सिन्धुपाल्चोकमा युवा संघ नेपालको नेतृत्वमा सरकारविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो

जनतापत्र,सिन्धुपाल्चोक ।
वर्तमान सरकारले शान्ति, सुशासन र पारदर्शिताको नाममा जनताको आवाज दबाउने काम गरेको भन्दै,युवा संघ नेपाल, सिन्धुपाल्चोकको नेतृत्वमा आज चौतारामा विरोध ¥यालीसहित ज्ञापनपत्र बुझाइएको छ। सिधुपाल्चोकका बिभिन्न सामाजिक, श्रमिक, महिला र अधिकारकर्मी संगठनहरूको संयुक्त उपस्थितिमा प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको हो।

ज्ञापनपत्रमा भदौ २३ र २४ गते देशभर भएको जेन्जी आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमाथि गोली प्रहार, दमन, तोडफोड र सरकारी उदासीनताका घटनाप्रति तीव्र आपत्ति जनाइएको छ। साथै, सरकार गठन भएर पनि सुशासन, पारदर्शिता र विकासमा ठोस परिणाम नआएको आरोप लगाइएको छ।

संयुक्त ज्ञापनपत्रमा देशभर फैलिएको अराजकता, भ्रष्टाचार र सुरक्षाको कमजोर अवस्थामाथि चिन्ता व्यक्त गर्दै दोषीमाथि तत्काल छानबिन र कारबाहीको माग गरिएको छ। ज्ञापनपत्रमा भदौ २३ र २४ का घटनामा संलग्न सुरक्षाकर्मी र जिम्मेवार अधिकारीहरूलाई निलम्बन गरी स्वतन्त्र छानबिन आयोग गठन गर्न,भूकम्पपीडित र बासस्थानविहीन जनतालाई राहत र पुनर्निर्माणमा प्राथमिकता दिन,र संसद पुनस्र्थापना गरी जनतामुखी सरकार गठन गर्न जोडदार माग गरिएको छ।
यस आन्दोलनमा १६ वटा राष्ट्रिय संस्थाहरूले ऐक्यबद्धता जनाएका छन्,जसमा जनजागरण समन्वय संयन्त्र, मानव अधिकार तथा सामाजिक न्याय मञ्च,लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, अखिल नेपाल महिला संघ, भूमि अधिकार तथा श्रमिक संगठन,र प्रगतिशील इन्जिनियरिङ्ग एसोसिएसन नेपाल लगायतका संघसंस्थाहरू रहेका छन्।

३० आश्विन २०८२, बिहीबार १७:३८