
जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा प्रशासनिक सेवा लिन नागरिकले लामो दूरी धाउनुपर्ने बाध्यता अझै कायमै छ। यही समस्या समाधान गर्न स्थानीय तहका प्रतिनिधि, विभिन्न दलका नेता र जनप्रतिनिधिहरूले काठमाडौं पुगेर गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन्। जिल्ला क्षेत्रफलका हिसाबले बागमती प्रदेशकै सबैभन्दा ठूलो सिन्धुपाल्चोकमा सेवा सुविधा लिन तीन जिल्लाजस्तो कठिनाइ भोग्नुपरेको गुनासो गर्दै मेलम्ची र बाह्रबिसेमा छुट्टाछुट्टै इलाका प्रशासन कार्यालय ९ईआइओ० स्थापना गर्न माग गरिएको हो। पूर्वमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा गएको टोलीले सिंहदरबारमै पुगेर उक्त माग प्रस्तुत गरेको हो। प्रस्ताव अनुसार, मेलम्ची ईआइओ अन्तर्गत हेलम्बु, पाँचपोखरी थाङपाल, मेलम्ची र ईन्द्रावतीका ४ देखि १२ नम्बर वडासम्म सेवा दिने योजना छ। त्यस्तै बाह्रबिसे ईआइओ अन्तर्गत भोटेकोशी, बाह्रबिसे, त्रिपुरासुन्दरी, लिसंखुपाखर, बलेफी–८ र सुनकोशी–६,७ का बासिन्दा समेटिने प्रस्ताव गरिएको छ। यदि माग कार्यान्वयन भयो भने स्थानीयलाई प्रशासनिक सेवामा सहज पहुँच हुने र लामो दूरी धाउनु नपर्ने अपेक्षा गरिएको छ।
१७ भाद्र २०८२, मंगलवार १९:०८