तातोपानी नाकाबाट पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपाल प्रवेश केही दिनमै काठमाडौं उड्ने

आइसिँ तामाङ,तातोपानी सिन्धुपाल्चोक ।
भोटेकोसी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपाल भित्रिएको छ। आडो ट्रान्सपोर्ट कम्पनीले ४० फिटे टेलरमा राखेर चीनबाट नेपालसम्म ल्याएको यो हेलिकोप्टर माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको हो।तातोपानी भन्सारको यात्रु शाखामा हेलिकोप्टर अनलोड गरिएको छ। माउन्टेनले कूल पाँचवटा चिनियाँ हेलिकोप्टर खरिद गरेको छ, जसलाई क्रमशः यही नाका हुँदै काठमाडौं ल्याइनेछ। तातोपानी भन्सारका सूचना अधिकारी सूर्य काफ्लेका अनुसार हेलिकोप्टरको मूल्यअनुसार कर निर्धारण भई झन्डै ४ करोड १२ लाखभन्दा बढी राजस्व संकलन हुनेछ। उनका अनुसार भन्सार जाँच एक–दुई दिनमै सकिनेछ। “प्राविधिक टोलीले हेलिकोप्टरको अवस्था परीक्षण गरेपछि सीधै तातोपानीबाट काठमाडौं उडाइनेछ,” उनले जानकारी दिए। तातोपानी नाका सञ्चालनमा आएपछि ठूला र प्रविधिमैत्री सामग्री आयात सहज भएको संकेतस्वरूप यो हेलिकोप्टर आयातलाई अर्थपूर्ण मानिएको छ।

१९ असार २०८२, बिहीबार १३:३५