्तीको दिशातिर उन्मुख हुनु शान्तिप्रेमी जनताका लागि निश्चय पनि सुखद् विषय हो । तर त्यहाँको स्थायी शान्तिका लागि अझै पनि काला बादल मडारिइरहेको यथार्थलाई नजर अन्दाज गर्न मिल्दैन । आणविक शक्तिसम्पन्न हुने इरानको चाहना र त्यो प्रयास सफल हुन नदिने इजरायलको प्रयास नै अहिलेको द्वन्द्वको मुख्य कारण हो । यद्यपि युद्धविरामका लागि मात्रै इरान तयार भएको हो । आणविक शक्ति सम्पन्न हुने इच्छा उसले त्यागिसकेको छैन । छोटकरीमा भन्नुपर्दा मध्यपूर्वको तनाव विश्व राजनीतिक शक्ति संघर्षको परिणाम हो । शक्ति सम्पन्न राष्ट्रहरूको स्वार्थ जहिलेसम्म रहन्छ तहिलेसम्म मध्यपूर्वको स्थायी शान्ति धेरै टाढा छ ।

मध्यपूर्वको द्वन्द्व उत्कर्षमा पुगरहेकै बेला नेपालको दैलेखमा मझौला खालको मिथेन ग्याँस भण्डार फेला परेको प्रारम्भिक प्रतिवेदन चिनियाँ अनुसन्धानकर्ताहरूले दिँदै गर्दा सामाजिक सन्जालमा धेरैले खुसी साटासाट गरेको देखियो । केहीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो पोस्ट्याउँदै देवत्वकरण गर्न खोजेको पनि देखियो । तर, हाम्रो देशको ‘जेन जी’ पुस्ता जुन स्तरमा खुसी हुनुपर्ने थियो, त्यो देखिएन । बरु मध्यपूर्वमा जस्तै हाम्रो देश पनि शक्ति राष्ट्रहरूको स्वार्थको क्रिडास्थल बन्ने त होइन रु भन्ने आशंका यो पुस्ताले व्यक्त गर्यो । मिथेन ग्याँसको भण्डार रहेको समाचार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो देशको भ्रमण गराउन भारतले हरियो बत्ती बालेको समाचार सँगै आउनुलाई धेरैले संयोग मात्रै मानेनन् ।

नेपालमा विश्व राजनीतिको प्रभाव के कति पर्छ भन्ने कुरा त विगतका अनुभवले स्पष्ट पार्छ । राणा विरोधी आन्दोलन निर्णायक रूपमा अघि बढ्न किन, २००७ साल पर्खनु पर्यो रु दक्षिण एसियाबाट अंग्रेज नहट्दासम्म राणा शासकहरू किन बलिया भइरहे रु पञ्चायति व्यवस्था कुन पृष्ठभूमिका आधारमा स्थापना भयो । पञ्चायती व्यवस्थाविरुद्ध चलेको लामो आन्दोलन किन ३० वर्षसम्म चलेर २०४६ सालमा मात्रै ढल्यो रु भन्ने प्रश्नको उत्तरले अन्तर्राष्ट्रिय प्रभावका धेरै पाटाहरू उजागर गर्छ ।

मदन भण्डारीले बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धामार्फत शासन सत्तामा पुग्नुपर्ने मार्गदर्शन अघि बढाएपछि नेपालको कम्युनिस्ट आन्दोलनमा ठुलो उथलपुथल भएको पाइन्छ । सन् १९९० को दशकमा पूर्वी युरोपका करिब १ दर्जन मुलुकमा कम्युनिस्ट शासन सत्ता गल्र्यामगुर्लुम ढलेको ताजा परिप्रेक्ष्यमा मदन भण्डारीले बहुदलीय जनवादको अवधारणा अघि ल्याएका हुन् । तत्कालीन नेकपा मालेले २०४६ भदौमा सम्पन्न सम्मेलनबाट बहुदलीय लोकतान्त्रिक मूल्य पद्धतिलाई अंगीकार गर्न संयोग मात्रै थिएन । बहुदलीय जनवादका रूपमा मदन भण्डारीले सरल ढंगले परिभाषित गरेको लोकतान्त्रिक मूल्य मान्यताको पद्धतिले नेपाली कांग्रेससँग सहकार्यका लागि मार्ग प्रसस्त गर्यो ।

७० वर्ष लामो कम्युनिस्ट शासन व्यवस्थाका क्रममा सोभियत संघले सबै प्रकारका समृद्धि हासिल गरिसकेको थियो । विज्ञान प्रविधिदेखि लिएर हरेक क्षेत्रमा शोभियत संघ विश्वकै अग्रणी मुलुक थियो । जनताका सबै आवश्यकता राज्यले पूरा गरिदिएको थियो । तर, राजनीतिक स्वतन्त्रताको अभावमा जनता आन्दोलिन भए । सरकारले आन्दोलन थेग्न सकेन । सबै जनता सडकमा आए । खान, लाउन र बस्न जस्तै जनताका लागि स्वतन्त्रता पनि त्यतिकै आवश्यक छ भन्ने कुरा पुष्टि भयो । यही देखेर नै मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रको नयाँ दिशा दिएका हुन् । मदन भण्डारीले दिएको यो नयाँ दिशा जनताकाबीच लोकप्रिय भयो तर सबै कम्युनिस्टहरूले आत्मसात गर्न सकेनन् ।

एउटा कित्ता बन्दुकद्वारा कम्युनिस्ट शासन सत्ता स्थापना गर्ने भन्दै सशस्त्र आन्दोलनमा होमियो । नेकपा माओवादीको नाममा जनयुद्धमा होमिएको त्यो कित्ताले पनि १० वर्षको अवधिमा ठुलै सफलता प्राप्त गर्यो । राजधानी काठमाडौँ तथा जिल्ला सदरमुकामबाहेक मुलुकको प्रायःजसो क्षेत्रमा माओवादीले आफ्नो प्रभुत्व जमायो । जनताले साथ नदिएको भए यो प्रभुत्व संभव थिएन । २०४६ सालमा पुनस्र्थापित बहुदलीय व्यवस्थाअन्तर्गत बनेका सरकारहरूले जनताको चाहना पूरा गर्न नसकेका कारण माओवादीले सफलता प्राप्त गरेको थियो ।

समृद्धिको चाहना अधुरै

पूर्वी युरोपको राजनीतिक परिवर्तनले नेपालमा कांग्रेस र कम्युनिस्ट मिलेर पञ्चायती व्यवस्था फाल्ने वातावरण बनाएको तथ्यलाई सबैले स्वीकार गरेका छन् । २०४६ सालको परिवर्तनपछि नेपालले जलविद्युत् उत्पादनमा जोड दिँदै गर्दा माओवादी जनयुद्ध सुरु हुनु र माओवादीलाई भारतले आश्रय दिनुलाई धेरैले संयोग मात्रै मान्दैनन् ।

अरुण तेस्रो जलविद्युत् आयोजना फुत्कनु र महाकाली सन्धी गर्नुपर्ने अवस्थामा पुग्नु संयोग मात्रै थिएन । माओवादी जनयुद्ध समाप्तीपछि अरुण तेस्रो मात्रै होइन अन्य धेरै आकर्षक जलविद्युत् आयोजनाहरू भारतको हातमा पुगिसकेका छन् । जलविद्युत्बाट समृद्धि हासिल गर्ने लक्ष्य धेरै टाढा पुगिसकेको छ ।

दैलेखमा फेला परेको मिथेन ग्याँसको भण्डारको उपयोग पनि कतै जलस्रोत जस्तै हुने त होइन रु जलस्रोतको उपयोग गर्न खोज्दा देशले १० वर्ष बेहोर्नुपरेको द्वन्द्व अब अर्को संस्करणका रूपमा आउने त होइन रु भन्ने आशंका मिथेन ग्याँसको भण्डार फेला परेसँगै उत्पन्न भएको छ । प्राकृतिक स्रोत साधन एउटा देशमा फेला पर्ने, तर फाइदा शक्ति सम्पन्न देशहरूले लिने सिलसिला मध्यपूर्वमा मात्रै देखा परेको छैन । जलस्रोतका सन्दर्भमा नेपाल आफैँ पीडित छ । अब मिथेन ग्याँसले अको पीडा नथपोस् भन्ने डर जेनजी पुस्तामा देखिनु एक हदसम्म सकारात्मक हो ।

जलस्रोतको उपयोगमा भोग्नुपरेको असफलताको पाठ सिक्दै ग्याँस भण्डार सदुपयोगतर्फ राज्यसत्ताले ध्यान दिन सक्यो भने हाम्रो देशको समृद्धिका दिन धेरै टाढा छैन भन्ने देखिन्छ । तर हामीलाई चाहिएको मध्यपूर्वका देशहरूको जस्तो समृद्धि होइन, शान्ति र लोकतन्त्र सहितको समृद्धि हो । आमनेपालीको चाहना लोकतान्त्रिक विधि र प्रक्रियामार्फत आर्थिक विकास तथा मुलुकको समृद्धि हो । शान्ति, सामाजिक न्याय र स्वतन्त्रता बाहेकको समृद्धि पनि जनताको चाहना होइन । लोकतन्त्र र सामाजिक न्याय बाहेकको समृद्धिले देशलाई इरान र इराक बनाउँदो रहेछ । लोकतन्त्र र सामाजिक न्याय सहितको समृद्धिले देशलाई इजरायल बनाउँदो रहेछ । हाम्रो देशको भौगोलिक अवस्थिति इजरायलको भन्दा पनि अझै खतरनाक स्थानमा छ भन्ने हेक्का राख्नै पर्छ ।

लोकतान्त्रिक शासन व्यवस्थामार्फत शान्ति, स्वतन्त्रता र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कुरामा राष्ट्रिय सहमति बन्नु नै नेपालको वर्तमान शासन व्यवस्था तथा संविधानको सुन्दर पक्ष हो । यतिवेला मुलुक संघीय लोकतान्त्रिक बहुदलीय गणतन्त्रको नयाँ अभ्यासमा छ । राज्यका सबै तह, अंग तथा निकायमा समानुपातिक समावेशीताको सिद्धान्त अवलम्वन गरिएको छ । राज्यका सबै तहमा जनप्रतिनिधिहरूले करिब डेढ कार्यकालको अभ्यास गरिसकेका छन् । राजनीतिक मुद्दा सकियो, अब आर्थिक समृद्धिको मुद्दा सम्बोधन गर्नुपर्छ भन्ने मुद्दामा सबै दलहरू एक ठाउँमा उभिएका छन् । तर देश हाँक्नेहरूमा इच्छा शक्ति रहेको महसुस जनताले अझै गर्न सकेका छैनन् । देश हाँक्नेहरूमा इच्छा शक्ति जरुरी छ ।

उदाहरणका लागि २७ किलोमिटर पहाड छेडेर मेलम्चीको पानी काठमाडौँ ल्याउने सपना २०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले जनतासामु पस्केका थिए । त्यतिबेलाको प्रविधि तथा मुलुकको आर्थिक अवस्थालाई हेर्दा यो आश्चर्यलाग्दो सपना थियो । तर ढिलै भए पनि यो सपना पूरा भएको छ ।

यद्यपि, चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको खुला मञ्चबाट मेलम्चीको पानी काठमाडौँ ल्याउने घोषणा उनले गर्दा ‘हावादारी’ गफ भनेर धेरैले उडाए । नियतिले भट्टराई अहिलेसम्म जीवित रहन दिएको भए त्यतिबेला आफूलाई उडाउनेहरूलाई उनले कसरी जबाफ दिन्थे होलान् रु राजनीतिक दल र नेता भनेका मुलुकका लागि शरीर र दिमाग दुवै हुन् । दुनियामा विकास निर्माणका जति पनि ठुला काम भएका छन ती नेताकै सपना र संकल्प शक्तिले पूरा भएका छन् ।

हाम्रो एयरपोर्टबाट दैनिक १ हजार ६०० युवा काम खोज्न बाहिरिन्छन् । बाहिर गएकामध्ये दैनिक ४–५ जनाका दरले बाकसमा फिर्ता हुन्छन् । सयौँ महिलाहरू मालिकका गर्भ बोकेर फर्किन्छन् । यातना, अंगभंग, जेलको बास र बेपत्ताको सूची कहालीलाग्दो छ । वैदेशिक रोजगारीले निम्त्याएको पारिवारिक बिखन्डनको तस्बिर हेर्ने हो भने हाम्रो आफ्नै समाज कुरूप देखिन्छ । सुन फल्ने खेतबारी बाँझा छन्, तर कृषि उपज आयात गर्छौं ।

जनताको चाहना खासै ठुलो छैन । भ्रष्टाचार नियन्त्रण र बलियो सरकारको प्रत्याभूति जनताले चाहेका छन् । युवा बिदेसिन नपरोस्, यहाँ भएका युवा ढुंगा हान्न नभई काममा रमाउन, देशभित्रकै कृषि उपजले पुगोस्, बिरामी पर्दा सहज रूपमा उपचारको व्यवस्था होस्, घरखेत बेच्न नपरोस्, सबैले पढ्न पाउन्, धनीका लागि एउटा र गरिबका लागि अर्को शिक्षाको अवस्था अन्त्य होस् । सामुदायिक सरकारी विद्यालयको गुणस्तर बढोस् । न्याय खरिद गर्नु नपरोस् । लगायत बाहेक नेपाली जनताले धेरै ठूलो आशा राखेका छैनन् । (सौर्य अनलाइनबाट साभार)

११ असार २०८२, बुधबार १४:१९