महिलाको रोजगारीमा सहकारीको योगदान

यो तथ्यांकलाई नेपालको जनसंख्या २०७८ अनुसार विश्लेषण गर्ने हो भने कुल जनसंख्यामा सहकारी सदस्यको प्रतिशत २५ रहेको छ भने कुल महिला जनसंख्यामा महिला सहकारी सदस्यको प्रतिशत २७ दशमलव ५ हुन जान्छ । यसरी नेपालको सहकारी अभियानमा महिलाहरूको सहभागिता व्यापक र तीव्र बन्दै गएको छ ।

गोमा नेपाल
आजको दुनियाँमा उपयुक्त सीप र गुणस्तरीय शिक्षा रोजगारीका सामान्य सर्त हुन् । हरेक क्षेत्रमा, जुनसुकै तहको कामका लागि पनि प्रविधि प्रयोग हुने भएकाले राम्रो शिक्षा र सीप नभएका मानिसले काम पाउने सम्भावना साँघुरिँदै गएको छ । त्यसैले आजको प्रमुख आवश्यकता भनेको गुणस्तरीय शिक्षा र युवाहरूको सीप विकास हो । नेपाली युवालाई देशभित्रै वा विदेशमा राम्रो रोजगारी दिलाउन यो अपरिहार्य छ ।

राजनीतिका लागि सामाजिक सुरक्षाका नाममा राष्ट्रले थेग्न नसक्ने भत्ता बाँड्ने होडबाजी गर्नुभन्दा र रोजगार कार्यक्रमका नाममा उपलब्धि नै हासिल नहुने अल्पकालीन काममा पैसा छर्नुभन्दा सीप विकासका उपयुक्त कार्यक्रम सञ्चालन गर्न जरूरी छ । नेपालमै धेरै रोजगारी सिर्जना गर्न सरकार, निजी क्षेत्र र सहकारीले सक्दो र उपयुक्त प्रयास गर्नुपर्छ ।

सामाजिक संघ संस्थाहरूद्वारा गठन गरिएका महिला समूहहरूका बचत रकमहरूको सुरक्षाका लागि पनि महिला सहकारी संस्था स्थापना भए अर्थात महिला समूहहरू नै सहकारीमा परिणत भएको पाइन्छ । कतिपय समाजका जागरुक अगुवा व्यक्तिहरूको अगुवाई र पहलकदमीमा पनि ग्रामीण महिलाहरूको हक हित र अधिकार स्थापित गर्दै उनीहरूमा जागरण ल्याउन पनि यस्ता सहकारी संस्थाहरू स्थापना गरिएको देखिन्छ ।

महिला सहकारी संस्थाको स्थापना होस् वा सहकारी संस्थामा महिला सहभागिता होस् नेपालको सन्र्दभमा निकै उत्साहप्रद अवस्था रहेको छ । प्रदेश गतरूपमा हेर्ने हो भने मधेस प्रदेशमा धेरै काम गर्न बाँकी छ । सहकारी विभागले ४ वर्षअघि प्रकाशित गरेको तथ्यांकअनुसार कोसी प्रदेशमा ५३ प्रतिशत, मधेस प्रदेशमा ४५ प्रतिशत, वागमती प्रदेशमा ५४ प्रतिशत, गण्डकी प्रदेशमा ५७ प्रतिशत, लुम्बिनी प्रदेशमा ६३ प्रतिशत, कर्णाली प्रदेशमा ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७ प्रतिशत महिला सदस्यहरू सहकारी संस्थामा रहेको अवस्था देखिन्छ ।

यसरी हेर्दा यो तथ्यांकलाई नेपालको जनसंख्या २०७८ अनुसार विश्लेषण गर्ने हो भने कुल जनसंख्यामा सहकारी सदस्यको प्रतिशत २५ रहेको छ भने कुल महिला जनसंख्यामा महिला सहकारी सदस्यको प्रतिशत २७ दशमलव ५ हुन जान्छ । यसरी नेपालको सहकारी अभियानमा महिलाहरूको सहभागिता व्यापक र तीव्र बन्दै गएको छ ।

संयुक्त राष्ट्रसंघले अगाडि सारेको दिगो विकास लक्ष्यको १७ वटा लक्ष्य मध्ये पाँचौँ लक्ष्य लैंगिक समानता र महिला सशक्तीकरण एउटा लक्ष्य हो । जुन लक्ष्य पूरा गर्न सहकारी संस्थाहरूमार्फत महिलाहरूको वित्तीय स्रोतमा पहुँच वृद्धि, लैंगिक हिंसाविरुद्ध चेतना अभिवृद्धि विभिन्न भेला सभा एवं चेतनामुलक ¥यालीहरू शिक्षा र तालिम आदिमार्फत प्रजनन स्वस्थ्य र अधिकार स्थापनाका लागि दबाबहरू बढाएर एवं समग्र आर्थिक, सामाजिक र आत्मनिर्भरताको अधिकार स्थापित गरेर जाने सन्दर्भमा सहकारी संस्थाहरूको ठुलो योगदान रहेको देखिन्छ ।

सहकारी संस्थामार्फत महिलाहरूको क्रमशः नेतृत्व विकास एवं नेतृत्वमा पहुँच अभिवृद्धिसमेत हुँदै गएको पाइन्छ । नेपालको संविधान (२०७२) ले दिएका अधिकार स्थापना गर्ने सवाल होस् वा सबै राजनीतिक व्यवस्थाअनुसार स्थानीय प्रदेश र केन्द्रीय तहमा महिलाको अनिवार्य सहभागिताका सन्दर्भमा नेतृत्व विकासका निम्ति पनि सहकारी संस्थाहरूवाट प्रारम्भ हुँदै गएको नेतृत्वले नै बढीभन्दा बढी स्थान प्राप्त गर्न सकेको देखिन्छ । पछिल्लो तथ्यांकअनुसार पनि सहकारी संस्थाहरूको सञ्चालन गर्ने नेतृत्व तहमा महिला सहभागिता करिब ४० प्रतिशत रहेको देखिन्छ भने सहकारी क्षेत्रको कुल प्रत्यक्ष रोजगारीमा ४८ प्रतिशत महिला कर्मचारीहरूको उपस्थिति देखिन्छ । जुन कुराले पनि सहकारी संस्थाहरूमार्फत नै महिलाहरूमा पुनःर्जागरण ल्याउनमा अहं भूमिका रहेको छ ।

महिलाहरूलाई नेतृत्वमा पु¥याउन तथा विभिन्न व्यावसायिक कार्यहरूमा सहभागिता अभिवृद्धि गर्नका निम्ति पनि सहकारी ऐन २०७४ ले केही विशेष व्यवस्थाहरू पनि गरेको छ । ऐनको दफा ४१ को (२) मा नेतृत्वतहमा भएसम्म ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ भने दफा ३९ को (४) मा एकीकरण गर्ने सवालमा समेत महिला सहकारीलाई सोही प्रकृतिको सहकारीमा हुन सक्ने एकीकरणलाई सहज र सुनिश्चित गरिएको छ । त्यस्तै दफा ७८ को (७) मा छुटको सन्दर्भमा पनि ग्रामीण महिलाहरूलाई सहकारी खेती एवं श्रम र सीपमा आधारित उद्योगहरू स्थापनाका सन्दर्भमा लाग्ने जुनसुकै कर वा अन्य शुल्कमा छुट प्रदान गर्नुका साथै सहुलियतपूर्ण ऋणका निम्ति प्राथमिकतामा राखेको छ ।

यसरी नेपालको सहकारी अभियानमा महिलाको उपस्थिति प्रभावकारी रहेको, नेतृत्व तहमा पनि वृद्धि भइरहेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सहकारी नेतृत्वमासमेत महिलाहरूको उपस्थिति रहेको हुँदा सहकारी अभियानमा महिला सहकारी र महिला सदस्यको विशेष र महत्वपूर्ण भूमिका रहेको स्पष्ट देखिन्छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई पनि सहकारीमार्फत उद्यमशीलतामा जोड्न सकिन्छ । यसका उदाहरणहरू धेरै छन् । सहकारीमार्फत श्रीमतीले उद्यम गर्न थालेपछि श्रीमान वैदेशिक रोजगारीबाट फर्केर त्यही उद्यममा सहभागी भएको उदाहरणहरू निकै धेरै छन् । वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेशमै फिर्ता गरेर रोजगारी दिलाउने हो भने महिला उद्यमशीलता मुख्य उपाय हुन सक्छ ।सौर्यअनलाइनबाट साभार)

१२ श्रावण २०८२, आईतवार ११:२४