सिन्धुपाल्चोकमा वार्षिक समीक्षा तथा असल अभ्यास आदान–प्रदान कार्यक्रम

जनतापत्र,चौतारा ।
सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तह, सरकारी कार्यालय तथा जिल्लामा क्रियाशील संघसंस्थाहरूले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका काम, हासिल गरेका उपलब्धि तथा कार्यान्वयनका क्रममा देखिएका समस्याबारे सामूहिक समीक्षा गरेका छन्। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा चौतारास्थित जिल्ला समन्वय समितिको सभाहलमा वार्षिक प्रगति समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन क्षेत्र नं. १ का सांसद भरतप्रसाद पराजुलीले गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका सबै १२ स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीका साथै जिल्लाभर कार्यरत विभिन्न सरकारी कार्यालय, संघसंस्था र सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सिन्धुपाल्चोकमा चौतारा साँगाचोकगढी, मेलम्ची र बाह्रबिसे गरी तीन नगरपालिका तथा जुगल, इन्द्रावती, बलेफी, भोटेकोशी, त्रिपुरासुन्दरी, लिसङ्खुपाखर, हेलम्बु, सुनकोशी र पाँचपोखरी थाङ्पाल गरी नौ गाउँपालिका छन्। कार्यक्रममा सबै स्थानीय तहले आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरेका विकास निर्माण, सामाजिक सेवा, आर्थिक तथा प्रशासनिक गतिविधि र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएका थिए।

कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तह, सरकारी कार्यालय तथा संघसंस्थाले गरेका कामको समीक्षा गर्नुका साथै एकअर्काका सफल अभ्यास र सिकाइलाई आदानप्रदान गर्नु रहेको जिल्ला समन्वय समितिले जनाएको छ। समीक्षा कार्यक्रममा स्थानीय तहले आफ्ना उपलब्धिसँगै योजना कार्यान्वयनका क्रममा आइपरेका समस्या, बजेट खर्चको अवस्था, जनशक्ति व्यवस्थापन, भौगोलिक कठिनाइ तथा सेवा प्रवाहमा देखिएका चुनौतीबारे समेत धारणा राखेका थिए।

असल अभ्यास आदानप्रदानका क्रममा कुनै स्थानीय तह वा सरकारी निकायले प्रभावकारी रूपमा कार्यान्वयन गरेका कार्यक्रमलाई अन्य पालिकाले पनि आफ्नो आवश्यकता र स्थानीय परिस्थितिअनुसार अपनाउन सक्ने विषयमा छलफल गरिएको थियो। यसले स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धासँगै सहकार्य र सिकाइको वातावरण निर्माण गर्न सहयोग पुग्ने सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा स्थानीय तहका अलावा जिल्लामा कार्यरत विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाका प्रतिनिधिले समेत आ–आफ्नो क्षेत्रबाट भएका कामको प्रगति प्रस्तुत गरेका थिए। शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा पूर्वाधार, रोजगार, पर्यटन, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन र सुशासनलगायतका क्षेत्रमा सञ्चालन भएका कार्यक्रमबारे जानकारी गराइएको थियो।

स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकको आवश्यकता र अपेक्षाअनुसार सेवा प्रवाह गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो। योजना छनोटदेखि कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनसम्म पारदर्शिता र प्रभावकारिता कायम गर्नुपर्ने तथा सार्वजनिक स्रोतको अधिकतम सदुपयोग गर्नुपर्ने विषयमा सहभागीहरूले धारणा राखेका थिए।

सडक, पुल, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था लगायतका पूर्वाधार निर्माण गर्दा गुणस्तर र दिगोपनालाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिइएको थियो। विकास आयोजनामा तीन तहका सरकार तथा सम्बन्धित सरकारी कार्यालयबीच समन्वयको अभाव हुँदा समस्या उत्पन्न हुन सक्ने भएकाले योजना कार्यान्वयनमा आपसी सहकार्य आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

सिन्धुपाल्चोक भौगोलिक रूपमा विकट तथा विपद्को जोखिममा रहेको जिल्ला भएकाले विकाससँगै विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने विषय पनि कार्यक्रममा उठाइएको थियो। बाढी, पहिरो, नदी कटान, सडक अवरोधलगायतका कारण हरेक वर्ष विकास संरचनामा क्षति पुग्ने भएकाले जोखिम न्यूनीकरण, पूर्वतयारी र आपत्कालीन व्यवस्थापनलाई स्थानीय योजनासँग जोड्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

त्यस्तै, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, कृषि तथा पशुपालनको व्यावसायीकरण, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, सामाजिक सुरक्षा, महिला तथा बालबालिकाको संरक्षण र वातावरणीय संरक्षणका क्षेत्रमा भएका कामको पनि समीक्षा गरिएको थियो।

सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने प्रयासलाई समेत कार्यक्रममा सकारात्मक रूपमा लिइएको थियो। स्थानीय तह तथा सरकारी कार्यालयले विद्युतीय प्रणालीको प्रयोग बढाउँदै लगेका कारण नागरिकलाई विभिन्न सेवा लिन सहज हुँदै गएको सहभागीहरूले बताएका थिए।

कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो। सबै पालिकाको सहभागिताले जिल्लामा सञ्चालन भइरहेका कार्यक्रम र त्यसका उपलब्धिबारे साझा रूपमा जानकारी लिन तथा एक स्थानीय तहको अनुभव अर्को स्थानीय तहसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद भरतप्रसाद पराजुलीले स्थानीय तह, सरकारी कार्यालय तथा संघसंस्थाबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो। जिल्लाको विकासका लागि उपलब्ध स्रोत र साधनको सही सदुपयोग गर्दै नागरिकको आवश्यकता र प्राथमिकतामा आधारित योजना कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले विकास निर्माणमा गुणस्तर, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै असल अभ्यासलाई संस्थागत गर्दै अन्य क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो।

जिल्ला समन्वय समितिले स्थानीय तह तथा जिल्लामा क्रियाशील सरकारी निकाय र संघसंस्थाबीच समन्वय, सहजीकरण तथा अनुगमन गर्दै आएको छ। त्यसैले वार्षिक प्रगति समीक्षा तथा असल अभ्यास कार्यक्रमले जिल्लाका सबै स्थानीय तह र सरकारी निकायबीच अनुभव आदानप्रदान तथा सहकार्यका लागि साझा मञ्च उपलब्ध गराएको सहभागीहरूले बताएका छन्।

समीक्षा कार्यक्रम विगत वर्षका कामको मूल्याङ्कनमा मात्र सीमित नरही आगामी दिनमा सुधार गर्नुपर्ने पक्ष पहिचान गर्ने अवसरका रूपमा समेत लिइएको छ। स्थानीय तह र सरकारी कार्यालयले प्रस्तुत गरेका प्रगति तथा समस्याका आधारमा आगामी योजना अझ प्रभावकारी, परिणाममुखी र नागरिकमैत्री बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

जिल्लाका १२ वटै स्थानीय तह, सरकारी कार्यालय तथा संघसंस्थाको सामूहिक सहभागितामा भएको कार्यक्रमले जिल्लामा भइरहेका विकास तथा सेवा प्रवाहका गतिविधिलाई एउटै मञ्चमा समीक्षा गर्ने अवसर प्रदान गरेको छ। स्थानीय आवश्यकता, जनताको प्राथमिकता र उपलब्ध स्रोतसाधनलाई केन्द्रमा राखेर योजना निर्माण तथा कार्यान्वयनसँगै सफल अभ्यासलाई एकअर्काबीच विस्तार गर्न सके सिन्धुपाल्चोकको समग्र विकासलाई थप प्रभावकारी बनाउन सकिने निष्कर्ष निकालिएको छ।

४ भाद्र २०८३, बिहीबार २०:५८