सिन्धुपाल्चोकका प्रदेशसभा सदस्यहरूको संयुक्त भेटघाट सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूले आपसी समन्वय र सहकार्यका उद्देश्यले संयुक्त भेटघाट गरेका छन्। बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङको संयोजनमा भएको भेटघाटमा जिल्लाको समग्र विकास, जनसेवा र साझा लक्ष्यका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा प्रदेशसभा सदस्यहरू युवराज दुलाल, सरल सहयात्री पौडेल, कुमारी तामाङ, अमृता नेपाल र माइली तामाङको सहभागिता रहेको थियो। भेटघाटमा सहभागी जनप्रतिनिधिहरूले आपसी एकता र सहकार्यमार्फत जिल्लाको समृद्धि तथा सकारात्मक परिवर्तनका लागि योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। मन्त्री तामाङका स्वकीय सचिव सम्राट राउतका अनुसार, उक्त भेटघाटले सिन्धुपाल्चोकको दिगो विकास र समृद्धि अभियानमा सहकार्यको नयाँ अध्याय सुरु गरेको जनप्रतिनिधीहरूले विश्वास व्यक्त गरेका छन्।

१८ कार्तिक २०८२, सोमबार २०:३२