मध्य भोटेकोशीले प्राविधिक परीक्षण गर्दै


जनतापत्र, भोटेकोशी ।
मध्य भोटेकोशी जलविद्युत आयोजनाले प्राविधिक परीक्षण सुरु गरिएको छ ।
जिल्लाको भोटेकोशी गाउँपालिकास्थित लार्चामा निर्माणाधीन १०२ मेगावाटको उक्त जलविद्युत आयोजनाले प्राविधिक परीक्षण सुरु गरेको हो ।
कार्तिक २२ गतेदेखि मंसिर १८ गतेसम्म आयोजनाको बाँध, इन्टेक, गेट, डिस्याण्डर, स्टप लग, सुरुङ लगायत अन्य हेडवर्कसका संरचनाहरूको प्राविधिक परीक्षण गरिने भएको छ । उक्त समयमा स्थानीयलाई नदी किनारामा नबस्नको लागि आयोजनाले अनुरोधसमेत गरेको छ ।

भोटेकोशी गाउँपालिका वडा नं. १, २ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं. ३, ५, ६, ७ र ८ का स्थानीयलाई नदी किनारामा गरिने सबै क्रियाकलापलाई बन्द गर्न आयोजनाले सूचना मार्फत जानकारी दिएको छ ।

उक्त सुचनामा लेखिएको छ, ‘परीक्षणको क्रममा उपर्युक्त समयावधिमा आयोजनाको बाँध स्थलमा भोटेकोशी नदीको पानी छेक्ने र छोइने कार्यहरू गरिरहनु पर्ने र कुनै बेला एकै पटक ठूलो परिमाणमा पानी छोड्नुपर्ने भई बाँध स्थलभन्दा तल्लो तटीय क्षेत्र अन्तर्गत भोटेकोशी नदी किनारमा पर्ने
नयाँ पुल, सखुवा, बोर्डर ल्यान्ड, बसेरी, ढालेकुना, जिरो, चित्रे बजार, जम्बु, सिरिसे, खागदल, खुर्सानीबारी, बाह्रबिसे बजार, राम्चे बजार, जुरे तथा सुनकोशी ड्याम साइड बजारसम्म नै भोटेकोशी नदीको पानीको सतह घटबढ भइरहने भएकोले उपर्युक्त अवधिमा भोटेकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ चराउने, ढुंगागिट्टी उत्खनन गर्ने तथा नदी किनारमा कुनै पनि किसिमका कार्यहरू नगर्न नगराउन हुन सर्वसाधारण सबैमा यो सूचना जारी गरिएको छ,’

२३ कार्तिक २०८१, शुक्रबार १३:०५