दिमागको जग यसरी खलबल्याइ दिँदैछन् सामाजिक सञ्जालले

हालै अमेरिकाका दक्षिणपूर्वी राज्यहरूमा लगालग हेलिन र मिल्टन नामक तुफानहरू आए। धनजनको व्यापक क्षति भयो।

सन् २०१७ यता मात्रै अमेरिकामा ८ ठूला तुफान आइसकेका छन्। संसारका अरू धेरै देशमा पनि पहिले शताब्दीमा एकपल्ट आउने गरेका भीषण विपत्तिहरू वर्षैपिच्छे जस्तो आउने गरेका छन्।

तिनको बारम्बारता र क्षति दुवै बढ्नुमा मानव सिर्जित जलवायु परिवर्तनको मुख्य भूमिका छ भन्नेमा वैज्ञानिकहरू एक मत छन्।

तर यी दुवै तुफानपछि अमेरिकाको फ्लोरिडा र नर्थ क्यारोलिना लगायतका राज्यका धेरै राज्यहरूमा यिनको दोष पाउनेमा जलवायु परिवर्तन थिएन, मौसम पूर्वानुमान गर्ने र मौसम बुलेटिन पढ्ने मानिसहरू थिए। उनीहरू लगायतका मानिसले जानी जानी तुफान गराएको वा निश्चित दिशामा होमेर खास ठाउँहरूमा ठूलो क्षति पु¥याएको भनेर मानिसहरूले तिनलाई बारम्बार ज्यान मार्ने धम्की समेत दिइरहे। सञ्जालहरूमा षड्यन्त्र कथाहरूको बाढी नै आयो।

कतिसम्म भने अमेरिकी संसदको तल्लो सदनमा निर्वाचित मार्जोरी टेलर ग्रिनले ’हो, उनीहरूले मौसम नियन्त्रण गर्न सक्छन्, सक्दैनन् भनेर ढाँट्नु बेकारको कुरा हो’ भनेर एक्स (ट्विटर) मा पोस्ट गरिन्।

वैज्ञानिकहरूको हिसाब अनुसार हेलिन तुफानका बेला मात्रै अमेरिकाको सानो भूगोलमा ४० ट्रिलियन ग्यालन अर्थात् १,५१२ खर्ब लिटर पानी समुद्रबाट उचालिएर भारी वर्षाका रूपमा खनिएको थियो।

तर मानिसहरू त्यसको कारण दुई शताब्दीसम्म करोडौं मानिसले उत्सर्जन गरेको कार्बन हो भनेर मान्नुभन्दा ’मौसम’ भन्ने केही दर्जन मानिसहरू हुन् भनेर मान्न तयार थिए। सिंगो नर्थ क्यारोलिना राज्यलाई एक मिटरभन्दा बढी पानीमा डुबाउन सक्ने गरी आएको तुफान मानिसले केही जहाज पठाएर वा कृत्रिम वर्षा गराउने रसायन पठाएर सुरू गर्न सक्छन् भन्ने उनीहरूको विश्वास थियो।

मानिसको मस्तिष्क आखिर किन यतिविधि ’सड्कियो’? ऊ यथार्थबाट कसरी यति साह्रो विच्छेदित भयो? यो क्रम जारी रह्यो भने मानव समाज कता पुग्ला? र, सबभन्दा महत्त्वपूर्ण कुरा — यसरी प्रभावित हुन सक्ने मानिसको मस्तिष्कले आधारभूत रूपमा कसरी काम गर्छ?

ल्अभिि
अहिले दर्शनशास्त्रीहरूको खास समूहले न्युरोवैज्ञानिकहरूसँग मिलेर यी प्रश्नको जबाफ खोजिरहेको छ। यस्ता विषयमा शोध गरिरहेका वैज्ञानिकहरूबीच लोकप्रिय मस्तिष्कको नयाँ मोडलसित म हालै एउटा पोडकास्टमार्फत परिचित भएँ।

उक्त पोडकास्टमा मार्क मिलर नामक न्युरोविज्ञानका दार्शनिकको लामो कुरा सुनेपछि मैले ’न्युरोसाइन्स अफ कन्ससनेस’ नामक जर्नलमा प्रकाशित उनीसहितका तीन वैज्ञानिकको जर्नल आलेख पढेँ। शीर्षक थियो — डिजिटल बिइङः सोसल मिडिया एन्ड द प्रेडिक्टिभ माइन्ड।

अंग्रेजीमै उक्त लामो पेपरको सारांश र मुख्य हिस्साहरू पढ्न चाहनुहुन्छ भने मैले न्युजलेटरका रूपमा पठाएको यो सामग्री हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ।

समग्रमा जर्नल आलेखको निश्कर्ष — हाम्रो मस्तिष्कले जुन सूचनाहरूका आधारमा संसारका बारेमा आफ्नो धारणा या मोडल बनाउने हो, गलत सूचनाको बाढीलाई आँखा र कान हुँदै भित्र ठेलिदिएर सञ्जालहरूले मस्तिष्कको ’जेनेरेटिभ मोडल’ को जगलाई नै ध्वस्त पार्दैछन्।

मानिस लाखौं वर्षदेखि आफू वरिपरिको विश्वबारे यथार्थ सूचना लिएर त्यसैका बलमा बाँच्दै र फैलिँदै आएको प्रजाति हो। अब पहिलो पटक ऊ त्यस्तो यथार्थ सूचनाबाट आफै वञ्चित हुँदैछ र त्यस्तो वञ्चनाका माध्यम बनिरहेका छन् सामाजिक सञ्जाल।

कल्पना गर्नोस् त, जलवायु परिवर्तनले होइन, एकाध दर्जन मानिसले हजारौं खर्ब लिटर पानीसहितको वर्षा गराउँछन् भनेर पत्याउनुअघि फ्लोरिडा र नर्थ क्यारोलिनाका मानिसहरूले सञ्जालमा कतिपल्ट यस्ता फर्जी कुराहरू सुने–पढे होलान्?

यस्ता कुराहरूको सही व्याख्या किन पनि महत्त्वपूर्ण छ भने प्राकृतिक विपत्तिजस्ता भयंकर समस्याहरूसित कसरी जुध्ने भन्ने कुरा तिनका कारण के हुन् भन्ने बुझाइसित प्रत्यक्ष जोडिएका छन्। दर्जन मानिस मारेर विपत्ति थाम्न सकिन्छ भने कार्बन उत्सर्जन कम गर्नेजस्ता कष्टसाध्य उपायहरूको पछि किन लाग्ने? मानिसहरूको यस्तै बुझाइका कारण अहिले अमेरिका लगायत धेरै धनी र उच्च कार्बन उत्सर्जन गर्ने देशहरूले विनाशकारी जलवायु नीति अँगालिरहेका छन्।

परिणाम — तपाईं हामी लगायत समग्र मानव सभ्यताको भविष्य छोटिँदो छ र अस्तित्व नै संकटोन्मुख छ।

उल्लिखित दुवै सामग्री कैयौंपल्ट दोहो¥याइ तेहे¥याइ सुने र पढेपछि यस विषयमा विज्ञानको पृष्ठभूमि नहुने र अंग्रेजीमा दख्खल नहुने नेपाली पाठक–स्रोताहरूका लागि सहज होस् भनेर मैले नेपालीमा चार व्याख्यात्मक भिडिओको शृंखला तयार पारेको छु।

तीमध्ये पहिलो अंकमा मैले सामान्यतः न्युरोविज्ञानमा किन चासो दिने र त्यो क्षेत्रको बुझाइले कसरी हाम्रो दैनिक जीवनलाई कसरी सहज बनाउँछन् भनेर चर्चा गरेको छु।

दोस्रोमा, मानिसको भावनात्मक जीवनमा डोपामिन नामक रसायनको प्रभाव अनि पढाइको न्यरोविज्ञानबारे अध्येता र प्राज्ञ मेरियन वोल्फले मानिसको मस्तिष्कबाट पढाइको ’सर्किट’ कसरी हराउँदैछ भनेर गरेको व्याख्यालाई समेटेको छु।

तेस्रो भिडिओमा मैले मानव मस्तिष्कलाई क्यामेराजस्तो निस्क्रिय मेसिनभन्दा पनि च्याट–जिपिटीसित तुलना गर्न मिल्ने ’जेनेरेटिभ मोडल’ का रूपमा व्याख्या गर्ने मस्तिष्कको नयाँ र तीव्र रूपमा विकास भइरहेको मोडलको बिस्तारमा चर्चा गरेको छु।

अनि यो चौथो भिडिओमा सामाजिक सञ्जालले मस्तिष्कको उल्लिखित जेनेरेटिभ मोडललाई कसरी ध्वस्त पार्दैछ भन्ने कुरा मुख्यतः मार्क मिलर र अरू दुई वैज्ञानिक मिलेर लेखेको उल्लिखित जर्नल आलेखको आधारमा व्याख्या गरेको छु। (सेतोपाटिबाट साभार)

११ कार्तिक २०८१, आईतवार ०५:५७