दूरसञ्चार सेवाबाट सरकारले उठायो ३ अर्ब ५० करोड राजस्व

नेपाल सरकारले फ्रिक्वेन्सी प्रयोग गरेबापत सेवा प्रदायकबाट गत आर्थिक बर्षमा ३ अर्ब ५० करोड २६ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । तर यो अघिल्लो आर्थिक बर्षको भन्दा २ करोडले कम हो । असर्थक बर्ष ०७९/८० मा फ्रिक्वन्सी प्रयोगबापत सरकारले ३ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

फ्रिक्वेन्सी प्रयोग गरेबापत १२ सेवा प्रदायक कम्पनीले प्राधिकरणलाई दस्तुर बुझाउँदै आएका छन्। जसमा सबैभन्दा धेरै फ्रिक्वेन्सी दस्तुर मोबाइल सेवा प्रदायक एनसेलले बुझाएको छ । एनसेजलले एक अर्ब ८८ करोड ९ लाख २ हजार ५०० रुपैयाँ बुझाएको छ।त्यस्तै नेपाल दूरसञ्चार कम्पनीले एक अर्ब ६२ करोड १४ लाख ९९ हजार ९८० रुपैयाँ बुझाएको छ।

मर्कन्टाइल कम्युनिकेसन्सले ६ हजार रुपैयाँ बुझाएको छ। सिता बीभी, बुटबल पवार कम्पनी, ईको स्मार्ट र भोटेकोशी पावर कम्पनीले फ्रिक्वेन्सी प्रयोग गरेबापत एक/एक हजार रुपैयाँ बुझाएका छन्। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले फ्रिक्वेन्सी प्रयोग गरेबापत २३ हजार रुपैयाँ बुझाएको छ भने आई टेक्नोलोजीले फ्रिक्वेन्सी प्रयोग गरेबापत ६४ हजार रुपैयाँ बुझाएको छ। कन्स्टेलेसनले फ्रिक्वेन्सी प्रयोग गरेबापत एक लाख २० हजार रुपैयाँ बुझाएको छ। एसएसभीसी रेडियो काठमाडौंले एक हजार ३०० रुपैयाँ बुझाएको छ। एभरेष्ट लिंकले ५५ हजार बुझाएको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ ।

यस्तै नेपालमा दूरसञ्चार सेवामा प्रयोग हुने इन्टरनेट ब्याडविथ र उपकरण लगायत खरिद मार्फत ४ अर्ब ७३ करोड १४ लाख ५० हजार ९०४ रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ९२ करोड ९९ लाख एक हजार ७७५ रुपैयाँ विदेशी मुद्रा सटहिको लागि सिफारिस गरिएको थियो। अघिल्लो अवाको तुलनामा गत आवमा विदेशी मुद्राको सिफारिस ८० करोड १५ लाख ४९ हजार १२९ रुपैयाँ अर्थात २०.३८ प्रतिशतले बढेको छ।

गत आवमा नेपाल दूरसञ्चार प्राधिकरणले १० सेवा प्रदायक कम्पनीलाई विदेशी मुद्रा सटहिको लागि सिफारिस गरेको देखिन्छ। जसमा सबै भन्दा धेरै वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले प्राप्त गरेको छ। वर्ल्डलिंकले एक अर्ब ८९ करोड ७० लाख २७ हजार ५०० रुपैयाँ अर्थात कुल विदेशी मुद्रा सिफारिसको ४०.०९ प्रतिशत रहेको छ।

भायानेट कम्युनिकेसनले ६५ करोड ८७ लाख ५५ हजार ४९ रुपैयाँ, एनसेलले ५७ करोड ७३ लाख ६० हजार ७२६ रुपैयाँ, सुबिसु केबल नेट प्रालिले ५० करोड ५१ लाख ३३ हजार ९१८रुपैयाँ, नेपाल डिजिटल आईसर्भिस प्रालिले ३९ करोड ४ लाख ९९ हजार २०० रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ३३ करोड ११ लाख ६७ हजार ३४८ रुपैयाँ, क्लासिक टेक प्रालिले २७ करोड ६९ लाख ११ हजार ७६० रुपैयाँ वैदेशिक मुद्रा सटही सिफिरिस प्राप्त गरेको छन।

त्यस्तै डिश मिडिया नेटवर्क लिमिटेडले ६ करोड ८७ करोड ७० लाख ८७१ रुपैयाँ, कन्सटेलेसन प्रालिले १ करोड ५३ लाख २८ हजार ५३२ रुपैयाँ,
मर्कनटाइल कम्युनिकेसन प्रालिले १ करोड ४ लाख ९६ हजार रुपैयाँ वैदेशिक मुद्रा सटही सिफिरिस प्राप्त गरेको छन।

२१ फाल्गुन २०८०, सोमबार १४:४०