गुफाडाँडामा पत्रकार पदयात्रा, पर्यटन र जलवायुका विषयमा चासो

आइसिँ तामाङ,गफडाँडा सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको पर्यटकीय स्थल गुफाडाँडामा सम्पादक समाज नेपालले पत्रकार पदयात्रा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। मेलम्ची नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा देशभरका सम्पादक, पत्रकार तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो। मेलम्ची बजारदेखि गुफाडाँडासम्मको पदयात्रा वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव र सञ्चारकर्मीको भूमिका विषयमा छलफलसहित सम्पन्न भयो। कार्यक्रममा मेलम्ची नगरप्रमुख आईतमान तामाङले संघ र प्रदेश सरकारको ढिलासु व्यवहारले गुफाडाँडा विकासमा अवरोध पुगेको बताए। नगरपालिकाले गुफाडाँडालाई पर्यटन हब बनाउन ४ करोड रुपैयाँ विनियोजन गरिसकेको जनाउँदै उनले सिँडी, ७७ जिल्लाको नामसहितको भित्तो, बुद्ध प्रतिमा, भ्यु–टावर र संग्रालय निर्माणको काम छिट्टै सुरु हुने जानकारी दिए। कार्यक्रममा सम्पादक समाज नेपालका महासचिव श्याम डोटेल र पत्रकार महासंघ सिन्धुपाल्चोक अध्यक्ष ध्रुब दंगालले पर्यटन विकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए।गुफाडाँडामा पृथ्वी बोकेको मानव आकृतिको प्रतिमा स्थापना भइसकेको छ, जसले वातावरणीय सन्देश दिन्छ।

२९ असार २०८२, आईतवार १४:३५