अनावश्यक उम्लिने र उम्लेपछि पोखिइहाल्ने नेपाली संस्कार

सरोज दिलु

नेपाली मूलका करिव १२ लाख मानिसहरूको जनघनत्व भएको सहर हो, देहरादुन । अझ त्यहाँ रहेका नेपालीलाई हामी खास्सा नेपालीहरू अतिप्रिय लाग्छन्, नेपाली उत्पादनहरू मन पर्दछन् । भारतीय मूलवासीहरू समेत नेपाललाई सम्मान गर्छन् र एकपल्ट घुम्न नेपाल आउने धोखो राख्छन् । उनीहरूले बुझेको नेपाल भनेको देवीदेवताहरू भूमि हो, आज पनि यहाँ जिउँदा ईश्वर बस्छन् ।

अझ सिंगो उत्तराखण्डलाई सञ्चालन गर्ने मुख्यमन्त्री नै नेपाली मूलका पुश्करसिंह धामी छन् । नेपालप्रति सम्मान राख्नेहरूको भूमिमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल सरकारको बजेट र उद्योग वाणिज्य महासंघ कन्चनपुरको व्यवस्थापनमा हामी इन्डो–नेपाल कल्चर हेरिटेज व्यापार मेला २०२५ मा देहरादुन पुगेका थियौँ । तर, हामी नेपालीको स्वभाव अलग्ग रह्यो । नेपालीहरूमा शान्त, सौभ्य, शालीनता र सुन्दर संस्कृति हराउँदै गएको देखिन्छ । देहरादुनीहरूले हामीलाई जसरी बुझेका छन्, हामी त्यस्तो देखिएनौँ । हामी नेपालीमा मनतातोमा पनि उम्लिने र उम्लेपछि पोखिइहाल्ने संस्कार छ । जुन कुनामा पुगे एकअर्कामा झगडा गरिहाल्ने, यो भएन त्यो भएन भनेर गुनासै मात्र पोखिरहने, अरूलाई मात्र दोष दिइरहने र पाएसम्म ठुलाले सानालाई विभेद गरिहाल्ने व्यवहार हाम्रो नसनसमा पसेको छ ।

साउथ अफ्रिका पुग्दा हामी नेपालीले त्यहाँ गरेको व्यवहार, अनि मेरो नेतृत्वमा बंगलादेश पुगेको टिमको व्यवहार सम्झँदा आज पनि घृणा लाग्छ । यहाँ पनि करिब त्यस्तैत्यस्तै व्यवहार थियो, इन्डो–नेपाल कल्चर हेरिटेज टे«डफेअरमा आउने हामी नेपालीहरूको । कन्चनपुरदेखि देहरादुनभरीको यात्रामा कसैमा आयोजकप्रति सकारात्मक भावना थिएन, एकअर्कामा समेत सहयोग र सद्भावको कमी नै देखियो ।

देहरादुन पुग्ने–फर्कने सवै व्यवस्थापन गरिदिने उद्योग वाणिज्य संघका पदाधिकारीहरूले हामीलाई प्रोत्साहन नै हुनेगरी प्रतिवद्धता जनाइरहेकै थिए, प्राविधिक कमजोरी भएकोमा माफी पनि मागिरहेकै थिए । तर, उनीहरूलाई धन्यवाद दिने त कताकता सित्तैमा पाएको अवसरमा समेत हामी उत्तेजक भएर असन्तुष्टी मात्र जाहेर गर्दै थियौं, आयोजकहरू माथी घुर्की लगाइरहेका थियौँ, उनीहरूलाई धम्की दिइरहेका थियौँ । हाम्रो समानहरू किन पार गराउन नसक्ने ? नसक्ने हो भने हाम्रो समान खुरुक्क जहाँबाट ल्यायौँ, त्यही फर्काइदियौँ भन्दै थियौँ ।

सरकार र सरकार अधिनस्थ संस्था भएपछि समानहरूको वारपार २ देशको सम्बन्ध अनुकूलतामा हुने गर्दछ । स्वभाविकरूपमा अन्तर्राष्ट्रिय कानुनअनुसार विभिन्न प्रक्रियाहरू पूरा गर्नैपर्छ । व्यक्तिगत सम्बन्ध, सेटिङ वा घुसपैठले काम त सजिलै होलान् तर सरकार वा एउटा गरिमा बोकेको संस्थाले त्यसो गर्न कदापि पाइँदैन । यद्यपि व्यापारी साथीहरूको दबाबचाहिँ अनौठो थियो । उनीहरू जसरी पनि हाम्रो सामानहरू गन्तव्यमा पुग्नुपर्यो, होइन भने तिमीहरूले राजीनामा दिनुपर्यो, तिमीले नसके हामी नै महाकालीवारीबाट उचालेर फुत्त पारी पुर्याउन सक्छौँ, जस्तो गरिरहेका थिए ।

व्यवस्थापकहरूले १ करोड १० लाखको खर्च हिसाब सार्वजनिक गर्लान् नै, तर सित्तैमा होटलमा राखेका छन्, गन्तव्यसम्म जान–आउन निःशुल्क बस ब्यवस्था, बाटामा खुवाउने–पियाउनेदेखि नेपाली स्टलहरूको पैसा तिरिदिएको छ । गन्तव्य स्थलसम्म समानहरू ओसारपसार गर्न र देहरादुन पुगेपछि प्रदर्शनी सुरु हुने दिनसम्मको होटल बसाई र खाना खर्चसमेत बेहोरेको छ । राज्यले व्यापारीहरूलाई दिइने योभन्दा सुविधा अरू के हुनसक्छ ?

अन्य देशबाट नेपाल आउने व्यापारीहरूले निजी खर्चमा आई निजीरूपमा कस्टम क्लिएर गरी सामान ल्याउँछन्, अनि आफैँ होटल व्यवस्थापन गरेर बस्छन्, स्टल रजिस्ट्रेसन चार्जसमेत आफैँ तिर्छन् । अन्य देशमा निजी तवरबाट गएका साथीहरूले पनि आफैँ सबै व्यवस्थापन गर्दै आएको हामीले सुनेदेखेकै हौँ । तर, व्यापारीहरूलाई एउटा गरिब राज्यले यो सुविधा दिनु भनेको ठुलो सहयोग हो । तथापि साथीहरू होटलमा चप्पल छैन, एसी चलेन, दिसापिसाब गर्दा पेटमा गडबढ् भयो । चिसो पानी आउँदा कति चिसो, तातो आउँदा कति तातो आएको ? यो सब व्यवस्थापकहरूको नालायकीपन हो भनिरहेका थिए ।

खाना खाँदा रोटी अलिकता डढेको पर्यो वा खोर्सानी पिरो भयो वा वेटरले एउटा रोटी थप्न अलिकता ढिलो गर्यो भने त्यसको दोषसमेत उद्योग वाणिज्य संघ र सरकारका प्रतिनिधि कर्मचारीलाई नै दिइरहेका थिए । कसैको कुरा सुन्ने र धैर्य गर्ने संस्कृति त अधिकांशमा थिएन । बोर्डरमा भारतीय सुरक्षाकर्मीहरूले गरेका व्यवहार हेर्दा जो सुकैलाई दुःख लाग्छ नै । तर साथीहरू त्यसको दोषसमेत आयोजकलाई दिइरहेका थिए ।

चैत ५ गने देहरादुन पुगियो । मध्यसहरको नाम चलेकै होटलमा बस्ने व्यवस्था गरिएको रहेछ, जहाँ सामान्य भारतीयहरूसमेत बस्न सक्दैनन् । तर हामी नेपालीहरू भने ओछ्यानको तन्ना भएन, तौली कालो रंगको भयो, ट्वाइलेट सफा भएन, पछाडिको कोठा भयो, भुइँतलाको भयो, धेरै माथि तलाको भयो भनेर गुनासै मात्र गरिरहेका थिए । करिब ५०० मिटर पर खानपानका लागि व्यवस्थापन गरिएको थियो । तर त्यहाँ पनि खानापिना राम्रो भएन, त्यसले बिमारी भए कसले जिम्मा लिने ? त्यस्तोमा हामीले खाने हो ? हामीलाई हेपेको ? भनेर आक्रोश नै पोखिरहेका थिए । फेरि घुमिफिरी त्यसै होटलमा खाइन्थ्थो तर कसैलाई कुनै रोग लागेन त ।

समानहरू पार गर्न उद्योग वाणिज्य संघ, ब्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको पहलमा सरकार टु सरकार र २ देशकै दूतावासदेखि गड्डाचौकी सीमासुरक्षा कर्मचारीसम्म पहल भइरहेकै थियो । प्रक्रियागत रूपमा जाँदा ढिलासुस्ती हुनु स्वभाविक हो । विदेशबाट आएका वस्तुहरू हाम्रै नेपालको कस्टममा महिनाँै अड्किएर बसेकै छन् । तैपनि व्यवस्थापक साथीहरूले मेला सुरु हुनुभन्दा अगावै तपाईंकै स्टलस्टलमा समानहरू पुर्याइदिन्छौँ ढुक्क हुनुहोस् भनिरहँदासमेत त्यसमा विश्वास र धैर्यता गर्ने संस्कार कसैमा थिएन । बरु व्यवस्थापकीय सदस्यहरूलाई देख्यो कि दोहोर्याइँ–तेहोर्याइँ हाम्रो सामान अहिलेसम्म किन नल्याएको, के हामी स्टल मात्र रुग्न आएका हौँ र ? ल्याउन नसक्ने भए हामी खुरुक्क फिर्ता जान्छौँ भन्दै घेराबन्दी गरिहाल्थे । अझ पोहोरपरारभन्दा यो वर्ष किन बिक्री नभएको, बिक्री नभएर घाटा गयो भने हामीलाई कसले क्षतिपूर्ति दिन्छ ? भनेर एकअर्कामा गुनासो गरिरहेका थिए ।

साउथ अफ्रिकामा २०१० मा भएको युथ सोसल फोरममा पुग्दा हामी आफूआफू नै कुटाकुट गरेर तमासा देखाई फर्कियौँ । बंगलादेश सोसल फोरममा मेरो नेतृत्वमा गएको टोलीले पनि भत्ता दिएन भनेर यात्राभरी गुनासै मात्र गरिरह्यो । नेपाल आइपुगेपछि खर्च भई बाँकी बसेको पैसा संस्थाको खातामा वचत गर्ने कि व्यक्तिगत भाग लगाउने भन्ने विषयमा हामी व्यवस्थापक सदस्यहरूबीच नै कुर्सी हानाहान भयो । म समावेश भएको वैदेशिक टोलीमा मात्र होइन, अरू साथीहरू सम्मिलित समूहमा पनि यस्ता हर्कतहरू भएको सुनिन्छ, पढिन्छ । यसबाट के देखिन्छ भने विश्वमा शालीन स्वभाव, सरल मिजास र सहयोगी भावना भएका बहादुर नेपाली भनेर पहिचान बनाएको नेपालीको व्यवहारचाहिँ त्यसको ठिक विपरीत छ ।

चाहे व्यापारी हुन् या चाहे युवा–विद्यार्थी वा चाहे सामाजिक अभियन्ताहरू, गुनासै मात्र गर्ने, घुर्की मात्रै लगाउने, नकारात्मक रूपमा मात्र प्रस्तुत हुने यस्तो शैलीहरूले पछिका दिनहरूमा राज्यका निकायहरूलाई यस्ता कार्यक्रमहरू गर्न हतोत्साही बनाउँछ नै, अर्कोतर्फ हाम्रो अन्तर्राष्ट्रिय छवीमा समेत असर पर्दछ । र, सोही कारणले विदेशीले हामीलाई हेर्ने नजर र गर्ने व्यवहारसमेत हलुका भइरहेको छ । अतः आगामी दिनहरूमा राज्यले यस्ता अन्तर्राष्ट्रिय मेला, भेला, सभा–सम्मेलन वा महोत्सवहरूको व्यवस्थापन गर्दा बस्तु व्यापार गर्ने मात्र नभर्ई नेपाली संस्कृति, व्यवहार र आचरणलाई पनि अझ गर्विलो र अनुशासित बनाउनेतर्फ सोच्नै पर्दछ । (सौर्य अन्लाइनवाट सभार)

१८ चैत्र २०८१, मंगलवार ११:०१