/*php the_title();*/?>

जनतापत्र, दोलखा – प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले संगठनलाई बलियो बनाउन देशभर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभएको छ। वाग्मती प्रदेशको दोस्रो बैठकमा बोल्दै उहाँले सदस्यहरूलाई वैचारिक, व्यावसायिक र क्षमतावान् बनाउन तालिम अनिवार्य भएको बताउनुभयो।

पाण्डेका अनुसार प्रेस चौतारीले यो वर्षलाई ‘प्रशिक्षण वर्ष’ को रूपमा अघि बढाएको छ। संगठन र पार्टीप्रति समर्पित, प्रतिबद्ध र दक्ष पत्रकार उत्पादन गर्नु अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो। तालिमबाट मात्र संगठित कार्यकर्ता तयार हुने भन्दै उहाँले देशका सबै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने स्पष्ट गर्नुभयो।
त्यस्तै, प्रेस चौतारीले विश्वका २५ भन्दा बढी देशका कम्युनिष्ट पत्रकारहरूसँग सम्बन्ध विस्तार गर्न अन्तर्राष्ट्रिय मिडिया फेस्टीवल आयोजना गर्ने योजना बनाएको अध्यक्ष पाण्डेले बताउनुभयो। साथै, हरेक जिल्लामा पार्टीका गतिविधिको समाचार लेख्न एक जना पत्रकार र सामाजिक सञ्जालमा पार्टीमाथि भइरहेका आरोपको प्रत्युत्तर दिन तीन जना चौतारीकर्मी परिचालन गरिने योजना छ।
कार्यक्रममा महासचिव हिरामान लामाले प्रेस चौतारी नेपाल लामो संघर्ष र त्यागपछि सफलताको बाटोमा उभिएको बताउँदै नेतृत्व, नियन्त्रण र सञ्चारलाई प्रभावकारी बनाउँदै संगठनलाई अझ सुदृढ गर्न आग्रह गर्नुभयो।
उहाँले सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेका आक्रमणको विरोध गर्दै सचेत र स्वतन्त्र रूपमा काम गर्न सबैलाई आह्वान गर्नुभयो ।
२८ बैशाख २०८२, आईतवार ०५:०५