/*php the_title();*/?>

प्रमिला वि.क, चौतारा ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित जुगल बोर्डिङ्ग हाइस्कुलमा शिक्षण–सिकाइका आधारहरूबारे शिक्षकहरूका लागि विशेष प्रशिक्षण कार्यक्रम सुरु भएको छ। विद्यालयकै आयोजनामा भएको यो कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने छ।
कार्यक्रमको पहिलो दिन शिक्षण क्षेत्रमा विशेष योगदान पुर्याउँदै आउनुभएका प्रतिष्ठित नेपाली शिक्षाविद्, लेखक तथा सामाजिक अभियन्ता प्रोफेसर रमेशप्रसाद भट्टराईले प्रशिक्षण सत्र सञ्चालन गर्नुभयो । उहाँले शिक्षकहरूलाई परम्परागत
व्याख्यान विधिको सट्टा विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिमा जोड दिनुहुँदै श्रव्य दृश्य सामग्री, समूह छलफल, र प्रस्तुतीकरणको प्रयोगले सिकाइलाई दिगो बनाउने उल्लेख गर्नुभयो।

कार्यक्रममा पूर्व–प्राथमिक, प्राथमिक र माध्यमिक तहका शिक्षकहरूले विद्यार्थी अध्ययन गर्ने तरिकाका सम्बन्धमा आ–आफ्ना प्रस्तुतिहरू दिएका थिए। शिक्षकहरूमाझ प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित देवीप्रसाद घिमिरे, जो सिस्नु पानी नेपाल हास्यव्यङ्ग्य सदनका संस्थापक सदस्य तथा पूर्व निर्देशक समेत हुनुहुन्छ, कार्यक्रमको सह–सञ्चालनमा रहनुभएको थियो। उहाँले शिक्षणसँग सम्बन्धित विविध विषयहरूमा प्रेरणादायी विचारहरू प्रस्तुत गर्नुभएको थियो।

विद्यालयका २६ जना शिक्षकहरू यो कार्यक्रममा सहभागी भएका थिए। यसका अतिरिक्त, आजकै दिन विद्यालयका विद्यार्थीहरूलाई समेत छुट्टै प्रशिक्षण दिइएको थियो। प्रशिक्षक रविन कटवालले विद्यार्थीहरूलाई अनुशासन, जीवनमा असल शिक्षा कसरी प्राप्त गर्ने, तथा लक्ष–निर्धारणलगायतका विषयमा सजीव प्रशिक्षण दिनुभयो।
कार्यक्रमको अन्त्यमा विद्यालयका प्रधानाध्यापक ओमप्रकाश उप्रेतीले मन्तव्य दिँदै प्रशिक्षणबाट प्राप्त ज्ञानलाई दैनिक शिक्षण कार्यमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो। “शिक्षकले सिकेको कुरा व्यवहारमा उतारेमा मात्र शिक्षण प्रभावकारी हुन्छ,” उहाँले भन्नुभयो।

विद्यालयका अनुसार भोलि पनि प्रशिक्षण कार्यक्रमको दोस्रो दिन ‘अभिभावक शिक्षा’ शीर्षकमा सञ्चालन हुने छ। उक्त विशेष कार्यक्रम सहिद स्मृति भवन, गैरीगाउँमा हुनेछ। यसमा पनि उत्प्रेरक प्रशिक्षक रविन कटवालकै प्रशिक्षण रहने जनाइएको छ।
३१ जेष्ठ २०८२, शुक्रबार १९:५४