सिन्धुपाल्चोकको भिमटारस्थित ५३ घरपरिवारको सिंगो माझीबस्ती लिलामीको जोखिममा

जनतापत्र,भिमटार सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४, भिमटारस्थित ५३ घरपरिवारको सिंगो माझीबस्ती लिलामीको जोखिममा परेको छ ।
माझी बस्तीमा भएको पुनर्निर्माणको ऋण तिर्न नसक्दा उक्त बस्ती लिलामीको जोखिममा परेको हो ।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त बनाएको माझी गाउँको पुनर्निर्माणको जिम्मा श्वेताश्री फाउन्डेसनले लिएको थियो । २०७४ जेठ १५ गतेबाट झ्याँडी एकीकृत नमुना माझी बस्ती निर्माण सुरु भएको थियो ।
सरकारको निजी आवास पुनर्निर्माण अनुदानबाट प्राप्त तीन लाख र तत्कालीन लक्ष्मी सनराइज बैङ्क (लक्ष्मी बैङ्क) चौतारा शाखाबाट प्रतिघर चारलाख रुपियाँका दरले ऋण लिएर पुनर्निर्माण गरेको घरको कर्जा र त्यसको ब्याज तिर्न नसक्दा सिंगो माझीबस्ती नै बैङ्कले लिलामीको प्रक्रियामा लैजान लागेको छ ।
पुनर्निर्माण कार्य बिचमै छोडेर फाउन्डेसन हिँडेपछि बस्तीको पुनर्निर्माण माझी समुदाय आफैँले ऋण काढेर सम्पन्न गरेका थिए ।
बैङ्कले जमानतकर्ता र सिफारिसकर्ता फाउन्डेसनलाई ऋण तिर्न आउन पटक पटक लिखित÷मौखिक ताकिता गर्दासमेत नतिरेपछि बैङ्कले उक्त बस्तीलाई कालोसूचीमा राखेर ३५ दिने सूचना समेत निकाली सकेकोे छ ।
लामो समयसम्म बैङ्कमा बाँकी बक्यौता चुक्ता नभएपछि सिंगो माझीबस्ती लिलामीको प्रक्रियामा बैङ्क लागेको छ ।

१८ बैशाख २०८२, बिहीबार २१:२६