चौतारा साँगाचोकगढी–१० मा राष्ट्रिय परिचयपत्र वितरण र पञ्जिकरण सेवा

सुनिता रखाल, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका–१० खत्रिथोकमा विहिबार राष्ट्रिय परिचयपत्र वितरण तथा पञ्जिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जेष्ठ नागरिक, शिक्षक, बिरामी तथा गर्भवती महिलालाई विशेष प्राथमिकताका साथ राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो। सो अवसरमा जन्म दर्ता, नागरिकताको प्रतिलिपि सिफारिस, घर–जग्गा सम्बन्धी तिरो तिर्ने लगायतका पञ्जिकरणसम्बन्धी सेवा पनि प्रदान गरिएको वडा कार्यालयले जनाएको छ। गाउँ–गाउँमै पुगेर सेवा उपलब्ध गराउने यस प्रयासले सर्वसाधारणलाई सहज र छिटो सुविधा प्राप्त गर्न सहयोग पुगेको स्थानीयवासीले बताएका छन्। वडा अध्यक्ष निलबहादुर तामाङले, “सर्वसाधारणलाई सुविधा दिन गाउँमै पुगेर सेवा दिनु हाम्रो प्राथमिकता हो। विशेषतः जेष्ठ नागरिक र असक्त व्यक्तिहरूलाई सहज बनाउन यो कार्यक्रम प्रभावकारी भएको छ,” भन्नुभयो। त्यसैगरी सेवाग्राही स्थानीयवासी राम कुमार पाठक, केसर बादुर खड्का , भिम्सेन मा बि का प्र अ भिम कार्किले भने,“अब नागरिकता प्रतिलिपि वा जन्मदर्ता जस्ता कामका लागि वडा धाउनुपरेन, घरआँगनमै सेवा पाएर धेरै राहत भएको छ।”
कार्यक्रममा वडा सचिव पुनम भण्डारीसहितको टोली सक्रिय रहेको थियो। सेवाप्रवाहको क्रममा वडा नम्बर १० का सुकुटे, साठिमुरे, कार्किटार, जल्केनि, हर्रे लगायतका बस्तीमा पुगेर आवश्यक सेवा वितरण गरिएको वडा अध्यक्ष निल बहादुर तामाङले जानकारी दिनुभयो ।

१९ भाद्र २०८२, बिहीबार १४:४७