/*php the_title();*/?>

सुनिता रखाल, सिन्धुपाल्चोक-
चौतारा साँगाचोकगढी नगरपालिका महिला सञ्जालको आयोजनामा र नगरपालिकाको सहयोगमा महिला नेतृत्व विकासका लागि तीन दिने उद्घोषण तथा प्रस्तावना तालिम संचालन भएको छ। जेठ १४ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको तालिममा नगरभित्रका विभिन्न वडाबाट आएका महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिमको उद्देश्य महिलाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, सार्वजनिक बोल्ने कला तथा प्रस्तुतीकरण सीप विकास गर्नु रहेको नगर सञ्जालकी अध्यक्ष जानुका पराजुलीले बताइन्।
तालिमको प्रमुख अतिथि नगरप्रमुख कृष्णप्रसाद सापकोटाले महिलाको दक्षता विकासमा यस्ता तालिमहरू महत्त्वपूर्ण हुने उल्लेख गर्दै नगरपालिकाले महिलालाई आयआर्जनसँग पनि जोड्दै जाने नीति लिएको जानकारी दिनुभयो। उहाँले महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रमहरू थप प्रभावकारी ढंगले सञ्चालन गरिने प्रतिवद्धता जनाउनुभयो।

नगर उपप्रमुख सिता थापाले महिलालाई सीप विकासमार्फत रोजगारमुखी बनाउँदै आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यस्ता तालिमले उनीहरूलाई समाजमा सशक्त रूपमा अघि बढ्न मद्दत पुर्याउने धारणा राखिन्।
तालिममा सहभागिहरूले उद्घोषण, प्रस्तुतीकरण, प्रस्ताव लेखन, समूहगत छलफल लगायतका अभ्यासहरूमा सहभागिता जनाएका थिए। सहभागीहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्। तालिम समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
१५ जेष्ठ २०८२, बुधबार १७:१४