चौतारा साँगाचोकगढीमा अन्तरजातीय विवाह, अपाङ्गता र छोरी–बुहारीलाई सम्मान

सुनिता रखाल, सिन्धुपाल्चोक —
लैङ्गिक समानता, जातीय विभेदको अन्त्य र समावेशी समाज निर्माणका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ। न्यायिक समितिको पहलमा सम्पन्न उक्त कार्यक्रममा अन्तरजातीय विवाह गर्ने जोडी, अपाङ्गता भएका कर्मचारी तथा उच्च शिक्षा प्राप्त छोरी–बुहारीहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा अन्तरजातीय विवाह गरेका २३ जोडीलाई नगद ८ हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रसहित सम्मान गरियो। उपप्रमुख सिता थापाका अनुसार, फरक समुदायबीच प्रेम, सहिष्णुता र सामाजिक समरसता कायम राख्दै वैवाहिक सम्बन्ध गाँस्ने जोडीलाई प्रोत्साहन दिन सम्मान प्रदान गरिएको हो।

त्यस्तै, सरकारी सेवामा प्रवेश गरेका तीन जना अपाङ्गता भएका व्यक्तिहरू तथा स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका ५६ जना छोरी र बुहारीहरूलाई समेत सार्वजनिक रूपमा सम्मान गरिएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘न्यायिक समिति सिकाइ र सफलता’ नामक पुस्तकको विमोचन गरिएको थियो। विमोचन कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यस्ता कार्यक्रमहरूले समाजमा समावेशिता र समानताको भावना बलियो बनाउने विश्वास व्यक्त गरिन्।

नगर प्रमुख कृष्ण प्रसाद सापकोटा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले सम्मानले थप प्रेरणा र जिम्मेवारीको भावना विकास भएको प्रतिक्रिया दिएका थिए।

नगरपालिकाले यस्तो सम्मान कार्यक्रमलाई सामाजिक न्याय प्रवद्र्धन गर्ने नियमित नीति अन्तर्गत सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा समाजमा सकारात्मक सोच र सह अस्तित्वको सन्देश प्रवाह भएको बताइएको छ।

१५ असार २०८२, आईतवार ०४:२८