/*php the_title();*/?>


निनाम लोवात्ती
मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा ७ अर्ब ९३ करोड ९ लाख ८ हजार मूल्य बराबरको अलैँची भारत निर्यात भएको थियो । पछिल्लो आर्थिक वर्षमा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजारको निर्यात भयो । यो २५ करोड ६८ लाख ७१ हजार रुपैयाँ कम हो ।
अघिल्लो आर्थिक वर्ष नेपालबाट १ खर्ब ५२ अर्ब रुपैयाँको बस्तु निर्यात भएकोमा गत आर्थिक वर्ष २ खर्ब ७७ अर्ब रुपैयाँको बस्तु निर्यात भयो । सरसर्ती हेर्दा मुलुकका लागि यो ऐतिहासिक उपलव्धि हो । तर, यथार्थता भिन्न छ । किनकी गत आर्थिक वर्ष करिब डेढ खर्ब रुपैयाँ मूल्य बराबरको भटमासको तेल, सूर्यमुखी तेल लगायतको निर्यात भएको छ । जो स्वदेशी उत्पादन होइन । जबसम्म देशमै उत्पादित बस्तुको निर्यात बढ्दैन तबसम्म मुलुकले समृद्धि हासिल गर्दैन ।
२ ठुला औद्योगिक देश चीन र भारतले घेरिएको भूपरिवेष्ठित देश नेपालका लागि बस्तु निर्यातमार्फत समृद्धि हासिल गर्न सकिने क्षेत्र अत्यन्त साँघुरो छ । नेपालका सीमित उत्पादनहरू मात्रै विदेश निर्यात हुन सक्छन् । जसमध्ये सबैभन्दा बढी संभावना बोकेको उपज हो अलैँची । नेपालमा विशेष प्रकारको अलैँची उत्पादन हुन्छ । अहिलेसम्म नेपाल, भुटान, भारत, श्रीलंका, मलेसिया र ग्वाटेमाला देशमा मात्रै अलैँची खेती हुने गरेको पाइन्छ ।
यी देशका किसानहरूले उत्पादन गर्ने अलैँचीलाई ठुलो र कालो अर्थात् ‘बिग एन्ड ब्ल्याक कार्डामोम’ भनिन्छ । विश्वमा कहिले र कहाँदेखि यसको व्यावसायिक खेती गर्न सुरु गरियो ? थाहा नभए पनि नेपालमा सिक्किमबाट ल्याएर अलैँची खेती सुरु गरिएको भनाइ रहेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा अलैँचीको कारोबार ८० हजारबाट सुरु भएर १ लाख १२ हजार प्रतिमनसम्म पुग्यो । १ मनमा ४० किलो हुन्छ । राम्रै मूल्यमा कारोबार हुँदा पनि अघिल्लो आर्थिक वर्षको जस्तो आम्दानी भने नेपालले लिन सकेन । अघिल्लो वर्षको तुलनामा ३ दशमलव २ प्रतिशत कम निर्यात भयो । मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा ७ अर्ब ९३ करोड ९ लाख ८ हजार मूल्य बराबरको अलैँची भारत निर्यात भएको थियो । पछिल्लो आर्थिक वर्षमा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजारको निर्यात भयो । यो २५ करोड ६८ लाख ७१ हजार रुपैयाँ कम हो ।
भन्सार कार्यालयका अनुसार अघिल्लो वर्ष ५० लाख ९ हजार किलो निर्यात भएको थियो भने पछिल्लो वर्ष ४२ लाख ९४ हजार किलो निर्यात भएको थियो । नेपालमा उत्पादित अधिकांश अलैँची मेची भन्सारबाट निर्यात हुन्छ । सानो परिमाणमा वीरगन्ज भन्सारबाट निर्यात हुने गरेको छ ।
अलैँँची खेतीका लागि समुन्द्र्री सतहदेखि ६–७ सय मिटरदेखि २१–२२ सय मिटरसम्म उपयुक्त मान्ने गरिएको छ भने ७–८ सेन्टिग्रेटदेखि १९–२० सेन्टिगे्रट तापक्रम उपयुक्त हुन्छ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, गोरखा, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, कास्की, लमजुङ, पर्वत, स्याङ्ज, बागलुङ, सल्यान, अछाम दैलेखलगायत लगभग ४२ जिल्लामा अलैँचीको खेती भइरहेको छ । अलैँची खेती हुने प्रमुख जिल्लाचाहिँ ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा रहेका छन् । अलैँची विकास केन्द्र फिक्कलका अनुसार नेपालमा विगतमा प्रमुख ३ जातका अलैँची उत्पादन हुने गरेकोमा पछिल्लोपटक अरू २ जातको अलैँची विकास गरी ५ जातको अलैँची खेती गर्न सिफारिस गरेको जनाएको छ ।
नेपाल भौगोलिक हिसाबले सानो भए पनि साधन–स्रोतहरूमा विश्वका कैयौँ देशहरूभन्दा धनी रहेको छ । त्यसमा पनि प्राकृतिक स्रोतहरू जस्तै वनस्पति, जडीबुटी, वन–जंगल, प्राकृतिक रूपमै रहेको हरियाली वन–जंगलका सवालमा पनि विश्वका कुनै देशभन्दा कम रहेको छैन ।
हाम्रो देशमा हजारौँ प्रकार जडीबुडीजन्य वनस्पती, झ्याउ, लेउ, बुट्यान, लहरा, ठुलठुला रूख जस्तै वर, पीपल, खयर, शमी आदि पाइन्छ । नेपालमा हुने वा भनौँ गरिने धेरै प्रकारका नगदे बालीहरूमध्ये चिराइतो, अलैँची, अम्रिसो आदि प्रमुख रहेका छन् । यस्तै यहाँ नगदे बाली अलैँचीका बारेमा केही लेख्दै छु ।
केही समयअघि दुनबहादुर बुढाथोकीले लेखेको एक लेखअनुसार आर्थिक वर्ष २०७३–०७४ मा नेपालका अलैँची किसानहरूले १२ हजार ८४७ मेट्रिक टन अलैँची उत्पादन गरेका थिए । दुनबहादुर बुढाथोकीको सोही लेखमा उल्लेख भएअनुसार सन् २०१६ मा विश्व बजारमा निर्यात भएको अलैँचीमा नेपालको ६८ प्रतिशत भाग रहेको थियो । त्यसपछि भारतको २२ र भुटानको ९ प्रतिशत अंश रहेको थियो ।
‘अलैँची’ मात्रै यस्तो एक नगदे बाली हो, जुन किसानले थोरै मिहिनेतले धेरैभन्दा धेरै आम्दानी गर्न सक्छन् । तर त्यसका लागि केही सेपिलो, चिस्यान र मलिलो माटो भएको जग्गा हुनुचाहिँ जरुरी हुन्छ । अझ त्यसमा पनि उत्तिस जातको रुखमुनि ‘अलैँची’को बिरुवा छिटो हुर्कन्छ, राम्रोसँग सप्रिन्छ ।
विगतमा पनि ‘अलैँची’ खेती गर्ने किसानले राम्रो आम्दानी गरे पनि बीचमा खासै आर्थिक लाभ लिन सकेका थिएनन् । त्यसो हुनुमा ‘अलैँची’को बोट नै ओइलिने, सुकेर जाने र बोट नै मर्नेसम्म भयो भने त्यही बेला भाउ घटेर गयो । त्यतिबेला नेपाली अलैँचीको भाउ घटेर प्रतिमन ११–१२ देखि बढीमा १४–१५ हजार रुपैयाँ मात्रै पाउने स्थिति बन्यो । नेपाली अलैँची किसानहरूले बढीमा १७–१८ हजार रुपैयाँसम्ममा बेच्नुपरेको दुःखद् र निराशलाग्दो अवस्था पनि आइपरेको थियो ।
सुरुमा नेपालका पूर्वी भेगका किसानहरूले राम्रो आम्दानी गरेको देखेपछि नेपालका अन्य क्षेत्रका किसानहरूले पनि अलैँची खेतीमा हात हाले । यसरी हेर्दा धेरै लामो समयसम्म नेपालको पूर्वी भागमा मात्रै सीमित रहेको अलैँची खेती नेपालको मध्य, पश्चिम र मध्यपश्चिमसम्म फैलियो ।
अलैँची नेपालका पहाडी तथा हिमाली भूभागमा भने ८–९ सय उचाइदेखि १५–१६–१७ सय मिटरको उचाइसम्ममा अलि राम्रो उत्पादन गर्न सकिन्छ । जे भए तापनि विगत लामो समयदेखि नेपालको पूर्वी भेग जस्तै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा आदि जिल्लामा नगदे बालीका रुपमा अलैँची खेतीबाट किसानहरूले राम्रो आम्दानी गर्दै आएका थिए, छन् । अहिले आएर भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, कास्की, लमजुङ, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, बाजुरा, दैलेख, बैतडीलगायत पश्चिम तथा सुदूर पश्चिमका जिल्लाहरूमा पनि अलैँची खेतीका लागि बिरुवा सार्ने, रोप्ने क्रम सुरु भएको छ ।
ठुलो अलैँचीको महत्व पछिल्लो समयमा चीन, मध्यपूर्व, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका एवं अफ्रिकाका देशहरूमा समेत बढ्दो क्रममा निकासी हुन थालेकोले पनि प्रष्ट पारेको छ । तर, हामी नेपालीहरूका लागि अलैँची निकासीमा मूल समस्या भनेको भारतीय व्यापारीहरू र भारत सरकारले नेपालमा उत्पादन भएका अलैँचीलाई आफूले मात्रै किन्ने र त्यही अलैँची फेरि आपूmले ब्रान्डिङ गरेर अरू देशलाई आफ्नो देशको उत्पादन भनी बेच्ने गरेको छ । जुन काम सरासर गलत हो । त्यसैले यस्तो कामलाई तत्कालै रोक्न र नेपाल आफैँले आफ्नै ढंगले हामीले उत्पादन गरेको अलैँचीको ब्रान्डिङ गर्नेतर्फ नेपाल सरकार र सम्बन्धित निकायले कदम चालिहाल्नुपर्ने देखिन्छ । (सौर्यअनलाइनबाट साभार)
८ श्रावण २०८२, बुधबार ११:०६