जुगल हिमाल आरोहणमा पर्वतारोहीको लर्को


जनतापत्र, जुगल ।
बर्षायाम सकिएको छ । सो लगतै देश बिदेशका पर्वतारोही जुगल हिमाल आरोहणका लागि सिन्धुपाल्चोक भित्रिन थालेका छन् । असोज १८ गते ६ स्पेनिस पर्वतारोही जुगल हिमाल पुगेका छन् ।
पाँच महिला र एक पुरुष स्पेनिस जलबिरे, तेम्बाथाङ हुँदै जुगल हिमशृंखलामा अवस्थित ६ हजार ७९९ मिटर उचाइको हिमाल भैरव टाकुरा आरोहण गर्ने तयारीका साथ जुगल यात्रामा निस्किएका छन् ।
भैरव टाकुरामा अहिलेसम्म कुनै आरोही पुगेका छैनन्। जुगल हिमश्रृंखलामा ६ हजार मिटरभन्दा माथिका १४ वटा हिमचुचुराहरू रहेका छन्।
सन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङले मिरफाम मार्को सानचेजको नेतृत्वमा माटालेन रोजो एर्गोरेन, अमाफा सेगुरोला बारन्डा, युक्सुउ लोफ्जु आस्कासो, मिस्टर यान्टिएगो पान्ड्रोज काल्भाचे र रुथ फोर्नोस नेबट आरोहणमा रहेका छन्। उनीहरू सबै दक्ष पर्वतारोही भएको जानकारी दिनुभयो ।
उहाँले ड्रिम क्यारियर ट्रेक्स एन्ड एक्पेडिसन कम्पनीले हिमाल आरोहणको व्यवस्थापन गरेको जनाउनुभयो ।
जुगल हिमशृंखलामा त्यस्ता हिमालहरु नी रहेका छन् जहाँ आज सम्म पनि कसैले पाइला टेकेका छैनन् ।
तर पछिलो समयमा विदेशीहरू अनक्लाइम्ब पिक चढ्न मन पराउने हुनाले हिमाल आरोहीहरू जुगलमा निकै बढ्न थालेका हुन् ।
जुगल हिमशृंखलामा विभिन्न चुचुरामध्येको ६,१५१ मिटरको ग्याल्जेन पिक २०७५ सालमा आरोहण भएको थियो। त्यही आरोहण जुगल क्षेत्रका लागि कोसेढुंगा साबित भएको छ। २०७५ देखि हालसम्म ५० विदेशीले जुगल आरोहण गरेका छन्। अमेरिका, बेलायत, स्पेन, कोरियन, मेक्सिको र सिंगापुरका नागरिकले आरोहण गरिसकेका छन्।
पर्यटकको आगमनसँगै स्थानीयको आम्दानी पनि बढ्न थालेको छ। गत वैशाखमा १० कोरियन र चार ब्रिटिस जुगल पुग्दा स्थानीयले ११ लाख कमाएको तामाङले जानकारी दिए। स्थानीयले सहयोगी गाइड, कुक, गाडी, भरिया, जोप्के र खच्चडको काम पाएका छन्। पर्यटक बढ्न थालेपछि स्थानीयले छेन्दाङ र नेपेमाछालमा होटेलहरू बन्न थालेका छन् ।

२० आश्विन २०८१, आईतवार १२:३९