भोटेकोशीमा नौ अर्बको लगानीमा भोटेकोशी–५ जलविद्युत् बन्ने

जनतापत्र,भोटेकोशी सिन्धुपाल्चोक ।
भोटेकोशी नदीमा ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत् आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ। करिब नौ अर्ब रुपियाँभन्दा बढी लागतमा कालीका इनर्जी लिमिटेडले आयोजना अघि सारेको हो। कम्पनीले तीन वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ। यो आयोजना भोटेकोशी १०२ मेगावाट जलविद्युत् आयोजनाको पावर हाउसबाट निस्किने पानी प्रयोग गरेर सञ्चालन हुने भएको छ। योजनाअनुसार ५.६ किलोमिटर लामो सुरुङ निर्माण गरिनेछ भने ४ किलोमिटर लम्बाइको २२०–४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिनेछ।
आयोजना प्रभावित क्षेत्रमा मंगलबार सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ। प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्दै स्थानीयको सुझाव, सल्लाह र गुनासो संकलन गरिएको हो। कार्यक्रममा कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले आयोजनाले स्थानीय जनताको हितलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनु भएको छ ।
उहाँका अनुसार आयोजनामा स्थानीय स्रोत, श्रमशक्ति र लगानीलाई विशेष प्राथमिकता दिइनेछ। कम्पनीले स्थानीय प्रवद्र्धकको सेयर ५० प्रतिशतसम्म पु¥याउने लक्ष्यसहित अघि बढ्ने जानकारी दिएको छ। सुनुवाइ कार्यक्रममा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, जिल्ला समन्वय समितिका सभापति बालकृष्ण श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतलगायतले आयोजना स्थानीयको उचित माग सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
अध्यक्ष कार्कीले प्रारम्भिक अध्ययनमा नदेखिएका तर निर्माणक्रममा देखा पर्न सक्ने प्रभावहरूको समाधानमा पनि आयोजना सजग रहने बताउनु भएको छ । जलविद्युत् क्षेत्रमा अनुभव बटुलेको कालीका इनर्जी लिमिटेडले भोटेकोशी–५ आयोजनालाई सफलतापूर्वक सम्पन्न गरी राष्ट्रिय ऊर्जा उत्पादनमा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

४ भाद्र २०८२, बुधबार २०:१२