ब्रम्हायणी जलविद्युत आयोजनाले सुरुङ निर्माण कार्यको शुभारम्भ गर्‍यो

जनतापत्र, सिन्धुपाल्चोक, –
ब्रम्हायणी जलविद्युत आयोजनाले ५१ मेगावाट क्षमताभन्दा बढीको जलविद्युत परियोजनाको सुरुङ निर्माण कार्य आइतबारदेखि औपचारिक रूपमा सुरु गरेको छ। जुगल गाउँपालिका–२ स्थित छिन्दाङमा परम्परागत लामा तथा ब्राह्मण विधिअनुसार पूजा–आराधना गरी विस्फोटकको माध्यमबाट पहिलो ब्लास्ट गर्दै सुरुङ निर्माणको कार्य प्रारम्भ गरिएको हो।

तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको यस आयोजना अन्तर्गत तेम्बाथानस्थित महादेव थान नजिकै भूमिगत पावरहाउस निर्माण गरिनेछ।

आयोजनाका अध्यक्ष भरत पराजुलीका अनुसार प्रवर्द्धक शेयर लिनेहरूको संख्या उत्साहजनक रहेकोले आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गरी व्यवसायिक उत्पादनमा ल्याउन सकिने विश्वास लिएको बताउनुभयो। उहाँले सबै पक्षको सहयोग रहेमा आयोजना नाफामा लैजान सकिनेमा पूर्ण विश्वास व्यक्त गर्नुभयो।

२९ बैशाख २०८२, सोमबार ०९:१५