/*php the_title();*/?>
काठमाडौं । सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डामा सहमति भएसँगै १६ जना मन्त्रीले सपथ लिएका छन् । तीन सोमबार नै सपथ लिइसकेका थिए । प्रधानमन्त्री सहित २० सदस्यीय मन्त्रिपरिषद बनेको छ । जसमा नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी पार्टी रहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै नवनियुक्त मन्त्रीहरुलाई शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ खुवाए ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् बाँडफाँटमा सहमति भएको थियो । जसअनुसार एमालेले ८ मन्त्रालय, माओवादीले ५, स्वतन्त्र पार्टीले ४, जसपाले २ र एकीकृत समाजवादीले २ मन्त्रालय लिएका छन् । एकीकृत समाजवादी आज अन्तिम क्षणमा सरकारमा सामेल हुने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् विस्तारअनुसार माओवादीका नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री तथा परराष्ट्र, वर्षमान पुनले अर्थ, शक्ति बस्नेतले ऊर्जा, रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीले तीनजनालाई दोहोर्याएको हो ।
यस्तै, एमालेका तर्फबाट रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरीले कानुन, हरि उप्रेतीले रक्षा, भगवती चौधरीले महिला, बालबालिका, राजेन्द्र राईले खानेपानी, दामोदर भण्डारीले उद्योग, ज्वालाकुमारी साहले कृषि, बलराम अधिकारीले भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
आफूले रोजेको शक्तिशाली मानिने अर्थ र गृहमध्ये कुनै मन्त्रालय नपाएपछि एमालेले महासेठलाई नेतृत्व गर्न पठाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह, डोलप्रसाद अर्याल श्रम, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बनेका छन् ।
पहिलोपटक गृहमन्त्री बन्दा नागरिकता विवादमा तानिएका लामिछाने यसपालि सहकारीका बचतकर्ताको रकम हिनामिनाको आरोपमा मुछिएका छन् ।
एकीकृत समाजवादीका भानुभक्त जोशी संघीय मामिला र धनबहादुर बुढा सहरी विकासमन्त्री बनेका छन् । गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी भने मन्त्रालयमा असन्तुष्ट भएपछि तत्काललाई सरकारमा सहभागी भएको छैन ।
यस्तो छ नयाँ मन्त्रीहरूको कार्यविभाजन
नेकपा माओवादी केन्द्र
नारायणकाजी श्रेष्ठ (उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री)
वर्षमान पुन (अर्थमन्त्री)
शक्ति बस्नेत (ऊर्जा, जलस्रोत तथा सिँचाइ)
रेखा शर्मा (सञ्चार तथा सूचना प्रविधि)
हितबहादुर तामाङ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)
नेकपा एमाले
रघुवीर महासेठ (उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात)
पदम गिरी (कानुन, न्याय तथा संसदीय मामिला)
हरि उप्रेती (रक्षा)
भगवती चौधरी (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक)
राजेन्द्र राई (खानेपानी)
दामोदर भण्डारी (उद्योग, वाणिज्य तथा आपूर्ति)
ज्वालाकुमारी साह (कृषि तथा पशुपन्छी विकास)
बलराम अधिकारी (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण)
राष्ट्रिय स्वतन्त्र पार्टी
रवि लामिछाने (उपप्रधानमन्त्री तथा गृह)
डोलप्रसाद (डीपी) अर्याल (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)
विराजभक्त श्रेष्ठ (युवा तथा खेलकुद)
सुमना श्रेष्ठ (शिक्षा, विज्ञान तथा प्रविधि)
नेकपा एकीकृत समाजवादी
भानुभक्त जोशी (संघीय मामिला तथा सामान्य प्रशासन)
धनबहादुर बुढा (सहरी विकास)
२३ फाल्गुन २०८०, बुधबार १५:५८