/*php the_title();*/?>

जनतापत्र, काठमाडौ । नेपाली मौलिक परम्परा, संस्कृति र ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको कोदोको रक्सी अब ब्रान्डिङसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी थालिएको छ। “कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति” को अगुवाइमा यो अभियान सुरु गरिएको हो।

आज समितिका अध्यक्ष छिरिङ ग्याल्बो लामा, संरक्षक उषाकला राई तथा कार्यसमितिका सदस्यहरू उपप्रधान तथा अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलसँग भेट गरी ज्ञापनपत्र बुझाएका छन्। उक्त ज्ञापनपत्रमा कोदोको रक्सीलाई कानुनी मान्यता दिई, गुणस्तरका आधारमा उत्पादन गरी ब्रान्डिङ गरेर राष्ट्रिय पहिचान बनाउन तथा निर्यात गर्नुपर्ने प्रस्ताव गरिएको छ।
कोदोको रक्सी परम्परागत रूपमा नेपाली समाजमा सांस्कृतिक तथा सामाजिक पक्षसँग गहिरो रूपमा गाँसिएको पेय पदार्थ हो। विशेष गरी हिमाली तथा पहाडी भेगका समुदायहरूको धार्मिक, सामाजिक तथा पारिवारिक कार्यक्रमहरूमा यसको विशेष महत्व रहेको पाइन्छ। तर, हालसम्म यसको उत्पादन, बिक्री तथा वितरण स्पष्ट कानुनी संरचनाबिनै हुँदै आएको छ। यसले उपभोक्ता सुरक्षादेखि कर प्रणालीसम्मका क्षेत्रमा अन्योलता उत्पन्न गरिरहेको छ।

समितिले कोदोको रक्सीलाई कानुनी रूप दिई व्यवस्थापन गर्न तथा आगामी आर्थिक वर्षको बजेटमा यससम्बन्धी कार्यक्रम समावेश गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। अर्थमन्त्री पौडेलले ज्ञापनपत्र प्राप्त गर्दै आगामी बजेटमा यो विषय समेटिने र आवश्यक कानुनी संरचना तयार गर्न सम्बन्धित निकायहरू सँग समन्वय गरिने प्रतिबद्धता जनाएका छन्।
यस कार्यको सफलताका लागि विभिन्न पक्षहरूको सहकार्य आवश्यक पर्ने समितिले बताएको छ। विशेषगरी कृषि, उद्योग, पर्यटन र स्वास्थ्यसँग सम्बन्धित सरकारी निकायहरूसँग सहकार्य गरेर गुणस्तरीय उत्पादन, प्याकेजिङ, बजार व्यवस्थापन, स्वास्थ्य मापदण्ड तथा निर्यात प्रक्रिया तय गरिनेछ।
संरक्षक उषाकला राईका अनुसार, “हामीले परम्परागत ज्ञान र सीपलाई आधुनिक व्यवस्थापन प्रणालीसँग जोड्दै कोदोको रक्सीलाई राष्ट्रिय सम्पत्ति बनाउन खोजेका हौं। यसले ग्रामीण महिलाहरूको आर्थिक सशक्तीकरणमा समेत सहयोग पुर्याउनेछ।”
अध्यक्ष छिरिङ ग्याल्बो लामाले कोदोको रक्सीको ब्रान्डिङले नेपालको मौलिकता विश्वसामु चिनाउने अवसर सिर्जना गर्ने बताए। उनका अनुसार, “यदि हामीले समयमै यसको सही व्यवस्थापन गर्न सकेमा नेपालले कोदोको रक्सीलाई जापानको ‘साके’ वा कोरियाको ‘सोजू’ सरह अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सक्छ।”
समितिको प्रस्ताव अनुसार, आगामी चरणमा नीति निर्माण, उत्पादन केन्द्रहरूको दर्ता, उत्पादन लाइसेन्स वितरण, स्वास्थ्य परीक्षण मापदण्ड, ब्रान्ड नामको दर्ता, र अन्तर्राष्ट्रिय बजार अनुसन्धानजस्ता कार्यहरू अघि बढाइनेछ।
यस अभियानमार्फत परम्परागत ज्ञानको संरक्षण, ग्रामीण रोजगारी सृजना, पर्यटन प्रवर्द्धन तथा निर्यात आम्दानी वृद्धिको अपेक्षा गरिएको छ। यदि राज्यले सक्रियतापूर्वक साथ दियो भने, कोदोको रक्सी भविष्यमा नेपालको एक विशिष्ट निर्यात सामाग्री बन्ने सम्भावना प्रवल देखिन्छ ।
८ जेष्ठ २०८२, बुधबार २१:२९