
जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय आर्थिक गणना–२०८२ को तयारीस्वरूप जिल्लास्तरीय सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। “अर्थतन्त्र मापनको लागि आर्थिक गणना” भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आर्थिक गणनाको महत्व, आवश्यकता तथा सबैको सहभागिताको भूमिकाबारे जानकारी प्रदान गरिएको थियो। नेपाल सरकारअन्तर्गत राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्ने यो गणना देशभरका सबै वडा, स्थानीय तह, जिल्ला र प्रदेशमा एकै समयमा सञ्चालन हुने बताइएको छ। निर्धारित कार्यतालिका अनुसार तथ्याङ्क सङ्कलन वि।सं। २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म गरिनेछ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले विकास योजना निर्माणका लागि भरपर्दो र समयसापेक्ष आर्थिक तथ्याङ्क अत्यन्त आवश्यक रहने बताउनुभयो। उहाँका अनुसार यस्ता तथ्याङ्कले नीति निर्माणलाई अझ प्रभावकारी बनाउन मद्दत पुर्याउँछ। जिल्ला आर्थिक गणना अधिकारी केदार वन्जाराले अर्थतन्त्रको यथार्थ अवस्था बुझ्न सबै किसिमका आर्थिक गतिविधिमा संलग्न व्यक्ति तथा संस्थाको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले दर्ता भएका वा नभएका, साना वा ठूला, स्थायी वा अस्थायी सबै व्यवसायबाट यथार्थ विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो। उक्त आर्थिक गणनाबाट मुलुकको कुल गार्हस्थ उत्पादनमा विभिन्न क्षेत्रको योगदान पहिचान गर्न, रोजगारीको अवस्थाको यथार्थ चित्रण गर्न, लगानीका सम्भावनाहरू उजागर गर्न तथा राष्ट्रिय र स्थानीय तहमा आर्थिक योजना निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
१३ चैत्र २०८२, शुक्रबार ०९:२४