धरमपानी सामुदायिक बनमा साधारणसभा , सांसद सापकोटाबाट भवन उद्घाटन

सुनिता रखाल । सिन्धुपाल्चोक –
बलेफी गाउँपालिका–४ मा अवस्थित धरमपानी सामुदायिक बन उपभोक्ता समूहको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । साथै वन समुहको भवन उद्घाटन समेत गरिएको छ । सो कार्यक्रममा संघीय सांसद माधव सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


सांसद सापकोटाले समुदायको सक्रिय सहभागितामार्फत वनको संरक्षण र सदुपयोग गर्नुपर्नेमा जोड दिँदै पर्यटन विकासका सम्भावनाहरूको खोजी र प्रबद्र्धन गर्न आफ्नो तर्फबाट आवश्यक पहल गरिने बताउनुभयो । उहाँले नीति निर्माणदेखि कार्यान्वयनसम्म समुदायको आवाजलाई प्राथमिकता दिइने आश्वासन दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले पालिकाबाट आवश्यक सहयोग निरन्तर प्रदान गरिने जानकारी दिनुभयो । उहाँले स्थानीय तह र समुदायको सहकार्यमार्फत सामुदायिक बनको प्रभावकारी व्यवस्थापन सम्भव हुने उल्लेख गर्नुभयो।
सामुदायिक बन उपभोक्ता महासंघ, बागमती प्रदेश महासंघका सदस्य टीका सुबेदिले वर्तमान वन नीतिमा सुधार आवश्यक रहेको बताउँदै संघीय सांसदलाई नीति परिमार्जनमा अग्रसर हुन आग्रह गर्नुभयो। उहाँले सामुदायिक बनको सही उपयोग र व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय अपरिहार्य रहेको धारणा राख्नुभयो।
कार्यक्रममा डिभिजन बन कार्यालयका रमेश दुलाल, बिन्जेल दुग्ध उत्पादक सहकारी अध्यक्ष खिका नेपाल, उपभोक्ता महेश नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। समूहकी सचिव सावित्री नेपालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष दिगबहादुर सुबेदिले गर्नुभएको थियो। कार्यक्रममा भजन तथा सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको थियो। कार्यक्रममा उपभोक्ता, जनप्रतिनिधि र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो। सोही कार्यक्रमको अवसरमा वन समूहका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

४ जेष्ठ २०८२, शनिबार १८:०४