सिकाई तथा अनुभव आदन–प्रदान गोष्ठीः परम्पराको क्रमभंग र नयाँ क्रमको शुरुवात


कृष्ण गौतम, राष्ट्रिय श्रोतव्यक्ति, महोत्तरी

“दिगो शान्तिका लागि उन्नत सम्बन्ध“ भन्ने मूल नारालाई साकार पार्न २०७० जेठ २७ गते स्थापना भएको प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालले आफ्नो पहिलो दशकलाई गौरवशाली रूपमा पूरा गरेको छ र अब दोस्रो दशकमा अझ दृढ अठोट र दीर्घकालीन योजनाका साथ अघि बढिरहेको छ। स्थापना कालदेखिनै यस संस्थाले बहुसरोकारवाला विवाद रुपान्तरणका लागि प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण कार्यक्रम र अन्तरव्यक्तिगत विवाद समाधानका लागि मेलमिलाप कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। संस्थाले शैशवकालमा धेरै चुनौतीहरूको सामना गर्दै, हरेक बाधा र व्यावधानलाई पन्छाउँदै कर्मबाट नै श्रेष्ठता हासिल गरेको छ।

यस संस्थाले मेलमिलाप दिवश १, बैसाख २०७५ अवसरमा मेलमिलापको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै मेलमिलाप परिषद्बाट पुरस्कार प्राप्त गरेको थियो। शान्ति अभियानको क्रममा संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक श्री चुपबहादुर थापालाई मेलमिलाप परिषद्को गरिमाय सदस्य पदमा मनोनित गरिएको छ, जसले अभियानलाई नयाँ उचाईमा पुर्याउने जिम्मेवारी लिएको छ।

सिकाई तथा अनुभव आदन–प्रदान गोष्ठीको नयाँ शैली
सिकाई तथा अनुभव आदन–प्रदान गोष्ठीको नयाँ शैली कायम गरिएको छ जसको उद्देश्य विभिन्न स्थानहरूमा भएका सिकाइ र अनुभवहरूको आदान–प्रदान गर्नु हो। हरेक अर्धवार्षिक गोष्ठीले तीन वटै क्षेत्र (पूर्व, मध्य र पश्चिम) का अनुभवलाई एकत्रित गर्दै प्रभावकारी कार्यान्वयनका लागि कार्यकारी निर्देशकबाट मार्गदर्शन र सामूहिक प्रतिवद्धता व्यक्त गरेको छ।

यस वर्षको २०८१ चैत्र १५ देखि १७ सम्म नर्थ प्वाइन्ट मल, मध्यपुर ठिमि, भक्तपुरमा ऐतिहासिकरुपमा सम्पन्न भएको गोष्ठीले परम्परागत छलफलको शैलीलाई क्रमभंग गर्दै नयाँ प्रयोगहरू अघि सारेको छ। यस पटकको गोष्ठीमा सिकाई र अनुभव आदान–प्रदानको अलावा, सहभागीहरूलाई समृद्धि, शान्ति, सहकार्य र मेलमिलाप नामक चार विभिन्न सदनमा विभाजन गरी प्रस्तुति प्रतियोगिता आयोजना गरिएको थियो। साथै, म्युजिकल चियर गेम, हाजिरी जवाफ र फुटसल जस्ता खेलमा पुरस्कार पनि प्रदान गरिएको थियो।
यस पटकको गोष्ठीले संस्थागत छलफललाई अझ व्यावहारिक बनाउनको लागि विभिन्न विधि र रणनीतिहरू समायोजन गर्यो। गोष्ठीमा भाग लिएका अधिकांश सहभागीहरूले अंग्रेजी भाषा, प्राकृतिक श्रोत व्यवस्थापन, कानूनी ज्ञान, र सामाजिक संजाल जस्ता समसामयिक विषयमा नयाँ सिकाइ प्राप्त गरे। संस्थाले पुरानो परिपाटीलाई परित्याग गर्दै नयाँ ढाँचामा सिकाई र अनुभवको आदान–प्रदान गर्यो, जसले गोष्ठीलाई एकदमै विशेष र प्रेरणादायक बनाएको छ।

गोष्ठीले दिएका सन्देशहरू

अभियानकर्मीहरूले संस्थागत, नीतिगत र समसामयिक विषयमा जानकार हुनुपर्छ र सिकाईलाई निरन्तर परिष्कृत गर्दै लैजानुपर्छ।

अभियान, खेल र मनोरञ्जनलाई समायोजन गरेर अघि बढ्न सकिन्छ।

व्यक्तिको बृति विकासमा ध्यान दिने र समूहको बृति विकासमा जोड दिनुपर्छ।

संस्थालाई आमाको रूपमा र अभियान्ताहरुलाई परिवारको सदस्यको रूपमा व्यवहार गर्नुपर्छ।

रुपान्तरण प्रक्रियालाई जडसुत्रको रूपमा होइन, समयसापेक्ष परिमार्जन र परिष्कृत गर्दै साझा बुझाईको विकास गर्नुपर्छ।

छलफलमा विविधता र कार्यमा एकरुपता हुनु पर्छ।

सामाजिक संजालको माध्यमबाट छलफललाई निरन्तरता दिनुपर्छ।

आ–आफ्नो सदनको विकासको लागि उचित व्यवस्थापन हुनुपर्छ।

अभियान्ताहरूको बृति विकासका लागि योजनाबद्ध तर्जुमा गर्नु पर्छ।

समग्रमा, सिकाई तथा अनुभव आदन–प्रदान गोष्ठी ऐतिहासिक रूपले सफल भएको छ। यसले संस्थाका अभियान्ताहरूको बृति विकासको लागि अंग्रेजी भाषा, प्राकृतिक श्रोत व्यवस्थापन सम्बन्धी कानून, युट्युब र सामाजिक संजाल सञ्चालन सम्बन्धी तालिम सञ्चालन गर्ने योजना बनाएको छ। यस गोष्ठीले परम्परागत क्रमलाई भंग गर्दै नयाँ क्रमको शुरुवात गरेको छ, जसले संस्थाको कार्यक्षेत्रमा नयाँ ऊर्जा र दृष्टिकोण ल्याउनेछ।

अब हामी सबैको जिम्मेवारी हो कि हामीले प्राप्त सन्देश र सिकाइलाई कार्यक्षेत्रमा दृढतापूर्वक कार्यान्वयन गरौं, ताकि हाम्रो अभियान अझ प्रभावकारी र सफल बनोस्।

२१ चैत्र २०८१, शुक्रबार १९:५०